
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ। काठमाडौंको भृकुटी मण्डपमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदै गर्दा महाधिवेशनमा कांग्रेस नेतृत्वमा आकांक्षा राख्नेहरु चुनाव प्रचारमा पनि तल्लिन छन्। नेताहरु तथा तीनका समर्थकहरूले चुनाव प्रचारका विभिन्न अस्त्रहरु प्रयोग गरेका छन्।
यस्तैमा पूर्व राज्यमन्त्रीसमेत रहेका नवलपरासी पश्चिमका सांसद देवेन्द्रराज कण्डेलले आफ्नो संस्मरण 'बोनसको यो जीवन' पुस्तक महाधिवेशन प्रतिनिधिहरुलाई बाँड्दै मत मागिरहेका छन्।
लुम्बिनी प्रदेशको प्रदेश सभापतिमा आकांक्षा राखेका कण्डेलले त्यहाँ भरत शाहलाई समर्थन गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेस महाधिवेशनको उद्घाटनस्थल भृकुटी मण्डपको प्रवेश द्वारको आडैमा पुस्तक लिएर कण्डेलका समर्थकहरु पुस्तक बाँडिरहेका छन्। छेउमा उभिएर कण्डेल मतदातालाई नमस्कार गर्दैछन्।
'तपाईँलाई उपहार यो पुस्तक। एक भोट देवेन्द्रराज कण्डेललाई केन्द्रीय सदस्यमा दिनुहोला- लुम्विनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार,' पुस्तक बाँडिरहेका उनका समर्थकले मत माग्दै भन्दैछन्।
महाधिवेशनमा सहभागि हुन आएका कार्यकर्ताहरुलाई पुस्तक वितरण गर्दै कण्डेलका समर्थकहरू। रुखको आडमा उभिएका कण्डेल।
पुस्तकको भूमिकामा कण्डेलले लेेखेका छन्- 'म पटक पटक मरेर बाँचिरहेको छु। चुनौती भन्ने के हो भने त्यो त जीवनमा मेरो जति कसको आयो होला र भन्ने लाग्छ। काल पनि कायल भएर भागेको कथाहरु धेरै छन्। तर शरीरमै गोली लागेर पनि बाँचेको यो मेरो जीवन बोनसकै जीवन हो।'
उनले ईश्वरको कृपाले मतदाता र पार्टीको माध्यमबाट समाजसेवा गर्ने अवसर पुन: प्राप्त गरेको उल्लेख गरेका छन्। 'प्रत्यक्ष र परोक्ष रुपमा पार्टीका साथीहरु, आफन्त र जनमानसको शुभेच्छाले यो ठाउँमा र यो रुपमा आइपुगेको छु। मेरो स्वास्थ्यलाभको लागि प्रार्थना गुनहुने सबैप्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु,' उनले लेखेका छन्।
उनको पुस्तकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कण्डेलको जीवन बोनसको जीवन भएको लेखेका छन्।
'मलाई थाहा छ, साँच्चै देवेन्द्र राज कण्डेलजीको जीवन बोनसकै जीवन हो,' उनले लेखेका छन्, 'माओवादी आक्रमण, गाडी दुर्घटनालगायतको क्षणहरुलाई जितेर उहाँले यो जीवन प्राप्त गर्नु भएको छ।'