
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनको उद्घाटनसत्रमा आउने भएका छन्। भृकुटीमण्डपमा अहिले केहीबेरमा नै महाधिवेशन सुरु हुँदैछ।
तर, असन्तुष्ट रहेका पौडेल महाधिवेशनमा नआउने हल्ला चलेपछि कांग्रेसी नेताहरु उनलाई फकाउन पौडेल निवास बोहोराटार पुगेका थिए। अन्तिम समयमा पदाधिकारी थप्ने भएपछि पौडेलले बिहीवारको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए।
बोहोराटार पुगेका महेश आचार्य, गगन थापा र जिल्ला सभापतिहरूको आग्रहपछि पौडेल महाधिवेशन उद्घाटनमा जान राजी भएका हुन्। उनी एकैबेरमा नै बोहोराटारबाट निस्कने पौडेलको सचिवालयले जनाएको छ।
पौडेलले १४ औं महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न संस्थापनइतर समुहका नेताहरुलाई आग्रह गरेका छन्। तर, उनकै समूहमा रहेका प्रकाशमान सिंह र शेखर कोइरालाले पनि सभापतिमा दाबी नछाड्दा पौडेललाई सकस परेको छ। पौडेलले सहमति नगर्ने हो भने आफू कांग्रेसबाट बिदा हुने चेतावनी समेत दिइसकेका छन्।