PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

कांग्रेस १४ औं महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन, महाधिवेशनस्थल सिसीटीभीको निगरानीमा, अरु के-के छ कार्यतालिका?



पहिलोपोस्ट

कांग्रेस १४ औं महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन, महाधिवेशनस्थल सिसीटीभीको निगरानीमा, अरु के-के छ कार्यतालिका?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन लगायतका काम सम्पन्न भएको कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीले जानकरी दिए।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ। भृकुटीमण्डपमा बनाइएको मञ्चमा करिब ४०० मानिस अट्ने बनेको र ३ स्टेपमा नेता तथा पाहुनाहरुलाई राखिने उनले बताए।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ। यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन्। अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरुले भाग लिने भएकाले उनीहरुलाई बस्न एक लाइन छुट्टाइएको पुडासैनीले जानकारी दिए। महाधिवेशनस्थल वरपरका सबै दृश्य २४ घण्टै सिसीटीभीको निगरानीमा हुने बताइएको छ। यसका लागि महेन्द्र पुलिस क्लबमा कन्ट्रोल रुम रहेको छ।

४ सय बस्ने र ४० नाच्ने मञ्च

कांग्रेसले ४ सय जनालाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने भएको छ। शक्ति प्रदर्शन नगर्ने भए पनि कांग्रेसले मञ्चमा भने तीन स्टेपमा बस्ने व्यवस्था गरेको छ। मञ्च व्यवस्थापनको जिम्मेवारी पारएका काठमाडौंका सचिव पुडासैनीले ४ सय जना बस्ने र ४० जना नाच्ने मञ्च बनिरहेको बताए। 'हामीले सांस्कृतिक समूहलाई ४० जना सम्म सँगै नाच्ने तयारी गर्नुस भनेका छौ,' उनले भने। विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने छ।

देउवालाई देउडा

कार्यक्रममा नन्दकृष्ण जोशीले प्रस्तुति दिनेछन्। देउडा गीतका चर्चित गायक जोशीले डँडेल्धुरा घर भएका पार्टी सभापति शेरबहादुर देउवालाई मञ्चमा राखेर देउडा गीत सुनाउने छन्। जोशीका झमक्यो डालीमा, ओ बाझ झुमरेली बाझ, गलबन्दीमा रातो धागो लगायताका गीत चर्चित छन्।

महाधिवेशनका लागि गठन गरिएको सांस्कृतिक विभागकी संयोजक सीता गुरुङका अनुसार कार्यक्रममा उद्घाटन अघि पञ्चेबाजा सहितका झाँकीहरु प्रस्तुत हुनेछन्। उद्घाटन समारोहमा लोक गीतहरु प्रस्तुत हुनेछन्। त्यसका लागि गायक बिमलराज क्षेत्री, राधिका हमाल, टीका पुन, मोहन राई लगायतका कलाकारले प्रस्तुति दिनेछन्। चर्चित लोक गायक क्षेत्रीको बल्लै भो भेट, हिमाल सेतै छ, औंठी कुसैको लगायतका गीत लोकप्रिय छन्। यस्तै टीका पुनले पनि आफ्नो प्रस्तुती दिने संयोजक गुरुङले बताइन। 'सबै कलाकारहरुले आफ्नो प्रस्तुती दिनुहुन्छ। त्यसको रिहर्सल भइरहेको छ,' उनले भनिन्।

राष्ट्रिय एकताको धुन

कांग्रेसले आफूलाई राष्ट्रियता जोगाउने पार्टीको रुपमा दाबी गरिरहेको छ। संविधान जारी गर्नमा मात्रै नभइ नेपालका ठुला परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको नेताहरु बताउछन्। यसलाई झल्काउने गरी सांगीतिक प्रस्तुती हुने भएका छन्। यसमा ४० जना सम्म कलाकारले नृत्य प्रस्तु गर्ने गुरुङले बताइन। ४७ सय भन्दा बढी प्रतिनिधि र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई स्वागत गीत गाएर कलाकारहरुले स्वागत गर्ने तयारी भइरहेको गुरुङको भनाइ छ।

जुनमा पनि दाग छ

गायिका टीका पुनको जुनमा पनि दाग छ, अमर माया मर्दैन, म पुजा गर्छु मायाको लगायतका लोकगीत चर्चित छन्। उनले पनि कांग्रेसको महाधिवेशनमा प्रस्तुती दिनेछन्। कांग्रेसका कार्यकर्तालाई नचाउन उनले लोक भाकालाई प्रस्तु गर्ने तयारी गरिरहेको कांग्रेसको सांस्कृतिक समितिले जनाएको छ। अर्की चर्चित गायिका राधिका हमालले पनि महाधिवेशनमा आफ्नो प्रस्तुती दिनेछिन्। उनका क्याम्पस पढन आउने, तिजको लरक्क लरक्यो सारी भुइमा लगायतका दोहोरी गीत चर्चित छन्। उनले नेपाली कांग्रेसको चुनावी गीत पनि गाएकी थिइन्।

भारतीय पाहुना

कांग्रेस महाधिवेशनमा सहभागी हुन भारतीय राजनीतिक नेताहरु नेपाल आएका छन्। महाधिवेशनमा भाग लिन हिजै दिउँसो भारतीय नेताहरु नेपाल आइपुगेको कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।

भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कांग्रेस नेता मुकुल रोयसहित ४ जना नेपाल आएको महतले जनाए।

ट्राफिक व्यवस्थापन

कम्तीमा पनि तीन दिनसम्म चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाभित्रको सवारी प्रभावित हुने देखिएको छ। महाधिवेशनमा ५० हजार नेता तथा कार्यकर्ता सहभागी हुँदा कार्यक्रम स्थल वरपरको सवारी आगमनमा प्रभावित हुने देखिन्छ। तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सवारीको आगमनलाई प्रभावित हुन नदिने गरी ट्राफिक व्यवस्था मिलाएको दाबी गरिएको छ।

'महाधिवेशनले सम्पूर्ण काठमाडौँकै सवारी आवतजावतमा असर पर्दैन। कार्यक्रम वरपरको सवारी आगमनमा पनि असर नपर्ने गरी व्यवस्था मिलाएका छौँ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव दास शर्माले भने।

महाधिवेशन अवधि ट्राफिक व्यवस्थापन गर्ने एसपी संञ्जीव दास शर्माको नेतृत्वमा ३ सय ५० जना ट्राफिक प्रहरी परिचालन गरिएको छ। काठमाडौं उपत्यकाभित्र दैनिक करिब १ हजार ट्राफिक प्रहरी खटिदैं आएका छन्।

अहिले देशका विभिन्न जिल्लाबाट कांग्रेस नेता तथा कार्यकर्ताहरू काठमाडौं आउन थालिसकेका छन्। महाधिवेशनमा आउने नेता तथा कार्यकर्ताहरूको सवारीले काठमाडौंको आगमनमा प्रभावित नहोस् भने सवारीहरू टुँडिखेल नजिकैको पुरानो बसपार्कमा व्यवस्था गरिएको छ। त्यस्तै प्रर्दशनीमार्ग सडक एकतर्फि बनाइने प्रहरीले जानकारी दिएको छ।

'सबैभन्दा सवारीमा असर गर्ने गाडीको पार्किङले नै हो। पुरानो बसपार्कमा करिब १२ हजार सवारी साधन पार्किङ गर्न मिल्छ,' एसपी शर्माले भने। त्यस्तै महाधिवेशन सुरक्षाको लागि १० हजारभन्दाबढी सुरक्षाकर्मी खटिने भएका छन्।

स्वास्थ्य व्यवस्थापन

नेपाली कांग्रेसले १४ औं महाधिवेशन अवधिभर प्रतिनिधिहरुलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरेको छ। सभास्थलबाट होटलसम्म जान सवारी साधनको व्यवस्थापन गरिएको कांग्रेस महाधिवेशन स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए।

त्यसका लागि डेढ सय गाडी तयारी अवस्थामा राखिने बस्नेतले बताए। 'गाडी नहुनेहरुका लागि सभास्थलबाट होटलसम्मका लागि गाडीको व्यवस्था गरिएको छ,' उनले भने।

कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई सेनिटाइजर दिने भएको छ। अनिवार्य मास्कको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए। उनका अनुसार स्वास्थ्य परीक्षणका लगि स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ। वीर अस्पतालाई केन्द्रित गरेर कुनै प्रतिनिधि बिरामी भए उपचार गरिने छ। त्यहाँ सम्भव नभए अरु अस्पतालमा रेफर गरिने बस्नेतले बताए।

ओमोक्रन भेरियन्टलाई मध्यनजर गरेर कांग्रेसले महादधिवेशनमा एन्टिजेन टेस्ट गर्ने भएको छ। तर त्यसका लागि चिकित्सकको परामर्श अनिवार्य गरिएको छ। 'डाक्टरको सल्लाहमा आवश्यक पर्नेलाई एन्टिजेन र अरु खालका परिक्षण हुन्छन्,'बस्नेतले भने।

प्रतिनिधिहरुलाई सुन्धारा, ठमेल र गौशालाका होटल

महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ। सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो । ४७ सय बढी प्रतिनिधिका लागि १०० भन्दा बढी होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए ।

समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको छ। त्यसैगरी खानाको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने बताइएको छ।

उद्घाटनपछि बन्दसत्र

उद्घाटन सम्पन्न भएपछि भोलि बन्द सत्र हुनेछ। बन्त्रसत्रमा तीन प्रतिवेशन पेश हुनेछन्। त्यसैगरी विधानसम्बन्धी अनुमोदन प्रस्तावसमेत पेश हुने पार्टी प्रचार विभागका प्रमुख एवं प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बिहीवार महाधिवेशन तयारीका लागि आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महामन्त्रीको प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ। यही प्रतिवेदन बन्दसत्रमा प्रस्तुत हुनेछ।

बैठकले १४ औँ महाधिवेशन तयारीका क्रममा केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ।

निर्वाचन कार्यतालिका यस्तो छ

यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ। सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ। सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ।

कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।

मतदान कागजी नै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा २ सय जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ। राष्ट्रियसभागृह र नेपाल पुलिस क्लवमा कांग्रेसले मतदान गर्न २ सय बुथ राख्न लागेको हो। त्यसका लागि तयारी भइरहेको नेपाली कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए। महाधिवेशनमा सहभागी हुने ४५ सय भन्दा बढि प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ। एकजनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टा भन्दा बढी लाग्ने पुडासैनीले बताए।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell