
काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन निकट आइपुग्दा पार्टीका प्रभावशाली नेता शेखर कोइरालाले जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँग सुझाव लिएका छन्। संस्थापनइतरमा साझा उम्मेद्वार चयन गर्न सकस परिरहँदा आज बिहान बसुन्धरास्थित दियालो रेस्टुराँमा उनले राय लिएका हुन्।
संस्थापन इतरको बैठक आज पनि बत्तीसपुतलीमा जारी छ। बैठकमा केन्द्रीय सदस्यहरु छन् मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायतका केन्द्रीय सदस्यहरुको पनि उपस्थिति छ।
संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाको दाबी छ। चारै नेताबीच पछिल्ला दिनमा दिनहुँ छलफल भइरहे पनि सहमति भएको छैन।
यसअघि मंगलबारको छलफलमा महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलका नाममा सहमति भएमा आफू छाड्न तयार रहेको बताएका थिए। शशांक पौडलप्रति लचक भए पनि उक्त छलफलमा शेखर र प्रकाशमान टसमस भएनन्।
बुधबार पुनः शीर्ष नेतासहित नेता सिंहको निवास चाक्सीबारीमा छलफल भयो।
उक्त छलफलले पनि सर्वसम्मत उम्मेद्वार चयन गर्न सफल भएन। छलफलमा नेता पौडेलले त सहमति नगर्ने भए आफूलाई पार्टीबाटै बिदा गर्न पनि भनेका थिए।
सहमतिका लागि आज पनि बैठक बसेको हो।