PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

देउवाको लिस्टमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री संस्थापन इतरबाटः सिटौला र शशांकलाई स्वागतको तयारी!



नेत्र तामाङ

देउवाको लिस्टमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री संस्थापन इतरबाटः सिटौला र शशांकलाई स्वागतको तयारी!

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन संघारमा छ। यतिबेला नेतृत्व पोल्टामा पार्न मुख्यत: दुई समूह सक्रिय छन्।

संस्थापन पक्षका सभापति शेरबहादुर देउवा जसरी पनि नेतृत्व कब्जामा लिने रणनीतिमा लागिसकेका छन्। महाधिवेशन उद्घाटनको दिन नजिकिएसँग बुधबार देउवाले बुढानिलकण्ठमा पदाधिकारी छान्न बैठक राखे। सभापतिका दाबेदार देउवा आफैँ हुन्।

बाँकी पदाधिकारीमा उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष एक मा कस-कसको दाबी भन्ने विषयमा छलफल भयो। छलफलमा उपसभापतिको दाबी कसैले गरेनन्। महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद र डा प्रकाशशरण महतको दाबी रह्यो।

सहमहामन्त्रीमा दाबी गर्ने नेताहरुको लर्को नै छ। यद्यपि देउवाले अहिले महामन्त्रीको उम्मेद्वारलाई नै बढी प्राथमिकतामा राखेका छन्। जम्मा दुई पद निर्वाचित हुने महामन्त्री पदमा संस्थापन पक्षबाट आधा दर्जन आकांक्षी देखिएका छन्। जसमा खाण, साउद, महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र विश्वप्रकाश शर्मा हुन्।

दुई पदका लागि ६/६ जनाको दाबी रहे पनि देउवाले आफ्नो लिस्टमा एक महामन्त्री संस्थापन इतरबाटै राख्नेगरी तयारी गरेको बुझिएको छ। त्यसैगरी उपसभापतिमा पनि एक जना संस्थापन इतरबाट र सहमहामन्त्री एक जना संस्थापन इतरलाई दिनेगरी देउवाले लिस्ट तयार गरेको स्रोत बताउँछ।

संस्थापनमा महामन्त्रीको दौडबाट को बाहिरिएला?

संस्थापनमा खाण, साउद, महत, कार्की, लेखक र शर्मा हुन् महामन्त्रीमा दाबी गर्ने। जसमध्ये प्रवक्ता शर्मालाई यसअघि नै सहमहामन्त्रीमा बस्न देउवाले पटक-पटक आग्रह गरिसकेका छन्। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता कार्कीलाई पनि संगठन निर्माणमा कमजोर नेताका रुपमा देउवाले हेरेका छन्। त्यसैले उनलाई सहमहामन्त्रीमै थन्क्याउने देउवाको तयारी रहेको कार्की निकट नेता बताउँछन्।

'कार्कीले देउवाका लागि पनि खासै काम गरेका छैनन्। त्यसैले उनलाई देउवाले सहमहामन्त्रीमा राख्छन्,' ती नेताले भने, 'त्योभन्दा माथिल्लो पदमा लैजाँदैनन्।'

यता देउवा टिमका दुई हस्ती साउद र लेखक अर्को दाबेदार हुन् महामन्त्रीका। यी दुईमध्ये एनपीले खुल्ला रुपमा महामन्त्रीमा दाबी पेश गरिसकेका छन्। साउदलाई सुदुरपश्चिमको बलिया नेता मान्छन् देउवा। साउदलाई यसपटक पछि हट्न देउवाले आग्रह गरिरहेका छन्। यद्यपि साउदलाई यो रुचिकर बनेको छैन। लेखकले महामन्त्रीमा दाबी नगरी पदाधिकारीमा इच्छा व्यक्त गरेका छन्। यसले लेखक पनि सहमहामन्त्रीमा चित्त बुझाउने तयारीमा रहेको बताइन्छ।

यसरी हेर्दा खाण वा महतमध्ये देउवाले आफ्नो पक्षबाट एक जनालाई महामन्त्रीको टिकट दिने पक्का भएको स्रोत बताउँछ। जसमध्ये खाण बलिया दाबेदार भनिएको छ। एक महामन्त्रीको पद भने देउवाले संस्थापन इतरका लागि राख्नेछन्।

संस्थापन इतरमा कसलाई?

देउवा निकट स्रोतका अनुसार महामन्त्रीमा शशांक कोइरालालाई दोहोर्‍याउने देउवाको चाहना छ। संस्थापन इतरका चार आकांक्षीको छलफलमा शशांक सभापतिको उम्मेद्वारमा दाबीबाट पछि हटिसकेका छन्। निर्वाचनमा नराम्ररी पराजय भोग्दा देउवाको तीव्र आलोचना भएको थियो। त्यसबेला देउवाको कवज बनेका महामन्त्री शशांक हुन्। त्यसै पनि देउवालाई शशांक भरपर्दो लाग्ने बताइन्छ। अर्को लिगेसी बोकेका नेतामा शशांकलाई देउवाले बलिया र भरपर्दो नेताका रुपमा हेरेका छन्।

महामन्त्रीमा अर्का बलिया उम्मेद्वार हुन् गगन थापा। संस्थापन इतरका आकर्षक थापालाई पनि देउवाले तान्न खोजिरहेको बताइन्छ। १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीका उम्मेद्वार रहेका थिए थापा। त्यतिबेला सिटौलाकै सहयोगमा देउवा सभापतिमा निर्वाचित भएका हुन्। महामन्त्री पदमा उम्मेद्वारी दिँदै गर्दा थापा यसपटक पौडेल समूहतिर ढल्केका छन्। यद्यपि उनी सिटौला समूहका छलफलमा पुगिरहेका हुन्छन्। संस्थापन इतरमा गगनको एउटै माग हुने गर्छ - सिटौलालाई पनि समेटौँ। तर संस्थापन इतरमा पौडेलले अगुवाई गर्दै आएको समूहमा सभापतिको साझा उम्मेद्वार नै तय हुन सकेको छैन। यस्तो अवस्थामा सिटौलालाई कता अटाउने? चार आकांक्षीमध्येका अगुवा मानिएका पौडेलले बुधबार बिहान सिटौलासँग त भेटे तर सिटौला सकारात्मक नदेखिएको पौडेल स्रोतले जनाएको छ।

उपसभापतिमा कसलाई सिट खाली?

१३औँ महाधिवेशनमा आफूलाई सघाएकाहरुलाई गुण तिर्ने तयारी पनि छ देउवाको। यसका लागि उपसभापतिको एक सिट खाली राखेको देउवा निकट स्रोतले जनायो।

दुई उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार दाबेदार हुन्। तर देउवाले आफ्नो टिमबाट एक जनालाई मात्र उपसभापति दिने तयारी गरेका छन्। अर्को उपसभापति मानेमा सिटौलालाई दिने देउवाको तयारी रहेको स्रोतको दाबी छ।

त्यसैगरी सिटौला आउने भएमा महामन्त्रीमा दाबी गरिरहेका प्रदीप पौडेललाई सहमहामन्त्री दिने वचन देउवाले दिएको बताइन्छ। उम्मेद्वार चयनको रस्साकस्सी चलिरहँदा सिटौलालाई दुई पदाधिकारी दिने र पौडेलतिरबाट एक बलिया उम्मेद्वारलाई महामन्त्री दिएर सभापतिमा सहज जित निकाल्ने दाउमा देउवा रहेको दाबी स्रोतको छ।

देउवाले तोके कमान्डर

बुढानिलकण्ठ बैठकमा देउवाले आफ्नो समूहबाट महाधिवेशनमा भिड्ने केन्द्रीय सदस्यको सूची तयार गर्न प्रदेश कमान्डर तय गरेको छ। १२१ केन्द्रीय सदस्यका लागि कति आकांक्षी छन्? यसको सूची ती कमान्डरले देउवालाई बुझाउनेछन्।

प्रदेश १ मा यो जिम्मेवारी ज्ञानेन्द्र कार्कीले पाएका छन्। प्रदेश २ मा रमेश रिजालले पाएका छन्। वाग्मतीमा डा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, लुम्बिनीमा पूर्णबहादुर खड्का, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउद र रमेश लेखकले यो जिम्मेवारी पाएका छन्।

केन्द्रीय सदस्यमा संस्थापन इतरको पनि छलफल

बत्तीसपुतलीको अनुपम फुडल्यान्ड र प्रकाशमान निवास चाक्सीबारीमा सभापति उम्मेद्वारका चार आकांक्षीबीच छलफल चल्दै गर्दा कसलाई कति केन्द्रीय सदस्य दिने भन्नेबारे पनि छलफल भएको बुझिएको छ। चार नेताले आफ्नो समूहबाट सक्दो बढी केन्द्रीय सदस्यका उम्मेद्वार पदाधिकारी पार्ने गरी प्रस्ताव अघि बढाएको बताइन्छ। यद्यपि नेताहरुले यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

यो समूहबाट गगन थापा र डा मीनेन्द्र रिजालले महामन्त्रीमा दाबी पेस गरेका छन्। सहमहामन्त्रीमा बद्री पाण्डे, जीवन परियार, डिला संग्रौलालगायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

सहमहामन्त्री थपिएला त?

कांग्रेसले यसपटक वडा तहदेखि नै सशक्त रुपमा अधिवेशन गर्दै ल्यायो। जसले कांग्रेसलाई पुनर्ताजगी गराएको छ। केन्द्रीय नेताहरुले यो अधिवेशनमा धेरै नेताहरु व्यवस्थापन हुने सोचेका थिए। तर नेताहरु व्यवस्थापन भएन। संस्थापन पक्ष र इतर दुबैलाई पदाधिकारी व्यवस्थापनमा ठूलो समस्या ‍सिर्जना हुने देखिन्छ। महाधिवेशनको संघारमा कांग्रेसमा सहमहामन्त्री थप्ने तयारी भइरहेको चर्चा चल्न थालेको छ। खुलामा सहमहामन्त्रीको पद नरहेकोले यो पद सिर्जना गर्नेबारे देउवा र संस्थापन इतरका पक्षमा छलफल चलिरहेको छ। दुई पक्षको कुरा मिलेमा बिहीबारको केन्द्रीय समितिले खुला तर्फबाट दुई सहमहामन्त्री थपिने गरी निर्णय गर्न सक्ने एक केन्द्रीय सदस्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell