PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इच्छा राखेमा तिर्न सक्छन् इच्छाराजले सहकारीका बचतकर्ताको रकम, सम्पत्ति भए पनि तिर्ने मनस्थिति भने देखिएन



सविन ढकाल

इच्छा राखेमा तिर्न सक्छन् इच्छाराजले सहकारीका बचतकर्ताको रकम, सम्पत्ति भए पनि तिर्ने मनस्थिति भने देखिएन

काठमाडौं : बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दामाथि अहिले अदालतमा बयान चलिरहेको छ।

प्रहरीको अनुसन्धानमा इच्छाराजले सिभिल होम्स र सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ऋण लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनले सहकारीबाट धितो नै नराखी लिएको ऋण फिर्ता भने गरेका छैनन्।

प्रहरी अनुसन्धानले देखाएको छ - इच्छाराजले इच्छा देखाए भने लिएको ऋण तिर्न भने सक्छन्। इच्छाराज, उनकी श्रीमती र आफन्तको नाममा अर्बौंको सम्पत्ति रहेको खुलेको छ। काठमाडौंको कीर्तिपुरमा मात्र उनी, श्रीमती सृजना शाक्य तामाङ तथा छोरीहरु प्रतीक्षा र प्रतिष्ठाका नाममा ३२ स्थानमा घर जग्गा रहेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत माग गरेको छ। उनले श्रीमतीको नाममा सबैभन्दा धेरै घरजग्गा जोडेको देखिएको छ। ३२ वटा अचल सम्पत्तिमध्ये २५ वटा घरजग्गा श्रीमतीको नाममा रहेको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा ५७ दशमलब ३० वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गा इच्छाराज तामाङको नाममा रहेको छ। सोही जग्गासँग प्रतीक्षा तामाङको नाममा ५ सय ५८ दशमलब ९५ वर्गमिटरमा जग्गा रहेको छ। त्यसबाहेक विभिन्न बैंकको शेयर र बैकमा रकम समेत रहेको छ। सिभिल बैंकमा मात्र सस्थापक शेयर सङ्ख्या ४ लाख ४८ हजार ६ सय कित्ता रहेको इच्छाराजले नै बताएका छन्।

'विभिन्न बैंक, आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीमा खाता रहेको छ। सिभिल बैकमा संस्थापक शेयर संख्या ४४८६०० रहेको छ। सो बाहेक अन्य बैक, संस्था समेतमा शेयर रहेको छ। श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत बिभिन्न बैंक, बित्तीय संस्था, कम्पनीहरुमा शेयर, काठमाडौं कीर्तिपुरमा जग्गा जमिन छ,' अध्यक्ष तामाङले बयानमा भनेका छन्।

त्यतिमात्र होइन, सोल्टीमोडमा रहेको सिभिल सहकारीको भवनको मूल्याङ्कन समेत एक अर्बभन्दा बढी देखिएको छ। त्यस्तै, सुन्धारामा रहेको सीटीसी मलको मूल्याङ्कन पनि अर्बभन्दा माथि नै रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै, विभिन्न कम्पनीमा उनको नाममा अर्ब रुपैयाँमाथिको शेयर रहेको खुलेको छ। त्यसबाहेक श्रीमतीको नाममा पनि विभिन्न बैंकका शेयर छन्। जसको मूल्याङ्कन गर्दा सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्न खासै समस्या नपर्ने देखिन्छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। गत शुक्रवार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो। प्रतिवादीको बयानपछि थुनछेक बहस सुरु हुनेछ। त्यसपछि अदालतबाट तामाङ लगायत अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारिकमा रिहा गर्ने आदेश दिनसक्छ।

तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो। अदालतमा दर्ता भएको अभियोगपत्रमा तामाङ विरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ। त्यस्तै, सङ्गठित अपराध गरेको पुष्टि भएमा ५० प्रतिशत थप कैद र जरिवाना हुनेछ। सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत माग गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङ सहित गत असोज १८ गते ठगी आरोपमा १२ जनालाई पक्राउ गरेको थियो। यस प्रकरणसँग जोडिएका अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। तामाङ सञ्चालक रहेको सिभिल सहकारीबाट अर्ब रुपैयाँभन्दा बढी ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ। तामाङ तथा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल सहकारीका १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगिता श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सिभिल सहकारीमा हाल ३ हजारभन्दा धेरै निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। जसमध्ये १५ सय २० जना ठगिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। अनुसन्धान सकेर फाइल बुझाए पनि अहिले प्रहरीमा उजुरी आउने क्रम भने रोकिएको छैन। दैनिक १/२ जना पीडित ठगिएको भन्दै प्रहरीको सम्पर्कमा आउने गरेका छन्।

'अहिले पनि फोन तथा कार्यालयमा नै आएर ठगिएको जानकारी दिएका छन्। अब मुद्दा अदालतमा पुगेकाले त्यसलाई कसरी लैजाने भन्ने विषयमा छलफल भइरहेको छ,' केन्द्रीय अनुसन्धान ब्युरोका एसपी श्याम महतोले भने।

इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत रहे। त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख पनि थिए। सिभिल ग्रुप नेपालमा चलेको व्यापारिक घराना बनिसकेको थियो। ऋण लिएको रकम नतिर्दा उनको सहकारीका निक्षेपकर्ता ठगिएका थिए। वित्तीय अनुशासनका हिसाबमा उनको ऋण लिने शैली पूर्णत: गैर कानुनी देखिएको छ।

अभियोगपत्रमा इच्छाराजले दिएको बयान जस्ताको तस्तै

२०५७ सालतिर हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवनराज बज्रचार्य, डा दुर्गाप्रसाद संग्रौला, सूर्यप्रसाद संग्रौला समेतका ब्यक्ति एक आपसमा छलफल गरी ब्यवस्थित बसोबासका लागि हाउजिङ ब्यबसाय गर्ने उद्देश्यले सहकारी संस्था स्थापना गरौं भनी योजना बनाई सोही अनुसार २०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो।

स्थापना भए पश्चात तत्कालै मैले रु १ लाख शेयर लगानी गरी शेयर सदस्यको रुपमा आबद्ध भई आएको हुँ। मैले संस्थालाई आवश्यकता अनुसार संचालक समितिले निर्णय गरे अनुसार संस्थालाई पटकपटक थप शेयर लगानी गरेको हुँ। म संस्थाको स्थापना कालदेखि २०६७ सम्म संचालक समितको अध्यक्ष भएको हो। त्यसछि २०७३ सालसम्म संस्थाको सल्लाहकारका रुपमा काम गरेको हो।

२०६७ साल देखि हालसम्म संचालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन्। संस्थाको विनियमवलीमा देशको चौतर्फी विकास गर्न संस्थाको क्षमताले भ्याए सम्म जलविद्युत, यातयात, संचार लगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा संचालन गर्ने भन्ने उल्लेख भए बमोजिम २०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुर भैसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको हो।

त्यसैगरी २०६२ र २०६३ सालमा हाउजिङ परियोजनाका रुपमा विभिन्न स्थानहरुमा जग्गा खरिद गरी हाउजिङ बनाई बिक्री गरी आएको हो। २०६३ सालतिर हाउजिड व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रालि खडा गरी कारोबार गर्नु भनि आन्तरिक राजस्व विभागको फुल अडिटबाट कार्यान्वयन गर्नु भनि निर्देशन भए अनुसार व्यवस्थित बसोबासका लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स कम्पनी दर्ता गरी हाउजिङ परियोजना शुरु गरेको हो।

त्यसरी नै एउटा कम्पनीमा ३५ रोपनी भन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीका कारण २०६५ सालतिर सिभिल अपार्टमेण्ट समेतका अन्य २१ र २२ वटा जति कम्पनीहरु दर्ता गरी संचालनमा आए पनि कतिपय बन्द भइसकेको छ। सिभिल होम्स समेतका कम्पनीहरुले फेजवाइज हाउजिङ परियोजना संचालन गरेको हो। सम्पूर्ण कम्पनीहरुमा संचालक समितिको अध्यक्ष म इच्छाराज तामाङ, सदस्य केशवलाल श्रेष्ठ समेत सदस्य छौं।

विभिन्न बैकहरुमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरुको खाता रहेको छ। सिभिल बैकमा संस्थापक शेयर संख्या ४४८६०० रहेको छ। सो बाहेक अन्य बैक, संस्था समेतमा शेयर रहेको छ। श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत विभिन्न बैक, बित्तीय संस्था, कम्पनीहरुमा शेयर, काठमाडौं कीर्तिपुरमा जग्गा जमिन छ।

करिब २,१०० जना जति संस्थाका सदस्य बचतकर्ता सदस्यहरु भएको थाहा पाएको हुँ। उक्त संस्थाका बचतकर्ता सदस्यलाई करिब ७ अर्ब जति रकम फिर्ता गर्नुपर्ने हुनु पर्दछ। सिभिल होम्स समेतका सबै कम्पनीहरुबाट करिब ५ अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ।

२०७२ सालको बिनासकारी भूकम्पका कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेण्टहरुमा ठूलो क्षति पुर्‍याएकाले पुन: निर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी क्षति ब्यहोर्नु परेको र कोरोना महामारीको कारण घर र अपार्टमेण्ट बिक्री बितरणमा कमी आएकाले भने जति सावा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई चुक्ता गर्न नसकेको हो। विभिन्न पत्रपत्रिकामा नकारात्मक समाचार सम्प्रेषण भएपछि सदस्यहरुलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नुपर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो।

म संस्थाको अध्यक्ष हुँदा संस्था नियम बिनियम बमोजिम संस्थाको नाममा प्रायजसो जग्गाहरु रजिष्ट्रेसन गरी सो जग्गामा संस्था र कम्पनीको सयुक्त लगानी भएकाले धितो राखिराख्नु पर्ने आवश्यक नभएकाले धितो नराखिएको हो। कतिपय लगानीमा धितो समेत राखिएको थियो। कर्जा वापतको रकम चुक्ता गर्न बचतकर्ताको नाममा समेत घरजग्गा रजिष्ट्रेसन पारित गरी कम्पनीहरुको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाई आएको छु। संस्थामा सदस्य बचतकर्ताहरुले बचत गरेको रकम बचतकर्ता सदस्यहरुलाई फिर्ता गर्ने मेरो ब्यक्तिगत दायित्व होइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell