PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'



रमेश पराजुली

कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा पदाधिकारीतर्फ रुपन्देहीको प्रतिनिधित्व शून्य भयो। लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुनले बाजी मार्दा रुपन्देहीका भरत शाह पराजित भए। दुई पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य एकपटक राज्यमन्त्री भइसकेका शाह केन्द्रमा पहुँच भएका नेता हुन्। उनलाई रोल्पाका निवर्तमान जिल्ला सभापतिले पराजित गरे।

शाहसहित धेरै निवार्चन क्षेत्र र बढी मतदाता भएको रुपन्देहीबाट उम्मेदवारी दिएका तीनै जना पराजित भए। योसँगै कांग्रेस रुपन्देहीमा फरक फरक कोणबाट बहस सुरु भएको छ।

रुपन्देहीबाट देउवा समूहले सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरत शाहलाई सभापति र सरिता चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाएको थियो। त्यस्तै संस्थापन इतरबाट सभापतिमा निर्विचत पुनको प्यानलबाट उपसभापतिमा लुम्बिनी प्रदेश सभाका सदस्यसमेत रहेका अष्टभुजा पाठक उम्मेदवार थिए। पदाधिकारीमा संस्थापन इतरका अधिकांश पदमा जित हासिल पार्दा पाठकसमेत पराजित भए।

जिल्लाको राजनीतिमा गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धा रहे पनि लुम्बिनी प्रदेश समितिमा दुई नेता एक ठाउँमा उभिएका थिए। केन्द्रका दुई हस्ती एक ठाउँमा उभिँदा जितमा ढुक्क भएको दाबी शाहले गर्दै पनि आएका थिए।

२०२७ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा लागेका शाह रुपन्देहीबाटै तीन पटक निर्विचत भइसकेका थिए। शाहले जित्दा रुपन्देहीले नेतृत्व पाउने, पुन जित्दा पनि पदाधिकारीमा रुपन्देहीको प्रतिनिधित्व हुनेमा रुपन्देहीका नेता कार्यकर्ता ढुक्क थिए। तर, निर्वाचनको नतिजा भने सोचेभन्दा फरक आयो।

शाहलाई प्रदेश सभापति बनाउन गृहमन्त्रीसमेत रहेका खाँण पालिका अधिवेशनदेखि नै खटिएका थिए। तर, खाँणको निर्देशन चलेन।

खाँणले आफ्ना सहोदर भाइ रामकृष्ण खाँणलाई रुपन्देही जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित गराउन त सफल भए। तर, लुम्बिनीमा असफल भए। लुम्बिनी प्रदेश सभापतिमा पराजित शाहले पनि आफ्नी श्रीमती अनिता ढुंगाना शाहलाई रुपन्देही जिल्ला उपसभापतिमा सर्वसम्मत गराउन सकेका थिए।

कांग्रेस रुपन्देहीमा दुई नेताको परिवारवाद पराजित भएको चर्चा सुरु भएको छ। जिल्ला समितिको समिकरणलाई लिएर रुपन्देही कांग्रेस भित्रको संस्थापन पक्ष पनि रुष्ट बनेको थियो। त्यहीकारण शाहलाई रूपन्देहीको भोट क्रस हुँदा सभापनिमा पराजित भएको कांग्रेस नेताहरु बताउँछन्। पार्टीभित्र परिवारवाद हावी हुँदा सक्षम र योग्य नेताहरु पराजित हुन पुगेको उनको आरोप छ।

‘सक्षम व्यक्तिहरु हुँदाहुँदै पार्टीमा परिवारवाद लादियो। जिल्लामा सर्वसम्मतीको नाममा श्रीमतीलाई उपसभापति बनाउँदा सक्षम व्यक्तिहरु पछाडि परे,’ रुपन्देहीकै एक महाधिवेशन प्रतिनिधिले भने, ‘यसले पनि उहाँ (शाह)लाई घाटा लाग्यो। अझ भनौँ संस्थापन पक्षबाट पनि क्रस भयो होला। उहाँले रुपन्देहीबाट पनि सबै मत तान्न सक्नु भएन।’

लुम्बिनीमा एक जना उपसभापतिबाहेक रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनको प्यानल नै विजयी भको थियो। ८ जना पदाधिकारीमध्ये रुपन्देहीबाट पुनको प्यानलमा अष्टभुजा पाठक मात्र परेका थिए। रुपन्देहीको मर्चवार क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाठक २० मतको अन्तरले पराजित भएका थिए।

प्यानलका सबै पदाधिकारी विजयी हुदा मधेशी समुदायका पाठकमात्र पराजित भएपछि यस क्षेत्रमा आवद्ध मधेशी समुदायका नेपाली कांग्रेसका कार्यकर्ताहरु रुष्ट भएका छन्। आफ्नै प्यानल भित्रका मतदाताहरुले मलाई मत नदिएका कारण आफु पराजित भएको पाठक बताउँछन्। ‘मलाई प्यानल भित्रका साथीहरुबाटै सहयोग भएन, त्यसैले म पराजित भएँ,’ पाठकले भने, ‘जसले अन्तर्घात गर्नुभयो उहाँहरुलाई पनि पछुतो होला लोकतान्त्रिक पद्दतिमा विजयी या पराजय जे भए पनि सहर्ष स्विकार्नु पर्छ। जसले जिते पनि पार्टी भित्रकै साथीहरुले जित्नु भएको छ।’

केन्द्रीय राजनीतिमा पनि रुपन्देही हाबी हुने र प्रदेशमा पनि रुपन्देहीको बोलवाला महाधिवेशन प्रतिनिधिहरुले नचाहेको कुरा निर्वाचन परिणामले देखाएका एक नेताले बताए। ‘यसरी बुझ्दा हुन्छ-लुम्बिनी प्रदेशको राजनीतिमा रुपन्देहीको बोलवाला प्रदेश तथा महाधिवेशन प्रतिनिधिहरुले अस्वीकार गरिदिए,’ पदाधिकारीमा निर्वाचित एक नेताले भने। यसैको मारमा पाठक पनि परेको उनी बताउँछन्। ‘उहाँ सक्षम हुँदा हुँदै पनि रुपन्देहीको हुनु उहाँका लागि दुर्भाग्य जस्तै भयो,’ ती नेताले भने।

नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले निर्वाचनबाट आएको मत परिणामलाई सहज रुपमा स्वीकार गर्नुपर्ने बताउँछन्। ‘निर्वाचनमा पराजित भएपछि पार्टीभित्र बाटै यसले दियो, उसले दिएन भन्नुको औचित्य हुँदैन,’ उनले भने।

नेपाली कांगेसका नेता तथा लुम्बिनी प्रदेशसभाका सांसद फखरुद्धिन खानले रुपन्देहीले जिल्लाबाट पदाधिकारीमा कसैको पनि प्रतिधिनित्व नहुँदा दुःख लागेको बताए। देशभरबाट चासोका रुपमा लिइएको रुपन्देहीबाट पदाधिकारीमा शुन्य सहभागिता हुनु राम्रो संकेत नभएको खाँणले बताए। ‘यो संगठनको निर्वाचन हो साथिहरुले आफ्नो बुद्धि विवेक प्रयोग गरेर मतदान गर्नुभएको छ। आगामी दिनमा पार्टीलाई थप सशक्त र जीवन्त बनाउनका लागि एउटा नेतृत्व चयन गर्नुभयो, त्यसलाई हामीले सहर्ष स्वीकार्नु पर्छ’, उनले भने।

‘बढी निवार्चन क्षेत्र र बढी मतदाता भएको रुपन्देहीमा पदाधिकारीहरु शुन्य हुनु पक्कै पनि राम्रो होइन। आफ्नै प्यानलबाट पनि घात भएको देखिन्छ यसबाट पार्टीभित्र अझै पनि पुरानो सोच रहेछ भन्ने पुष्टि भएको छ यो सबैका लागि चिन्ताको विषय हो,’ खनालले थपे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell