PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

माओवादीका ३४ विभाग : प्रचण्ड स्कुल विभागको इञ्चार्ज र संसदीय विभागको प्रमुख, पूर्व न्यायाधीशदेखि प्रशासकसम्मको ‘कम्बिनेसन’



पहिलोपोस्ट

माओवादीका ३४ विभाग : प्रचण्ड स्कुल विभागको इञ्चार्ज र संसदीय विभागको प्रमुख, पूर्व न्यायाधीशदेखि प्रशासकसम्मको ‘कम्बिनेसन’

काठमाडौं : पुसमा पार्टीको केन्द्रीय सम्मेलनको तयारीमा रहेको नेकपा (माओवादी केन्द्र)ले ३४ विभागमा प्रमख तथा सदस्यहरुको मनोनयन गरेको छ।

विभागमा ३५ सदस्य हुने व्यवस्था भए पनि अधिकांश विभागहरुमा केही सदस्यहरु थप गर्न बाँकी छ। त्यस्तै, कतिपय विभागमा प्रमुख त कतिपयमा उपप्रमुख पनि राखिएका छैनन्।

माओवादीले गठन गरेको स्कुल विभागको इञ्चार्जको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ। गिरिराजमणि पोखरेल प्रमुख रहेको विभागमा प्रचण्डलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। अन्य विभागहरुमा भने इञ्चार्ज तोकिएको छैन।

पार्टीको संघीय संसदीय विभागको प्रमुखमा प्रचण्ड र उपप्रमुखमा कृष्णबहादुर महरा तोकिएका छन्। विभागका लागि संसदीय बोर्डका २१ जना, प्रदेश सभा संसदीय दलका नेता र सचेतक १४ गरी ३५ जना रहनेछन्। यस विभागमा पार्टीका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठलाई आमन्त्रित रुपमा राखिएको छ। त्यस्तै, विभागका बैठकमा मन्त्रीहरुलाई पनि आमन्त्रित गर्न सकिने व्यवस्था गरिएको छ।

पूर्व न्यायाधीशदेखि प्राध्यापकसम्म

माओवादीले गठन गरेका विभागहरुमा विभिन्न क्षेत्रका पूर्व प्रशासक, कर्मचारी तथा विज्ञहरुलाई समावेश गरेको छ। यसरी समावेश हुनेमा पूर्व न्यायाधीशहरु पनि छन्। पूर्व महान्यायाधीवक्ता मुक्तिनारायण प्रधान प्रमुख रहको कानुन, न्याय तथा मानवअधिकार विभागमा पूर्व न्यायाधीश भी. चौलागाईँ,  र ए. मिकरानी छन्। मिकरानीलाई मुश्लिम समुदायबाट प्रतिनिधित्व गराइएको छ।

यस विभागमा वर्तमान बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि छन्। त्यस्तै, पूर्व महान्यायाधीवक्ता तथा बारका पूर्व महासचिव रमण अधिकारीदेखि रामनारायण विडारीसमेत यस विभागमा छन्। त्यस्तै, न्याय प्रशासन क्षेत्रका बी. पाण्डेसम्म यस विभागमा रहेका छन्।

त्यस्तै, निर्वाचन विभागको जिम्मा खिमलाल देवकोटालाई दिइएको छ। प्रमुख देवकोटा भए पनि उपप्रमुख खाली राखिएको छ। यस विभागमा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पनि छन्। त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादव र पूर्व निर्वाचन आयुक्त सुधीर शाह पनि सदस्य छन्। आयोगमा प्राध्यापक कल्पना ज्ञवालीलाई पनि राखिएको छ।

वर्षमान पुन अनन्तको नेतृत्वमा रहेको अर्थ तथा योजना विभागमा अधिकांश प्रदेशका मन्त्रीहरुलाई समावेश गरिएको छ। यसमा लुम्बिनी, सुदुरपश्चिम, कर्णाली र गण्डकीका अर्थमन्त्रीलाई राखिएको छ।

मात्रिका यादव प्रमुख रहेको उपभोक्ता हित तथा आपूर्ति विभागमा पूर्व सहसचिव अर्जुन पौडेल छन्। विभागमा १० सदस्य खाली राखिएको छ। हरिवोल गजुरेल प्रमुख रहेको कृषि तथा भूमिसुधार विभागमा संसदीय समितिका सभापति पूर्णाकुमारी सुवेदीदेखि नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डाक्टर शितलकाजी श्रेष्ठसम्मलाई राखिएको छ।

विना मगर प्रमुख रहेको खानेपानी तथा सरसफाई समितिमा उपप्रमुख खाली राखिएको छ। त्यस्तै, १० सदस्य पनि खाली राखिएको छ।  त्यस्तै लीलामणि पोखरेल प्रमुख रहेको जलस्रोत, सिंचाई तथा उर्जा विभागमा त्रिविका उपप्रध्यापक डाक्टर खेम ज्ञवाली समावेश छन्।  त्यस्तै नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्य भक्तबहादुर पुन पनि यस विभागमा छन्।

कृष्णबहादुर महरा प्रमुख रहेको प्रचार विभागमा अधिकांश पत्रकारहरुलाई राखिएको छ। यसमा प्रचण्डका पूर्व प्रेस सल्लाहकार तथा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटादेखि पत्रकार महासंघका महासचिव रोशन पुरीसम्म छन्। यद्यपि, पुरीले पत्रकार महासंघमा रहँदासम्म पार्टीको कुनै जिम्मेवारी नलिने घोषणा गरेका छन्।

यस विभागमा महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य, पूर्व पदाधिकारीहरु खिलबहादुर भण्डारी, संगीता खड्का लगायत छन्। त्यस्तै अहिलेका सदस्यहरु लक्षमण खड्का, लेखनाथ न्यौपाने लगायत पनि यस विभागमा छन्।

भौतिक पूर्वाधार तथा यातायात विभागमा निर्माण व्यवसायी महासंघका महासचिव मंगल शाहीदेखि पूर्व डिन प्राध्यापक डाक्टर जगत श्रेष्ठ पनि छन्।

युवा तथा खेलकुद विभागमा वाईसीएल अध्यक्ष सुमन देवकोटादेखि क्रिकेटबाट छुम्पी शेर्पा, अल्ट्रा धावक मीरा राई, खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामा, पूर्व पीएलएका सदस्यहरु छन्।

रेखा शर्मा नेतृत्वको राजकीय मामिला विभागमा त्रिविको व्यवस्थापन संकायका डिन प्राध्यापक नवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका प्राध्यापक जनार्दन लामिछाने, पूर्व प्रशासक रामशंकर खड्का, खुला विश्वविद्यालयका राजकुमार पोखरेल, प्राशासक एल. मणि पौडेल लगायत छन्। प्रचार विभागका प्रमुख महरालाई राष्ट्रिय सुरक्षा विभागको पनि जिम्मेवारी दिइएको छ।

शक्ति बस्नेत नेतृत्वको वन तथा वातावरण विभागमा वन प्राविधिक संघका महासचिव कृष्ण वस्ती, फेकोफनका महासचिव बिर्खबहादुर शाही, अभियान्ताहरु ठाकुर देवकोटा, सोमत घिमेरलाई पनि समेटिएको छ।

त्यस्तै, शिक्षा तथा मानव स्रोत विभागको प्रमुखमा मायाप्रसाद शर्मालाई लिम्मेवारी दिइएको छ। यस समितिमा पूर्व भीसी प्रा. डा. लेखनाथ शर्मा, कृषि तथा वन विश्वविद्यालयका भिसी प्रा डा पुष्पप्रसाद रेग्मी, परीक्षा बोर्डका उपाध्यक्ष प्रा. डा चन्द्रमणि शर्मा, त्रिविका रेक्टर प्रा. डा. शिवलाल भुसाल, प्रा. डा. सुधा त्रिपाठी, त्रिविका पूर्व रेक्टर प्रा डा हेमराज ढकाल, त्रिवि सेवा आयोगका डाक्टर जगत पोखरेल, क्याम्पस प्रमुख रहेका प्रा डा रामकृष्ण तिवारी, त्रिविकै प्रा डा चित्रबहादुर बूढाथोकी, शिक्षाशास्त्र डिन प्रा डा शिवकुरमार यादव, लुम्विनी विश्वविद्यालयका डाक्टर शैलेशमणि पोखरेल, प्राध्यापक डाक्टर चन्द्रकला घिमिरे रहेका छन्।

त्यस्तै, यस विभागमा प्रध्यापक संगठनका, शिक्षक संगठन, शिक्षक महासंघका अध्यक्षहरु पनि सदस्य छन्।

रामेश्वर राय यादव प्रमुख रहेको श्रम तथा रोजगार विभागमा वैदेशिक रोजगार व्यवसायीहरु कुन्छा दोर्जे दिनडङ, दीपक तामाङ, दिलप्रसाद पोखरेल, धनलाल जैसी, रामचन्द्र गिरी र रामप्रसाद भान्तना लगायत छन्। यस विभागमा ट्रेड युनियनका सदस्य तथा अध्यक्षहरुलाई राखिएको छ।

संगठन विभाग अपूरो राखिएको छ। यस विभागको प्रमुख जनार्दन शर्मा छन्। उपप्रमुख खाली राखिएको छ। विभागमा सबै प्रदेशका इञ्चार्जलाई समावेश गरिएको छ। त्यस्तै, केन्द्रीय कार्यालयका मुख्य सचिव, पम्फा भुसाल र मातृका यादवलाई पनि सदस्यमा राखिएको छ। सामान्य प्रशासन विभागमा पूर्व सहसचिव धनबहादुर बुढा सदस्य छन्।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा कल्पना धमलालाई जिम्मेवारी तोकिएको छ। यो विभागको सदस्यहरुमा विभिन्न स्वास्थ्य संस्थाका चिकित्सक स्वास्थ्यकर्मीदेखि अस्पताल सञ्चालक छन्। 

कर्णाली स्वास्थ्य प्रतिष्ठानका डाक्टर अर्जुन तिवारी, भरतपुर क्यान्सर अस्पतालका उप निर्देशक डाक्टर कृष्णसागर शर्मा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डाक्टर निरेश थापा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मधुर बस्नेत, भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी, कान्ति अस्पतालका डेन्टिस्ट डाक्टर कुम्भराज जोशी, ओम साईबाबा अस्पतालका सञ्चालक डाक्टर सुमन मरहट्टा, मेट्रोन अस्पतालका वरिस्ठ नर्स दयालक्ष्मी जोशी, न्याम्स नर्सिङ क्यापसकी नर्सिङ प्रशिक्षक शुक्ला खनाल, सुमेरु अस्पतालका सञ्चालक सन्तोष दाहाल, पूर्व पीएलएका स्वास्थ्यकर्मी शिव केसी, डम्बर रावल लगायतका यस विभागमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell