
काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा अवधारणा पत्र सार्वजनिक गर्दै थापाले उम्मेद्वारी घोषणा गरेका हुन्।
उनले भोलिबाट सुरु हुने महाधिवेशनमा महामन्त्रीमा जित्ने नजित्ने थाहा नभएको भन्दै अब १०-१५ वर्ष मात्रै अब सक्रिय राजनीतिमा लाग्ने उद्घोष गरे।
'म महामन्त्री हुन्छु हुदैन् मलाई थाहा छैन्। म १०-१५ बर्ष क्रियाशील भएर काम गर्छु। काम गरेर विश्राम लिदै गर्दा मेरा २ जना छोरीहरु २०/२५ वर्षका हुनेछन्। तिनीहरुलाई लिएर काठमाडौंका सडकमा घुम्दै गर्दा परैबाट कसैले मायाले जय नेपाल भनिदिए पुग्छ,' थापाले भने।
थापाले काम गर्नका लागि आफू नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्न लागेको बताए। उनले जात, धर्मका नाममा लडाइँ गरेर राजनीति हुने गरेको भन्दै आपत्ति जनाए। आफूले महामन्त्रीमा जिते संविधान कुल्चिएर हुने दर्घटना रोक्ने दाबी गगनको थियो।
उनले भने, 'कांग्रेस महामन्त्रीको कुर्सी बस्न र गनगन गर्नका लागि मात्रै होइन। गुनासो गर्ने मात्रै होइन कांग्रेसको वैचारिक लाइन प्रस्ताव गर्ने हो। हाम्रो कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली होइन। समुन्नत नेपाल सम्मानित नेपाली हुनुपर्छ।'
ओली प्रति कटाइ गर्दै उनले भने, 'समृद्ध नेपाल चुच्चे रेल, भ्यू टावर बने समृद्ध बन्ने हो? रेलमा चढ्ने मान्छेको अत्तोपत्तो छैन। भ्यू टावर धेरै अग्लो भयो तलका मान्छे देख्दैनन्।'
सम्बोधनका क्रममा उनले कांग्रेस भएकै कारण कोही डराउनु पर्दैन भन्ने भरोसा दिनुपर्ने बताए। त्यसका लागि कांग्रेसने जित्नुपर्ने उनको मत थियो। 'कांग्रेस जनताका लागि हो। कांग्रेस नजिते जनताले के गुमाउँदैछ भन्ने बुझाउन सक्नुपर्छ। कांग्रेसको एउटैमात्र काम रहेछ चुनाव जित्ने भन्न सक्छन्। त्यो शंका निवारणका लागि योजना चाहिन्छ सपना चाहिन्छ' उनले भने।
एक वर्षमा सबै खालका निर्वाचन हुने उनको दाबी थियो। उनले कांग्रेसले निर्वाचन गराएर छाडने भन्दै गगनले भने, 'कांग्रेसले चुनाव हार्यो भने जनताले के गुमाउछ त्यो प्रश्नको जवाफ खोज्नुपर्छ।'