PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पर्सामा जारी छ पाँच दिने कोरोनाविरुद्धको खोप अभियान, दैनिक २० हजार जनाले लगाउछन् खोप



राधेश्याम पटेल

पर्सामा जारी छ पाँच दिने कोरोनाविरुद्धको खोप अभियान, दैनिक २० हजार जनाले लगाउछन् खोप

वीरगंज : पर्सामा गत बुधवारदेखि पाँच दिने विशेष खोप अभियान जारी छ। जिल्ला खोप समन्वय समिति पर्साको निर्णय अनुसार शुरुमा तीन दिने अभियानलाई बढाएर ५ दिने बनाइएको समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले जानकारी दिए।

यसअघि शुरुमा तीन दिने खोप अभियान मंसिर २२ देखि २४ गतेसम्म चलाउने निर्णय भएको उनले बताए। पर्साको १४ वटै स्थानीय तहमा १ सय २९ खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘भेरोसेल खोप’ लगाउने कार्य भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार दैनिक अहिले २० हजारभन्दा बढीले खोप लगाइरहेका छन्। १८ वर्षमाथिका सबैले खोप लिइरहेको उनको भनाइ छ।

पुस मसान्तभित्र दुई तिहाई नागरिकलाई खोप लगाउने लक्ष्य जिल्ला खोप समन्वय समिति पर्साले लिएको छ। खोप केन्द्रमा धेरै भिडभाड नहोस् र बढी भन्दा बढी नागरिकले खोप लगाउन् भनेर पाँच दिने अभियान सञ्चालन भएको तथा खोपको भण्डारणको क्षमता हेरेर पुनः अभियानलाई निरन्तरता दिइने उनले बताए।

साउन यता पर्सामा ७ पटक कोरोना भाइरसविरुद्ध खोप अभियान सञ्चालन भइसकेको छ। त्यसक्रममा पर्सामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोस्रो मात्रा खोप लगाईसकेका छन्। जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिसिल्डको दुवै मात्रा, ६६ हजार ३ सय ७५ जनाले भेरोसेलको दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जनसन सिंगल डोज र २१ हजार ९ सय ८२ जनाले एस्ट्राजेनेकाको दुवै डोज खोप लगाएका छन्।

जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३ सय ६८ जना छ। हालसम्म २९ दशमलव ६७ प्रतिशतले मात्रै खोप लगाएको अवस्था छ।

वीरगंज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राईपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक तथा खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

भेरोसेल सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपको समेत सुनिश्चितता भइसकेको छ। त्यसैले अभियानमा भेरोसेल सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि खोप प्रदान गर्ने गरी तयारी गरिएको छ। गर्भावस्थाको तीन महिना पुगेका सबै गर्भवतीलाई पनि खोप दिइनेछ भने प्रदेश २ कै सम्पूर्ण एचआईभी पीडितहरुलाई वीरगंजको बसपार्कमा खोप दिइने काम भइरहेको ठाकुरले बताए।

यसअघि भेरोसेल, कोभिसिल्ड वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोस्रा मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिनेगरी व्यवस्था मिलाएको स्वास्थ्य कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell