काठमाडौँः सभापतिको सर्वसम्मत उम्मेद्वार चयनको कसरमा रहेका नेपाली कांग्रेसको संस्थापन इतरको समूह अहिले दिनहुँ बैठकमा छ। उम्मेद्वारमा सहमतिको भाका सार्दै आएको समूहभित्र सहमति भएको छैन। बुधबार पनि चार शीर्ष नेताको बैठक नेता प्रकाशमान सिंहको निवासमा बस्यो तर, समझदारी बनेन।
सभापतिका आकाक्षीमध्ये डा. शशांक कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा सकारात्मक भए पनि डा. शेखर कोइराला र नेता सिंह आफ्नै अडानमा छन्।
बुधबार पनि सिंह र शेखरले उम्मेद्वारमा आफ्नो अडान कायमै राखेका छन्। दुबै नेताको अडानपछि पौडलले भने सहमतिमा मिलेर नगए आफूलाई पार्टीबाट बिदा दिन समेत भनेका छन्।
बैठकमा सहभागी नेता डा. रामशरण महतले पौडेलले मिलोर नगए आफूलाई पार्टीबाट बिदा दिन नै आग्रह गरेका छन्। महतका अनुसार पौडेलको उक्त भनाईमा सिंहले कुनै प्रतिक्रिया दिएनन्।
पौडेल पनि आफ्नो पक्षमा सहमतिको प्रयासमा छन्। यसअघि अघिल्लो महाधिवेशनमा पनि पौडेल वर्तमान सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।