PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'टाइटल रेस'को आर्मी र 'नयाँ कम्बिनेसन'को च्यासल



मुकुन्द घिमिरे

'टाइटल रेस'को आर्मी र 'नयाँ कम्बिनेसन'को च्यासल

काठमाडौं: शहीद स्मारक ए डिभिजन उपाधिको प्रवल दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा सोचेजस्तो प्रदर्शन गर्न सकेन। लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा लिगको साविक विजेता मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्यो। पछिल्लो खेलमा ब्रिगेड व्वाइजलाई १-० ले हराएपछि लिगमा आर्मीले आफ्नो पहिलो तीन अंक जोडेको थियो। योसँगै आफूहरु टाइटल रेसमा अघि बढेको अनुभव भएको थियो आर्मीका प्रशिक्षक नविन न्यौपानेलाई।

‘३ अंक महत्वपूर्ण थियो। टाइटल रेसमा अघि बढेजस्तो महसुस भएको छ। तर, स्ट्राइकिङ जोनमा अझै समस्या छ’, प्रशिक्षक न्यौपानेले भनेका थिए, ‘खेलमा अवसरहरु धेरै बनायौं त्यो महत्वपूर्ण हो। यसअघिको खेलहरुमा अवसर बनाउन सकिएको थिएन। अझ सुधार्दै लैजाने छौं। खेलाडीको प्रदर्शनबाट खुशी छु।’

आज चौथो चरणको खेलमा आर्मीले बलियो प्रतिस्पर्धी च्यासल युथ क्लबसँग भिड्दैछ। र, आर्मीले स्पस्ट तीन अंक लिने लक्ष्य राखेको आर्मीका सहायक प्रशिक्षक राजु तामाङले बताए।

'स्पस्ट तीन अंकका लागि नै खेलिरहेका छौं। थ्री स्टारको म्याच बाहेक उनीहरुले (च्यासलले) राम्रो प्रदर्शन गरिरहेका छन्। युवा विदेशी पनि राम्रो छ,' तामाङले भने, 'हामीले उनीहरुको विकनेस पत्ता लगाएका छौं। बिट गर्ने नै योजनामा छ।'

आर्मी खेलाडीको चोटबाट समस्यामा छ। लिग सुरु नहुँदै स्ट्राइकर नवयुग श्रेष्ठले चोट बोकेपछि समस्यामा परेको आर्मीलाई अझै चोटको समस्याले छाडेको छैन। टिम सन्तुलित बनाउन अनुभवी खेलाडी जगजित श्रेष्ठलाई टीममा भित्र्याएको छ। तर, उनीसँग कम्बिनेसन खास मिलेको भने देखिएको छैन।

'जगजित सेट हुन गाह्रो भइरहेको छ। मौका दिइरहेका छौं। ट्रेनिङमा राम्रो गरे पनि म्याचमा कठिन नै छ,' तामाङले भने।

अर्कोतर्फ च्यासलको पनि टिम राम्रो छ। जारी लिगमा तीनखेलमा १ जित, १ हार र १ बराबरी खेलेको च्यासल ४ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ। थ्री स्टार क्लबसँगको ३-० को फराकिलो हार ब्यहोर्दै लिगमा खराब सुरुवात गरेको च्यासलले दोस्रो खेलमा विभागीय टोली एपीएफलाई हराएको थियो भने तेस्रो खेलमा न्युरोड टिम एनआरटीसँग १-१ को बराबरीमा रोकिएको थियो।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टिमको प्रदर्शनमा सुधार आइरहेको मान्छन्। लिगको टप टेबलमा पुग्ने महत्वकांक्षा नभएका आफू टीमको प्रदर्शनबाट सन्तुष्ट रहेको उनले बताए।

'आर्मीसँग राम्रै तयारी छ। हामी कम्तीमा पनि टप सिक्समा टुंगिन चाहन्छौं। र, आर्मीसँग पनि जितकैका लागि खेल्छौं। आजको खेलमा पनि अट्याकिङ नै हो,' उनले भने, 'कमजोरी देखिएकव पक्षमा हरेक कुरा थप्दै छौं। बनाउँदै छौं।'

साहुखल च्यासलमा नयाँ कम्बिनेसन भएकोले लयमा आउन समय लाग्ने मान्छन्। अघिल्लो सिजन खेलेको कमैमात्र खेलाडी टिममा भएको तर्क राख्दै उनले भने: टिम बिउल्ड अप कै प्रोसेसमा छौं। हामी नयाँ टिम जस्तै नयाँ नै हो। त्यसैले समय लाग्छ। खेलाडीहरुको एभरेज एज पनि धेरै छैन।

आज बाट चौथो चरणका खेल

ए डिभिजन लिगमा चौथो चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने पहिलो खेलमा पोखरेली क्लब मनाङ मर्स्याङदी र कुपण्डोलको फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन्।

जारी लिगमा दुई जित र १ बराबरी खेलेको मनाङ ७ अंक जोड्दै तालिकाको शीर्ष तीनमा रहेको छ। अर्कोतर्फ तीन खेलबाट दुई अंक जोडेको फ्रेन्ड्स क्लब तालिकाको १० औं स्थानमा छ।

फ्रेन्ड्स क्लब र मनाङ दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

त्यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्नेछन्।

सुरुवाती दुई खेलमा बराबरी खेलेको आर्मीले पछिल्लो खेलमा ब्रिगेड व्वाइजमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो। अंकतालिकाका आर्मी ३ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

त्यस्तै तीनखेलमा १ जित, १ हार र १ बराबरी खेलेको च्यासल ४ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ।

आर्मी र च्यासले साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

चौथो चरणअघि लिग टेबल

लिगको तेस्रो चरणका खेलहरु सकिँदा ७ अंक जोडेर तीन टिमले शीर्षस्थानका लागि संघर्ष गरिरहेका छन्। सातदोबाटो युथ क्लब, मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब समान २ जित र १ बराबरी खेल्दै ७ अंक जोडेर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

त्यस्तै, समान ५ अंक जोडेका संकटा क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचौं र छैठौं स्थानमा छ।

सातौं, आठौं र नवौं स्थानमा समान ४ अंक जोडेका थ्री स्टार क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रहेका छन्।

त्यस्तै, तीन वटै खेलमा पराजय ब्यहोरेका जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब रेलिगेसन जोनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell