
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन सुरु हुनु एकदिन अघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिटीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित रहे। महाधिवेशनको संघारमा कांग्रेसको विधान संशोधन गरेर पदाधिकारी थप्ने प्रस्ताव आउन लागेको थाहा पाएपछि पौडेल असन्तुष्ट बनेका थिए। नेतृत्व चयनको दौडधुप चलिरहेका बेला पौडेलको अनुपस्थितिलाई कांग्रेस भित्र अर्थपूर्ण रुपमा हेरिएको छ। पौडेल अनुपस्थिति भएपछि दुई जना सहमहामन्त्री थप्ने प्रयास असफल बन्यो।
विश्वप्रकाशको जवाफ यस्तो
पौडेललाई पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले भेटेरै केन्द्रीय कमिटीको बैठकबारे जानकारी गराएका थिए। तर, पौडेलले बैठकमा सहभागी नहुने जवाफ फर्काएका थिए।
आजको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले पौडेलको अनुपस्थितिलाई पार्टीले गम्भीर रुपमा लिएको बताए।
'पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलले फोन गरेर मात्रै होइन भेट्न जानुभएको थियो। वरिष्ठ नेताले म आउँदिन भन्नुभएको थियो। यसका पछाडि जे जस्ता कारण होलन,' शर्माले भने,'कुनै पनि सदस्यको उनुपस्थिति नहोस भन्ने चाहँदै गर्दा पार्टीको वरिष्ठ नेताको अनुपस्थिति हुने अवस्था बन्ने छैन।'
शर्माले पौडेल महाधिवेशनमा उपस्थित हुने वातावरण बन्ने दाबी समेत गरे। महाधिवेशनमा वरिष्ठ नेता पौडेल अनुपस्थित रहे सबैका लागि दु:खद हुने उनको भनाइ थियो।
'अनुपस्थित हुने अवस्थाप्रति गम्भीर छौँ। महाधिवेशनमा उहाँ उपस्थित हुने अवस्था बन्ने छ। उहाँको सहभागिता हुने अवस्था केन्द्रीय महाधिवेशनमा हुन्छ। भएन भने हामी सबैका लागि दु:खद हुन्छ,'शर्माले भने।
पौडेलले आफ्नो समूहका नेताहरुको बैठकमा आफूलाई साझा उम्मेद्वार नबनाए पार्टीबाट बिदा लिने बताएका थिए। पौडेल पक्षका नेताहरु उनलाई सभापतिको उम्मेद्वार बनाउन सहमत भएका छैनन्। संस्थापन इतारबाट प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका लागि दाबी गर्दै आएका छन्।