काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज मछिन्द्र क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेसँगै तेस्रो चरणका खेलहरु सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले जावलाखेल युथ क्लबमाथि २-० गोलअन्तरको जित निकालेको थियो।
मछिन्द्र क्लबले १४ औं मिनेटमा जावलाखेलका डिफेन्डर सिमन्त थापाले आत्मघाती गोल गर्दा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, खेलको २१ औं मिनेटमा डिफेन्डर रन्जित धिमालले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। लिगको साविक विजेता मछिन्द्रले खेल अवधिभर दवाब बनाए पनि त्यसपछि दुबै टीमले गोल गर्न सकेनन्।
आजै सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेलेका थिए।
अंकतालिकाका तीन टिमको ‘कम्बिनेसन’
लिगको तेस्रो चरणका खेलहरु सकिँदा ७ अंक जोडेर तीन टिमले शीर्षस्थानका लागि संघर्ष गरिरहेका छन्। सातदोबाटो युथ क्लब, मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब समान २ जित र १ बराबरी खेल्दै ७ अंक जोडेर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।
त्यस्तै, समान ५ अंक जोडेका संकटा क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचौं र छैठौं स्थानमा छ।
सातौं, आठौं र नवौं स्थानमा समान ४ अंक जोडेका थ्री स्टार क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रहेका छन्।
त्यस्तै, तीन वटै खेलमा पराजय ब्यहोरेका जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब रेलिगेसन जोनमा छन्।