
बुटवल: नेपाली कांग्रेसको महाधिवेशन संघारमा आएसँगै लुम्बिनी प्रदेशबाट पदाधिकारी र केन्द्रीय समितिका आकांक्षीहरू धेरै देखिएका छन्। संस्थापन र संस्थापन इतर समूहबाट उपसभापतिसहित महामन्त्री, सहमहामन्त्री सहितका पदाधिकारीमा दाबी गर्दै उम्मेदवारी घोषणा गर्न थालेका छन्।
लुम्बिनीबाट कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २ दर्जन भन्दाबढी नेताहरुले लबिङ थालेका छन्। वडा, क्षेत्रीय, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न भएलगत्तै नेताहरूले केन्द्रीय महाधिवेशनमा होमिएका हुन्।
कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले महामन्त्रीका लागि उम्मेदवारी दिने पक्कापक्की जस्तै छ। खाँण पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रसमेत हुन्। त्यसैले पनि खाँणले सजिलै उम्मेदवारी पाउने कांग्रेस नेताहरु बताउँछन्।
कांग्रेस केन्द्रीय सदस्य तथा गुल्मीका नेता डा. चन्द्र भण्डारीले यो पटक उपसभापतिमा उम्मेदवारीको घोषणा गरेका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नजिक छन्। युवामाझ लोकप्रिय नेता भण्डारीले कांग्रेसमा नयाँ पुस्ताको प्रवेश हुनुपर्ने भन्दै आफुलाई अघि सारेका छन्। तर, संस्थापन इतर समूहबाट प्यानल घोषणा हुँदासम्म उनको पद उपसभापतिमै कायम रहन्छ की रहँदैन, त्यो भने टुंगो छैन। अहिले आफूहरू टीममा छलफलमै रहेको नेता भण्डारीले बताए।
नवलपरासीबाट केन्द्रमा पुगेका पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्। उनी संस्थापन समूहका नेता हुन्। उनले पनि आफूनिकटका नेताहरुलाई पदाधिकारीका लागि लबिङ गरिरहेका छन्।
त्यस्तै संस्थापन समूहकी महिला नेतृ पुष्पा भुसालले पनि पदाधिकारीमा जानका लागि आकांक्षा राखेकी छन्। संस्थापन इतर समुहबाट दीपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दाङका नेता गिरी कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएका थिए।
त्यस्तै दाङकै अर्का नेता डिल्लीबहादुर चौधरी पनि पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा छन्। संस्थापन समूहका चौधरी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री हुन्। पाल्पाका नेता वीरबहादुर रानाले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। राना लुम्बिनी प्रदेशका ऊर्जामन्त्री तथा पाल्पा कांग्रेसका पूर्व सभापति समेत हुन्।
त्यस्तै रूपन्देही कांग्रेसका निवर्तमान सभापति अब्दुल रज्जाक पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्। मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका उनि संस्थापन समूहका नेता हुन्। बाँकेबाट आकांक्षीहरूमा युवा नेता रवीन्द्रमान श्रेष्ठ, किरण कोइराला, पूर्वमन्त्री गजेन्द्र हमाल, संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, आशा विक लगायतका नेताहरु रहेका छन्। यीमध्ये वर्तमान पार्टी जिल्ला सभापति कोइरालाबाहेक सबै संस्थापन समुहका हुन्। बर्दियाका पूर्व पार्टी सभापति सञ्जय गौतम पनि केन्द्रमा जाने तयारीमा छन्। उनी बर्दियामा एमाले नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका थिए।
त्यस्तै कपिलवस्तुबाट भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनोडिया, प्यूठानबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल र अर्घाखाँचीबाट मानबहादुर विश्वकर्मा लगायतले पनि केन्द्रीय सदस्यमा आकांक्षा राखेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा सुरु हुँदैछ। निर्वाचनबाट एक जना सभापति, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र सदस्य गरी जम्मा १३४ जना चयन हुनेछन्।