PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

‘शेखर रामचन्द्र पौडेलसँग लचक, प्रकाशमान एक्लै भए पनि सभापति लड्ने’



नेत्र तामाङ

‘शेखर रामचन्द्र पौडेलसँग लचक, प्रकाशमान एक्लै भए पनि सभापति लड्ने’

काठमाडौँः नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुन अब दुई दिनमात्र बाँकी छ। अबको तीन दिनमा निर्वाचन कार्यतालिका नै प्रारम्भ हुँदैछ। संस्थापनको तर्फबाट वर्तमान सभापति शेरबहादुर देउवा नै उम्मेद्वार बन्ने निश्चित छ। तर, संस्थापन बोहकको समूहबाट को उम्मेद्वार हुने निश्चित छैन।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाको दाबी छ। चारै नेताबीच पछिल्ला दिनमा दिनहुँ छलफल भइरहे पनि सहमति भएको छैन।

मंगलबारको छलफलमा महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलका नाममा सहमति भएमा आफू छाड्न तयार रहेको बताएका थिए। शशांक पौडलप्रति लचक भए पनि उक्त छलफलमा शेखर र प्रकाशमान टसमस भएनन्।

बुधबार पुनः शीर्ष नेतासहित नेता सिंहको निवास चाक्सीबारीमा छलफल भयो।

उक्त छलफलले पनि सर्वसम्मत उम्मेद्वार चयन गर्न सफल भएन। छलफलमा नेता पौडेलले त सहमति नगर्ने भए आफूलाई पार्टीबाटै बिदा गर्न पनि भने।

स्रोतका अनुसार बुधबारको छलफलमा शेखर पनि पौडेलका नाममा सहमति भए पछि हट्न तयार रहेको संकेत गरेका छन्। ‘पौडेलको पक्षमा सहमति हुने भएमा पछि हट्ने संकेत उहाँले गर्नुभयो। तर, समझदारीकै रुप भने बनिसकेको छैन। नेता सिंह भने अडानमा यथावत नै हुनुहुन्छ। उहाँले त एक्लै भए पनि सभापतिमा लड्छु भन्नुभयो’, बैठक स्रोतले भन्यो।

शेखर र शशांक पौडेलको पक्षमा लचक भए पनि सिंहको अडान यथावत हुँदा सहमति भने भइसकेको छैन। बिहीबार बिहान चार शीर्ष नेता बाहेकका अन्य केन्द्रीय नेताबीच सभापतिको उम्मेद्वार सर्वसम्मत गर्ने विषयमा छलफल हुँदैछ। उक्त छलफलपछि शीर्ष नेता पुनः छलफलमा बस्नेछन्।

कोइरालाद्वयले पौडललाई समर्थन गरेमा तर सिंहले उम्मेद्वारी दिएमा सभापतिका तीन उम्मेद्वार हुनेछन्। सिंहले सभापतिको उम्मेद्वार बन्ने भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell