PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

काठमाडौँबाट हत्याको योजना बुनेर मोटरसाइकलमा कैलाली, बीभत्स हत्याको सिकार भए निर्दोष युवक



एम बम

काठमाडौँबाट हत्याको योजना बुनेर मोटरसाइकलमा कैलाली, बीभत्स हत्याको सिकार भए निर्दोष युवक

कैलाली: झन्डै तीन महिनाअघि काठमाडौँको कालीमाटीमा कैलाली लम्कीका हिमाल शाहीमाथि खुकुरी प्रहार भयो। भाग्यवश शाही बच्न सफल भए।

सामूहिक आक्रमणमा परेर पनि उनी बच्न सफल भएका थिए। घटना खुकुरी प्रहार गर्ने र भाग्ने समूहबाहेकलाई थाहा भएन। तर प्रहार गर्ने समूह त्यतिमा रोकिएन।

झन्डै तीन महिनापछि कैलाली आएका उनलाई कैलालीमै पुगेर फेरि आक्रमण गर्ने योजना काठमाडौँमा बुनियो। त्यसका मुख्य पात्र हुन् कैलालीकै कपिल श्रेष्ठ।

श्रेष्ठको समूह फेरि हिमालसहित उनको समूहका नाइके नवीन रावलको हत्या गर्ने योजना बुनेर काठमाडौँबाट कार्तिक १७ गते मोटरसाइकलमा आएर २० गते कैलाली पुग्यो। योजनाको निशानामा भने दुबै समूहमा संलग्न नरहेका स्थानीय युवक भुपेन्द्र बडुवाल परे।

कैलालीको लम्किचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको धारिलो हतियार प्रहारबाट गत कार्तिक २३ गते दिनदहाडै बजारमै लखेटी-लखेटी हत्या भएको थियो।

घटनाको झन्डै एक महिनापछि कैलाली प्रहरीले सोमबार धनगढीमा हत्यामा संलग्न १२ जना पक्राउ गरेको र ९ जना अझै फरार रहेको जानकारी दियो। कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले फरार प्रतिवादीको खोजी जारी रहेको र २१ जनाविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएर अघि बढेको बताए।

यस्तो छ घटना विवरण

४ वर्ष अघिसम्म लम्की-टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा एकछत्र राज गरेका लम्किचुहा ३ का लोकजंग शाहीले युवाहरूको गिरोह तयार पारे। आपराधिक चरित्र तयार पारेर आफ्नो वर्चस्व कायम राख्नु थियो। टीकापुर–६ का अशोक रावलको संरक्षकत्व पाएका उनले स्थानीय जयन्द्र शाह र नवीन रावललगायतका युवाहरूलाई आपराधिक कार्यमा लगाउन थाले।

पछि उनीहरूबीचमा नै मनमुटाब सुरु भएपछि जयन्द्र शाह र नवीन रावलको दुईटा छुट्टा-छुट्टै ग्याङ तयार भयो। नवीन रावल लोकजंगकै गिरोहमा रहे भने शाहले आफ्नो छुट्टै समूह तयार पारे।

उक्त दुई समूहबीचमा पटक-पटक भौतिक आक्रमण हुन थाले। गत भदौमा काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरे। तर उनी बच्न सफल भए। त्यसपछि दुवै समूहबीचको आक्रोश झन् बढ्दै गयो। कालीमाटीमा अपुरो रहेको योजना सफल पार्न जयन्द्र शाह समूहका कपिल श्रेष्ठले कैलाली आएर नवीन रावलको समूह आक्रमण गर्ने योजना बुनेर कार्तिक १७ गते कैलाली हिडें। २० गते लम्की पुगेका उनले मुनमुन होटेलमा एक रात बिताए र दुई रात सोही क्षेत्रको बौनियास्थित अनुकूल होटेलमा बसे। तर नवीन रावललाई आक्रमण गर्ने उपयुक्त अवसर भेट्न सकेनन्।

२३ गते लम्कीमा फुटबल प्रतियोगिता आयोजना गरिएको र त्यहाँ नवीन रावल र उनको समूहका सदस्य रहेको थाहा पाए पछि आक्रमण गर्ने तयारीसहित उनी त्यता लागे। तर त्यहाँ समयमै पुग्न नसक्दा प्रयास विफल भयो।

बाटो ढुकेर आक्रमण

नवीन रावलको समूह लम्कीबाट डुढेझारीको बाटो हुँदै टिकापुर गइरहेको भन्ने सूचना प्राप्त भएपछि आक्रमणको योजनासहित उनीहरु बीच बाटोमै कुरेर बसे। कुरिरहेको ठाउँमा रावल समूहका मदन शाही फेला परे। नवीन रावल लम्की विद्युत कार्यालय नजिकको बाटोबाट टीकापुर पुगिसकेका थिए। बाटोमा एक्लै भेटिएका मदनलाई लखेट्ने क्रममा एक्कासी प्रहरीको भ्यान आएपछि उक्त समूह तितरबितर भयो। मदन उक्त सूचनासहित रावलसहितका अन्य सदस्य रहेको स्थान टीकापुर पुगे।

प्रहरीले उक्त ठाउँबाट खुकुरी, चक्कुलगायतका एक बोरा हतियार फेला पारेपछि घटनाको चाल पाइसकेको थियो। तर प्रहरीको डरले फरार भएका श्रेष्ठ समूहका सदस्य सबै तितरबितर भइसकेका थिए। कपिल एक्लै परेपछि उनले राम्रै चिनजानको हिसाबले लम्कीचुहा १ बस्ने भुपेन्द्रलाई फोन गरेर सबै कुरा बताउँदै आफू एक्लै परेको र उद्धार गर्न आइदिन आग्रह गरे। त्यसपछि बडुवाल उनलाई लिन गए।

उता मदन शाहीले सबै सूचना रावल समूहसमक्ष पुर्‍याइसकेका थिए।

नवीन रावलले आफ्ना समूहका आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन, विकास, शेरचनलाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारी आक्रमण गर्नु भन्ने निर्देशन दिए ।

यता जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा हिँडेको नवीन रावलको समूह सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिलो स्कुटरमा, उनको पछाडि अर्को स्कुटरमा चिरञ्जीवी शाही र रोशन शाही र उनीहरू भन्दा पछाडि नवीन रावल समेत जयन्द्र समूहका सदस्यको खोजीमा निस्किए।

उनीहरूको फेला परे श्रेष्ठलाई लिन गएका बडुवाल। त्यहाँबाट उनलाई आफ्नोविरुद्ध यहाँ आएको भन्दै सोधपुछ गर्न खोज्दा रावल समूह र बडुवालबीच सामान्य विवाद भएको देखिन आएको प्रहरीले जनाएको छ। त्यसपछि रावल समूहले बडुवाललाई त्यहाँबाट झन्डै २ किलोमिटर टिकापुरसम्म लखेटेर बीभत्स हत्या गरे।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले भने, ‘त्यहाँबाट करिब २ किलोमिटरसम्म लखेटी सिद्धार्थ होटेल नजिक पुर्‍याएपश्चात् भुपेन्द्र बडूवालले मोटरसाइकल छोडेर आफन्तको घरमा पस्न खोज्दा स्थानीय कौसीदेवी विष्टको घरको पेटीमा नै भपेन्द्रलाई नियन्त्रणमा लिएर पेट र छातीको भागमा २ पटक, पिठ्युँको भागमा ३ पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरी निजहरू फरार भएको हाम्रो अनुसन्धानबाट खुल्न आएको छ।’

राति ८ बजेर ५२ मिनेटमा आक्रमण भएको स्थानमा प्रहरी तत्कालै घटनास्थल पुगेको थियो। ६ मिनेटको अन्तरालमा घटनास्थलमा प्रहरी पुगे पनि ९ बजे टीकापुर अस्पतालमा बडुवालको मृत्यु भइसकेको थियो।

बडुवालको हत्यामा एउटा चक्कु र एउटा खुकुरी प्रयोग भएको देखिए पनि खुकुरी मात्रै बरामद भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रावल समूहका सदस्यहरू नजिकै रहेको विष्ट आयल स्टोर नजिक पुगेर भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेर त्यहाँबाट फरार भए। उनीहरूले रोहित आलेलाई घर पठाएका थिए। नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जीवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगे।

घटनामा उनीहरूका मुख्य नाइके लोकजंग शाही पटकपटक जोडिएको देखिन आएकाले मुख्य योजनाकार नै उनी रहेको प्रहरीको दाबी छ।

एकले अपराध स्वीकार गर्ने बाँकी भाग्ने योजना

दोस्रो दिन बिहान एक जनाले मात्रै अपराध स्वीकार र अरू फरार रहने योजना बन्यो। त्यसपछि आर्यन देवकोटाबाहेक सबै फरार हुने योजना अनुसार देवकोटा बौनिया बजारमै रहे। नवीन, हेमन्त, हिमाल, रोशन, र चिरञ्जीवी शाहीहरूलाई लोकजंगले बनाएको योजना अनुसार लोकेन्द्र कुँवरले बौनिया बजारभन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगी एक स्थानीयको घरमा लुकाएर राखे। त्यहाँ उनीहरूलाई खाने बस्ने व्यवस्थापन शाहीले नै गरेका थिए। २५ गते उनीहरूलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिई चायाँभावरबाट धनगढीको जुगेडा पुर्‍याए। शाहीले नै २६ गते भारतीय नम्बर प्‍लेटको बलेरो जीप भाडामा लिएर उनीहरूलाई भारतको ढकिया गाउँसम्म पुर्‍याइ आफू फर्की आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

दुवै समूहका सदस्यहरूको विरुद्धमा कैलाली जिल्ला मातहत तथा काठमाडौँमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी जाहेरी दर्ता भएको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद जोशीले बताए।

नवीन रावल समूहले आफ्नो ग्याङको ‘नन्दु सरकार’ नाम राखेर राज गर्ने गरेको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रमुख अधिकारी भन्छन्, ‘रावलको भविष्यमा ठूलो डन बन्नेबाहेक अन्य कुनै उद्देश्य देखिँदैन । आफ्नो सोही उद्देश्य मुताबिक उनले पढाइ छोडेर अपराध कर्म अँगालेको देखिन्छ।’

छोटे सरकारको नाममा राज गर्दै आएको रावल समूहले आफ्नो समूहको नाममा ट्याटु खोपेबापत ५० हजार रुपैयाँ दिएर नयाँ सदस्यलाई स्वागत गर्ने गरेको समेत प्रहरी अनुसन्धानमा पाइएको छ। यी दुवै समूहको सञ्जाल र सदस्य कति छन् भन्ने विषयमा भने प्रहरी अन्योलमा छ।

प्रहरीले उनीहरूको सामाजिक सञ्जालबाट बन्दुक तथा पेस्तोल चलाउने प्रशिक्षण तथा खुकुरी, खुँडा चलाउने प्रशिक्षण दिने गरेका भिडियो समेत फेला पारेको छ। तर नवीन रावलसहित उनीहरूको गिरोहका मुख्य नाइके भने फरार छन्।

यी दुई समूहमा मृतक बडुवालको भने यसअघि कुनै अपराध कर्ममा संलग्नता अहिलेसम्मको प्रहरी अनुसन्धानले पुष्टि गर्न सकेको छैन।

अभियोगपत्र दायर

प्रहरीले घटनाको अनुसन्धानपछि अभियोग पत्र सरकारी वकिल कार्यालय समक्ष पेस गरिसकेको छ। हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध अदालतमा मुद्दा दायर गरिएको अधिकारीले बताए । जसमध्ये ९ जना अझै फरार छन्।

पक्राउ परेका प्रतिवादी

१. कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २३ वर्षको महेश रावल

२. २० वर्षको धिरज भन्ने दिपेन्द्र शाही

३. २० वर्षको आर्यन देवकोटा

४. १९ वर्षको मदन शाही

५. वडा नं.१ बस्ने २२ वर्षको कपिल श्रेष्ठ

६. १८ वर्षको दीपक, गोलु भन्ने निशान्त मल्ल

७. वडा नं. ५ बस्ने २८ वर्षको विकास खड्का

८. टीकापुर न.पा. १ बस्ने २३ वर्षको प्रवीण रिमाल

९. बर्दिया राजापुर न.पा. ७ घर भई टीकापुर न.पा. १ ब्लक नं. २५ बस्ने २१ वर्षको रोहित आले

१०. ब्लक नं. १४ बस्ने २५ वर्षको सोहन शाह

११. बर्दगोरिया गा.पा. २ झगढपुर बस्ने २५ वर्षको लोकेन्द्र कुँवर

१२. बर्दिया ठाकुर बाबा न.पा. ३ गोदाना बस्ने २६ वर्षको सन्तोष भन्ने सविनजङ्ग शाही

 

फरार प्रतिवादी

१. लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षको नवीन रावल

२. २६ वर्षको अनुज भन्ने चिरञ्जीवी जंग शाही

३. २६ वर्षको हिमाल शाही

४. जानकी गा.पा. ६ जगत्पुर बस्ने २८ वर्षको जयन्द्र शाह

५. टीकापुर न.पा. १ बस्ने २७ वर्षको विकास शेरचन

६. लम्कीचुहा ४ बस्ने २४ वर्षको रोशन बहादुर शाही

७. टीकापुर ६ बस्ने वर्ष ३५ वर्षको अशोक रावल

८. लम्कीचुहा ३ बस्ने वर्ष ३२ वर्षको लोकजंग शाही

९. बर्दिया गरुवा गा.पा. ५ बस्ने २२ वर्षको हेमन्त शाही

आरोपित नवीन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्म कैदसहित सोही संहिताको दफा १७७(१) बमोजिम जीवित रहेसम्म कैद सजाय प्रहरीले माग गरेको छ।

प्रतिवादी लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७(२) बमोजिमको दफा १७७(१) बमोजिम जन्म कैद सजाय, र हत्याका मुख्य योजनाकार भनिएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६(३) (क) बमोजिम जन्म कैद सजाय माग दाबी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell