जनकपुर: प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरेर मिथिलञ्चलमा मनाइँदैछ।
त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

राम र सीताको विवाहको उत्सव मनाउन रामजानकी मन्दिरमा सीता र उहाँका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने र उहाँहरुको कीर्तिको गुणगान गर्दै साताव्यापी विविध धार्मिक कार्यक्रम गर्ने प्रचलन छ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।
उनले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको र हामीले एउटा आदर्श नारीमा हुनुपर्ने गुणसमेत सिक्न सकिने बताए।
त्रेतायुगमा अयोध्याबाट भगवान् राम प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर वैदिक सनातन हिन्दू संस्कृतिअनुसार राजकुमारी सीतालाई विवाह गरेको मङ्सिर शुक्ल पञ्चमीको आजको ऐतिहासिक एवं सांस्कृतिक महत्वको विशेष दिनलाई विवाह पञ्चमी पर्वले चिनिन्छ। कोभिड–१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्।
