
काठमाडौं : बिहीवारदेखि काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल २०२१ हुँदैछ। १९ औं संस्करणको यो फेस्टिवलमा वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याउँदै आएका सोनाम वाङ्चुकको मुख्य सम्बोधन रहनेछ। उनी भारतको लद्दाकबाट कार्यक्रममा सम्बोधनका लागि नेपाल आएका छन्।
साथै ड्रिम माउन्टेनको विशेष स्क्रिनङ समेत हुने आयोजक हिमाल एसोसिएसनले जनाएको छ।
ड्रिम माउन्टेन पर्वतारोही पासाङ ल्हामु शेर्पासँग सम्बन्धित छ जसमा हिमाल उनका लागि के हो भन्ने व्याख्या गरिएको छ। एउटा आमा र पर्वतारोहीका रुपमा पासाङ ल्हामु केन्द्रित डकुमेन्ट्रीसँगै फेस्टिवल अगाडि बढ्ने छ।
मंसिर २७ गतेसम्म २८ देशका ६० भन्दा धेरै फिल्महरु दर्शकको उपस्थितिमा प्रत्यक्ष तथा अनलाइन मार्फत् देखाइने हिमाल एसोसिएसनले जनाएको छ।
जलवायु कर्मलाई फेस्टिवलको थिमका रुपमा प्रस्तुत गरिएको छ। जलवायु परिवर्तनका प्रभावहरुमाथि बनेका फिल्महरु देखाइनेछन्।
स्वीजरल्याण्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीजरल्याण्डकी पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल फेस्टिभलका निर्णायक हुन्। निर्णायकले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबाट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम हुने फिल्मले २ लाख, दोस्रोले डेढ लाख र तेस्रोले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार दिइनेछ। उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।