काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा मुलुकका सबै राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रह्यो। उद्घाटन कार्यक्रममा सबैभन्दा पछाडि आइपुगे पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।
कांग्रेस महाधिवेशनको उद्घाटन सत्र ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एकै मञ्च सेयर गर्ने थलो बन्यो, धेरै पछि। त्यसैले धेरैलाई चासो थियो - आमने सामने हुँदा यी नेताहरुले कस्तो व्यवहार देखाउँछन्।
महाधिवेशनको सुरुमै आइसकेका थिए माधवकुमार नेपाल र प्रचण्ड। अघिल्लो प्रदेश तथा संघीय निर्वाचनमा एकै मोर्चामा थिए ओली, नेपाल र प्रचण्ड। तर, अहिले तीन फरक दलको नेतृत्व गरिरहँदा एकअर्का प्रति कटू आलोचकका रुपमा रहँदै आएका छन्।
केहीअघि नेकपा एमालेको महाधिवेशनमा माधवकुमार नेपाललाई केपी ओलीले निम्त्याउन चाहेनन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष हुन् नेपाल। उनलाई ओलीले अध्यक्ष मानेका छैनन् न त उनको दललाई नै स्वीकारेका छन्। यता चर्को राजनीतिक द्वन्द्वकै बिच विभाजित भएको नेकपाबाट फेरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले महाधिवेशनमा नडाकेको होइन। तर, प्रचण्डले एमाले महाधिवेशनमा सहभागिता जनाएनन्, आफ्नो प्रतिनिधिमात्र पठाए - लिलामणि पोखरेल।
त्यसैले एकै मञ्चमा यी तीन नेता भेटिँदा कस्तो होला? धेरैमा कौतुहलता थियो।
प्रचण्ड र नेपालको कटू आलोचक रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई वास्तै नगरी मञ्चमा अगाडि बढे। ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उठेर नमस्कार गर्दै स्वागत गरे। ओली माधवकुमार नेपाल र प्रचण्डको अगाडिबाटै देउवातिर अघि बढेका थिए। ओलीले दुई नेतालाई वास्त गरेनन् भने नेपाल र प्रचण्ड दुवैले हात बाँधेर बसेको देखियो।
ओली मञ्चमा पुगेपछि आफू बसिरहेको कुर्सी छाडेर कांग्रेस नेता रामचन्द्र पौडेल नेकपा मालेका नेता सीपी मैनाली नजिकैको खाली कुर्सीतिर लागे। देउवा नजिकैको कुर्सीमा ओली बसे।
पूर्व नेकपाका तीन नेताको एकै मञ्चमा पहिलो पटकको उपस्थितिमा थोरै पनि सौहार्दता भने देखिएन।