काठमाडौँः सभापति शेरबहादुर देउवाले आफ्नो गुटबाट उम्मेद्वार छान्न गुट भेला बोलाएका छन्। भेला बुधबार ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको देउवा निकट कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।
'भोलि बुढानिलकण्ठमा संस्थापन पक्षको बैठक छ। बिहान ९ बजे बस्ने बैठकमा पदाधिकारीका उम्मेद्वारबारे छ्लफल हुन्छ,' ती केन्द्रीय सदस्यले भने।
देउवाले सभापतिमा पुन आफैँ दोहोरिने बताइसकेका छन्। देउवा गुटमा सभापतिका दाबेदार उनी एक्ला हुन्। संस्थापन पक्षमा यसअघिसम्म रहेका उपसभापति विमलेन्द्र निधिलाई देउवाले नसघाउने भएका छन्।
देउवा समूहले बैठकबाट उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा को उठ्ने भन्नेबारे टुंगो लगाउनेछ।
उपसभापतिमा देउवा टिमबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई अगाडि बढाउने तयारी छ।
महामन्त्रीमा भने बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउद, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले दाबी गरिरहेका छन्।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीको लागि दाबी पेश गरिसकेका छन्। केन्द्रीय सदस्य एनपी साउदले अनामनगरमा सम्पर्क कार्यालय खोलेर प्रचार थालेका छन्।
सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, मोहनबहादुर बस्नेतलगायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्।
