PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

देउवालाई निवर्तमान सभापति बनाउने हो, दोस्रो राउन्डमा चुनाव जाँदैन : मीनेन्द्र रिजाल



नेत्र तामाङ

देउवालाई निवर्तमान सभापति बनाउने हो, दोस्रो राउन्डमा चुनाव जाँदैन : मीनेन्द्र रिजाल

काठमाडौं  : नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पहिलो चरणबाटै नेतृत्व चयन हुने दाबी गरेका छन्। कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनअघि शुक्रवार बिहान महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै रिजालले उक्त दाबी गरेका हुन्।

'सभापतिका लागि मतदान दोस्रो राउन्डमा जाँदैन होला। पहिलो राउन्डमै वारपार गराउने हाम्रो रणनीति छ,' रिजालले भने।

पार्टी सभापति शेरबहादुर देउवासँग ५० प्रतिशत मत नरहेकोले पनि चुनाव दोस्रो राउन्डमा नजाने उनको तर्क रह्यो।

'देउवालाई निवर्तमान सभापति बनाउने हो'

रक्षामन्त्री रिजालले देउवालाई निवर्तमान सभापति बनाउने ठोकुवा गरे। भने, 'हाम्रो सभापति अहिले सरकारमा हुनुहुन्छ। उहाँ साझा भनेको प्रधानमन्त्री हो। उहाँलाई कांग्रेसको निवर्तमान सभापति बनाउने हाम्रो प्रयत्न हो।'

देउवालाई पराजित गर्न संस्थापनइतरमा एकताको प्रयास जारी रहेको रिजालले बताए। रिजालले यस्तो दाबी गरिरहँदा संस्थापनइतरमा भने अझै साझा उम्मेद्वार चयन हुन सकेको छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शशांक कोइराला र डा शेखर कोइरालाबीच विवाद चर्किएको छ। चारबीच साझा उम्मेद्वार चयनका लागि रस्साकस्सी चलिरहेको बेला कसरी संस्थापनइतर बलियो होला त? जवाफमा रिजालले भने, 'उम्मेद्वार मनोनयनको समय आएकै छैन। हाम्रो प्रयास जारी छ। एक उम्मेद्वार हुन्छ भन्नेमा विश्वस्त छु।'

'शिरको खोजी, गगन र मीनेन्द्र दुई हात'

पत्रकारसँगको छलफलका क्रममा रिजालले आफू पनि शिरको खोजीमा रहेको बताए। 'महामन्त्रीमा उम्मेद्वारी दिँदै गर्दा म पनि शिरको खोजीमा छु। को हुन्छ भन्ने अहिले नै फिक्स्ड भएको छैन।'

यस्तै भनाई बिहीवार महामन्त्रीमा घोषणा गर्दै गर्दा गगन थापाले व्यक्त गरेका थिए। यसबारे रिजालले भने, 'हामी दुबैको नियति उही हो। हामी दुबै दुई हात हुने हो कि?'

आफू वीपी कोइरालाको पार्टीलाई पुनर्जागृत गराउनुपर्छ भनेर महामन्त्रीमा दाबी गरेको रिजालले बताए। उनले पार्टीलाई सशक्त बनाउन आफूले सक्दो काम गरेको उल्लेख गरे। यसको मुल्याँकन नेता कार्याकर्ताले गर्ने उल्लेख गर्दै रिजालले भने, 'मैले नै सबै गरेको छु भनेर आफ्नो रुप हेरी हेरी आफै हुन्छु दंग त भन्न भएन। संसदमा सशक्त भूमिका निभाएको छु।'

'दाम्लो चुडाँलेर जाँदिनँ'

कुराकानीका क्रममा रिजालले आफू अहिले संस्थापनइतरमै रहेको र यही समूहबाट चुनावी मैदानमा उत्रने बताए। महाधिवेशन नजिकिँदा देउवातिरका साथीहरुमा त्रास देखिएको उल्लेख गर्दै रिजालले भने, 'देउवाकोमा गएर घाँस खान्छ कि भनेर कसैले सोच्छ भन्ने त्यो नसोचे हुन्छ। संस्थापनइतरबाट दाम्लो चुडाई जान्छ कि भन्ने डर पनि होला। त्यो हुन्नँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell