
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले शासन गर्ने तन्त्र अस्वीकार गर्ने कुनै सिद्धान्त स्वीकार नहुने बताएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै नागरिक स्वाभिमान बिर्सन नसकिने बताएका हुन्।
लिङ्देनले राष्ट्रप्रमुखमा राजा ल्याउनुपर्ने भन्दै नेताहरुलाई जनताले चोर भन्न थालेको टिप्पणी गरेका थिए। लिङ्देनको भनाइको प्रतिवाद गर्दै ओलीले आफूलाई यस्तो सिद्धान्त बोक्ने परिपाटी देखेर अचम्म लागेको बताएका हुन्।
'आज पनि नेपालका नागरिक स्वाभिमान बिर्सिने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्ने, अचम्म लाग्छ। कोही जन्मिँदै शासक भएर जन्मिन्छ भनेर यस्ता निराधार सिद्धान्त खास गरी नागरिक स्वाभिमान विपरीत सिद्धान्त मान्य हुँदैन,' ओलीले भने।
लिङ्देनले नेतालाई चोर भन्ने गरेको भनाईलाई लिएर ओलीले थपे, 'नागरिकबाट कोही नेता हुन सक्दैन, नेता चोर हुन्छ, यस्ता कुरा बोलेर हिँड्ने? हुन त भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला। केही भर्खर भर्खरको बाच्छो कुद्न जान्दैन, छिटो कुद्छ। अलि समयमा ठिक आउला भन्ने मलाई लाग्छ।
ओलीले आफू शुभकामना दिन आएको भन्दै कांग्रेसलाई साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न सुझाव समेत दिए। साथै, स्वार्थ त्यागेर अघि बढ्न आह्वान समेत गरे।