काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले फ्रेन्ड्स क्लबमाथि २-० को सहज जित निकालेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको ४१ औं मिनेटमा कप्तान अन्जन बिस्टको क्रसमा ओलावाले अफिजले हेडिङमार्फत गोल गर्दै मनाङलाई खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको मनाङका लागि दोस्रो गोल दिनेश राजबंशीले ७१ औं मिनेटमा गरे।
जितसँगै मनाङ अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। ४ खेल खेलेर ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको मनाङ शीर्षस्थानमा उक्लिएको हो। फ्रेन्ड्स क्लब भने ४ खेलबाट २ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ।
आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र च्यासल युथ क्लब पौने पाँच बजे आमनेसामने हुनेछन्।