
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्री पदका लागि लड्न आग्रह गरेका छन्। आज देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको संस्थापन समूहको बैठकमा देउवाले शर्मालाई यस्तो आग्रह गरेका हुन्।
बैठकमा प्रवक्ता शर्माले भने महामन्त्रीका लागि दाबी गरेका थिए। उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतले पनि महामन्त्रीका लागि दाबी गरेका थिए। ज्ञानेन्द्र बहादुर कार्की पनि महामन्त्रीका आकांक्षी भएको बताइन्छ। विधान अनुसार कांग्रेसमा दुई जनामात्रै महामन्त्रीमा निर्वाचित हुन्छन्। तर, एउटै पदमा आकांक्षी धेरै हुँदा देउवालाई सकस परेको छ।
चारजना नेताले महामन्त्रीमा दाबी गरिसक्दा देउवाले भने शर्मालाई सहमहामन्त्रीका लागि लड्न पटकपटक आग्रह गरेको बैठकमा उपस्थित एक नेताले बताए। देउवाले पटक पटक आग्रह गर्दा पनि शर्मा भने महामन्त्रीको दाबीबाट पछि नहटेको उनले बताए।