PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?



प्रकाश भण्डारी

कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वार हुन नेताहरुको तछाडमछाड छ। सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिने उनी निकट नेताहरुले बताइरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि सभापतिमा आकांक्षी नेताहरु धेरै भएकाले टुंगो लागेको छैन। साझा उम्मेद्वार तय गर्ने उनीहरु बिच केही दिनयता लगातार छलफल भइरहेको छ। प्रकाशमान सिंह, शेखर कोइराला, रामचन्द्र पौडेल र शशांक कोइरालाले सभापतिमा दाबी गरेका थिए।

तर, शशांक सभापतिको दौडबाट बाहिरिसकेका छन्। संस्थापन र संस्थापनइतर नेताहरु बिच पदाधिकारीका लागि रस्साकस्सी चलिरहँदा नेपाली कांग्रेसका नेता कल्याण गुरुङको चर्चा छैन। उनले तीन महिना अघि भदौ १६ गते नै सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका थिए। कांग्रेसका केन्द्रीय सदस्य रहेका गुरुङले उम्मेद्वारी घोषणा गर्दै आफू सभापति भए दुई पटक भन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए।

गुमनाम गुरुङ

उनले सबैभन्दा पहिला कांग्रेस सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका थिए। सभापतिमा उम्मेद्वारी दिएको भए पनि उनको पक्षमा माहोल छैन।

संस्थापन र इतर पक्षका नेताहरु आ-आफ्नो पक्षमा माहोल बनाइरहदा गुरुङको बारेमा भने कांग्रेस भित्र खासै चर्चा छैन्। यद्यपि, गुरुङले भने आफू सभापतिको उम्मेद्वार भएकाले चुनावी माहोल बनाउन लागिरहेको बताए।

'म कहाँ त्यसै बसेको छु र ! म चुनावको प्रचार प्रसारमा लागिरहेको छु,' कहाँ हराउनुभयो भन्ने पहिलोपोस्टको प्रश्नमा उनले जवाफ दिए, 'म फिर्ता लिन्न'

कांग्रेसभित्रको भागबण्डा मिलाउन नेताहरुले राजकीय पदको प्रलोभन पनि देखाएका छन्। नेपाली कांग्रेसमा मात्रै नभइ महाधिवेशनका बेलामा भागबण्डा मिलाउन कुनै दल पछि पर्दैनन्। नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना गुटका नेतालाई राजकीय पदको लोभ देखाएका थिए। यता, कांग्रेसको पौडेल गुटको बैठकमा पनि नेताहरुले पौडेललाई राष्ट्रपति बन्न सुझाएका थिए।

पदका लागि बार्गेनिङ चलिरहेका बेलामा गुरुङले भने आफ्नो उम्मेद्वारी बार्गेनिङका लागि नभएको दाबी गरे।

'म फिर्ता लिन्न। फिर्ता लिनका लागि उम्मेद्वारी दिएको होइन,' उनले भने।

उनले अरु पदाधिकारीको पदमा समेत नबस्ने दाबी गरे।

'कुनै गुटसँग छलफल भएको छैन'

देउवा र पौडेल दुवै आफ्ना गुटका नेताहरुसँग लगातार छलफल गरिरहेका छन्। गुरुङले भने दुवै गुटसँग आफूले अहिलेसम्म कुराकानी नगरेको बताए। उनले चुनावसम्मै उम्मेद्वारीको विषयलाई लिएर दुवै पक्षसँग कुराकानी नगर्ने बताएका छन्।

'मेरो कसैसँग छलफल भएको छैन। उहाँहरुले गरिरहनु भएको होला। सभापति पदको उम्मेद्वार हो, कसैसँग त्यसै छलफल गर्ने कुरा भएन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell