यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ए को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइपजिगसँग पराजित भएको छ। यद्यपि ६ खेलबाट १२ अंक जोड्दै समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
कोभिड प्रोटोकलका कारण दर्शकबिना रेडबुल एरेना लाइपजिगमा सम्पन्न खेलमा डोमिनिक जोबोस्लाइको गोलमा घरेलु टोलीले २४ औं मिनेटमा अग्रता बनाएको थियो। त्यस्तै दोस्रो हाफमा आन्द्रे सिल्भाले (७१ औं मिनेट)मा अग्रता दोब्बर बनाए। उता सिटीका रियाद महरेजले ७६ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन। त्यस्तै औं मिनेटमा सिटीका केल वाल्करले लाइपजिगका सिल्भामाथि अनावश्यक फउल गरेपछि सिधै रेडकार्ड पाएका थिए। त्यसपछी दुबै टीमले गोल गर्न नसक्दा सिटी २-१ गोलअन्तरले पराजित भयो।
त्यस्तै गएरातिनै सम्पन्न समूह ए कै अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बेल्जियन क्लब ब्रुगमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकाल्यो। पीएसजीको जितमा किलियन एम्बाप्पे र लियोनल मेस्सीले समान २/२ गोल गरे।
खेलको दोस्रो मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका एम्बाप्पेले सातौं मिनेटमा एन्जेल डि मारियाको पासमा अग्रता दोब्बर बनाए। यो सँगै एम्बाप्पे च्याम्पियन्स लिगमा गोलसंख्या ३० पुर्याउने सबैभन्दा युवा खेलाडी बनेका छन्।
त्यस्तै ३८ एम्बाप्पेकै पासमा मेस्सीले गोल थप्दा पहिलो हाफमै पीएसजी तीन गोलले अघि रह्यो। दोस्रो हाफमा ब्रुगका म्याट्स रिटले गोल फर्काए। उनले ६८ औं मिनेटमा गोल गरे भने ७६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मेस्सीले गोल थपे।
योसँगै समूह ए बाट सिटी र पीएसजी अन्तिम १६ मा पुगेका छन्। सिटी १२ अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी ११ अंक जोडेर दोस्रो स्थानमा रह्यो। त्यस्तै लाइपजिगले ७ तथा ब्रुगले ४ अंक जोडे।
