
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ। भृकुटीमण्डपमा भइरहेको उद्घाटनसत्रमा कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता सहभागी छन्।
भित्र कार्यक्रम भइरहँदा भृकुटीमण्डप बाहिर भने कार्यकर्ताहरु नेताहरुका लागि मत मागिरहेका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकादेखि पदाधिकारीका आकांक्षीका समर्थकहरु प्रचारप्रसारमा जुटेका छन्।
यसबिच प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका समर्थकहरु पनि उनका लागि मत माग्दैछन्। फेरि सभापतिमा लड्ने निश्चित भइसक्दा उनीविरुद्ध संस्थापन इतर समूहले उम्मेदवार खडा गर्न सकेको छैन।
भृकुटीमण्डपमा देउवाको गृह जिल्ला डडेलधुराबाट आएका महिला समूह देउडा गर्दै देउवाको प्रचारमा लागेका हुन्। देउवाको तस्विर अंकित क्याप र कांग्रेसको झण्डा र रुख छाप भएको मास्क लगाउँदै उनीहरुले देउडा गाउँदै भृकुटीमण्डप परिसर परिक्रमा गरेका हुन्।