PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

संस्थापनमा महामन्त्रीको उम्मेद्वार बन्न मारमुङ्ग्री, देउवाबाट गुटको टिकट पाउने सम्भावना कसको बलियो?



नेत्र तामाङ

संस्थापनमा महामन्त्रीको उम्मेद्वार बन्न मारमुङ्ग्री, देउवाबाट गुटको टिकट पाउने सम्भावना कसको बलियो?

काठमाडौं: नेपाली कांग्रेसका संस्थापन इतरमा सभापतिका उम्मेद्वार छान्न जस्तो सकस भइरहेको छ - ठिक सभापति शेरबहादुर देउवालाई पनि आफ्नो गुटबाट महामन्त्रीको उम्मेद्वार छान्न सकस परिरहेको छ।

देउवा टिमबाट महामन्त्रीमा आकांक्षा राख्नेहरु आधा दर्जन पुगेका छन्। विधानत: जम्मा २ जना महामन्त्री महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ।

को को छन् आकांक्षी?

देउवा टिमबाट महामन्त्रीमा सबैभन्दा बलिया दाबेदारको रुपमा हेरिएको छ गृहमन्त्री बालकृष्ण खाणलाई। तरुण दल हाँक्दै गृहमन्त्रीको कमान सम्हाल्न आइपुगेका खाण देउवाका विश्वासपात्र हुन्। संसदमासमेत देउवाले खाणलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।

त्यसैले देउवा टिमका नेताहरुले खाणलाई महामन्त्रीका सशक्त दाबेदारका रुपमा हेरिरहेका छन्। यद्यपि खाणले उम्मेद्वारी भने प्रस्तुत गरेका छैनन्। देउवा टिमका धेरै नेताहरुले महामन्त्रीमा दाबी प्रस्तुत गरिरहेका छैनन्।

सुदूरपश्चिमबाटै रमेश लेखक र एनपी साउदको यस पदमा आकांक्षा परेपछि देउवालाई तनाव परेको छ। लेखक र साउद दुबै देउवाका प्रिय पात्र हुन्। तर लेखक रोज्ने कि साउद - अप्ठेरो यही परेको छ देउवालाई। लेखक वैचारिक र सैद्धान्तिक रुपमा बलिया नेता हुन्। देउवालाई राजनीतिक र कूटनीतिक सुझाव दिने नेतामा पर्छन् उनी। अप्ठेरो परेको बेला लेखककै सल्लाह सुझावमा देउवा चल्ने गर्छन्।

यता साउद भने सांगठनिक रुपमा सुदूरपश्चिममा बलिया छन्। कुनै बेला गिरिजाप्रसाद कोइरालाले आकर्षक मन्त्रालय अफर गर्दा समेत साउदले देउवा गुट नछाडी बसेको चर्चा अहिले चल्न थालेको छ। साउदले जसरी पनि आफू महामन्त्री पदमा उम्मेद्वारी दिने अडान राखेका छन्। यसैले साउदले अनामनगरमा सम्पर्क कार्यालय खोलेर प्रचार थालिसकेका छन्। साउद अघि बढेपछि उनलाई आज बिहानै देउवाले बालुवाटार बोलाएका थिए। बालुवाटारमा एक घण्टा बिताएका साउदले भेटमा के कुराकानी भयो भन्नेबारे भने खुलाएनन्।

अहिले सहमहामन्त्री रहेका डा प्रकाशशरण महत पनि महामन्त्रीका दाबेदार हुन्। डा महतले देउवाको विभिन्न विषयमा बचाऊ गर्दै आएका छन्। सांगठनिक रुपमा कमजोर देखिए पनि पछिल्लो समय सहमहामन्त्रीमा रहेर महतले देउवाको मन जित्न काम गरेको कांग्रेसीहरु बताउँछन्।

देउवाका अर्का विश्वासपात्र हुन ज्ञानेन्द्रबहादुर कार्की। हालका सरकारका प्रवक्ता कार्कीलाई पनि देउवाले महामन्त्रीको उम्मेद्वार बनाउने बताइरहेको छ। त्यसैले आफू सरकामा पुग्दा देउवाले कार्कीलाई मन्त्रीमा अवसर दिइरहन्छन्। यसले पनि देउवाले कार्कीलाई महामन्त्रीको उम्मेद्वार बनाउने हो कि भनेर लख काट्नेहरु छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। देउवा पक्षबाट महामन्त्रीमा लड्ने घोषणा गर्ने शर्मा पहिलो नेता हुन्। यद्यपि कोहीले भने शर्मालाई उपसभापति विमलेन्द्र निधिको उम्मेद्वार भनेर आक्षेप लगाउने गर्छन्। तर उक्त आरोपलाई शर्माले स्वीकारेका छैनन्। दुई महामन्त्रीका लागि हुने भीडन्तमा खाण, साउद, लेखक, महत, कार्की र शर्मामध्ये देउवालाई कसले टिकट दिने होला?

देउवाले गर्ने निर्णयलाई धेरैले चासोपूर्वक पर्खिरहेका छन्। महाधिवेशन आउन मात्र तीन दिन बाँकी छ।

महामन्त्रीसहितका पदाधिकारीमा आफ्नो गुटबाट को-को भिड्नेबारे छलफलका लागि देउवाले भोलि बुधबार ९ बजे आफ्नो निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन्।

'भोलि संस्थापन पक्षको बैठक छ। बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने बैठकमा पदाधिकारीका उम्मेद्वारबारे छ्लफल हुन्छ,' महामन्त्रीका दाबेदार एक नेताले भने।

देउवाले सभापतिमा पुन आफैँ दोहोरिने बताइसकेका छन्। देउवा गुटमा सभापतिका दाबेदार उनी एक्ला हुन्। संस्थापन पक्षमा यसअघिसम्म रहेका उपसभापति विमलेन्द्र निधिलाई देउवाले नसघाउने भएका छन्।

उपसभापतिमा देउवा टिमबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई अगाडि बढाउने तयारी छ।

महामन्त्रीमा पौडेल पक्षबाट गगन थापाले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। यसैगरी कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेलले उम्मेद्वारी दिने घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell