काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतरले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन। आकांक्षी धेरै हुँदा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिन साझा अनुहार तय गर्न उनीहरु लगातार छलफलमा छन्। तर, महाधिवेशनका लागि दुई दिन बांकी रहँदासम्म उनीहरुको छलफलबाट कुनै निकास निसकेको छैन।
यता, सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालासँग छलफलमा जुटेका छन्। शंशाकले सभापतिको दाबेदार पौडेलको लागि छाडेको घोषणा मंगलवार नै गरिसकेका छन्। संस्थापन इतर समूहका नेताहरु आजै प्रकाशमान सिंह निवास चाक्सीबारीमा जुट्दैछन्। त्यसअघि पौडेल र कोइरालाद्वयको छुट्टै भेला भएको हो।
बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा बिहान बसेको पौडल पक्षका नेताहरुको बैठकपछि पौडेल-कोइरालाहरु छुट्टै छलफलमा जुटेको पौडेल निकट स्रोतले जानकारी दियो। अहिले उनीहरुको छलफल बसुन्धारास्थित गोधुली पार्टी प्यालेसमा भइरहेको छ।
महाधिवेशनको २ दिन अघि नेताहरुले भेटघाटलाई बाक्लो बनाएका हुन्। आजै पौडेलले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पनि भेट गरेका थिए। सिटौला पक्षले १४ औं महाधिवेशनमा आफ्नो पक्षको भूमिका कस्तो हुने भन्नेबारेमा भने केही बताएको छैन्। पौडेलले आफूलाई सभापतिमा सघाउन सिटौलालाई आग्रह गरेका थिए।
पौडेल समूहका नेताहरु हिजो नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा छलफलमा जुटेका थिए। उक्त भेलाले निष्कर्ष भने दिन सकेन। आज पनि ३ बजेका लागि चाक्सीबारीमै फाइनल बैठक बोलाइएको छ। त्यसअघि प्रकाशमान सिंह र शेखर कोइरालालाई मिल्न बन्दै बत्तिसपुतलीमा बसेको बैठकले समय दिएको थियो।