
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस कम्युनिष्ट भन्दा पछि पर्नुको कारण पत्ता लागेर समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
'अहिले हाम्रो गति रोकिएको छ। त्यो अवस्थाबाट अघि बढाउन पर्छ। आत्मसमीक्षा र आत्ममूल्यांकन गर्न महाधिवेन हो,' उनले भने।
महाधिवेशनबाट कांग्रेस नयाँ युगमा प्रस्थान गर्ने अठोटका साथ अघि बढ्नुपर्ने भन्दै उनले महाधिवेशन हतारमा गरिएको टिप्पणी गरे।
'यहाँ देशको परिस्थिति, नीतिबारे छलफल गर्नुपर्ने थियो। तर, समयमा अधिवेशन गरेनौं। छलफल गरेनौं। व्यवस्थित अधिवेशनको कार्यतालिका बनाएनौं। हडबडमा भयो,' पौडेलले भने।
उनले कम्युनिष्टसँग लडाई गाह्रो हुने भन्दै कांग्रेसलाई समक्ष बनाउन निर्वाचनमा मात्रै नभइ सबै पक्षमा ध्यान दिनुपर्ने बताए।
सभापति एवम् पार्टी सभापति शेरबहादुर देउवाकै अघिल्तिर उनले सरकार अस्तव्यस्त भएको आरोप पनि लगाए।
'संसद चलेको छैन। सर्वोच्च अस्तव्यस्त छ। सरकार अस्तव्यस्त छ। सरकार गतिहीन अवस्थामा छ। पार्टीको गति रोकिएको छ। अब कांग्रेसलाई सही गतिमा ल्याउनुपर्छ। कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ।'
कांग्रेसको भविष्य निर्धारण गर्नुपर्ने भएकाले उनले प्रतिपक्षसँग सामना गर्न सक्ने कांग्रेस बनाउने गरी निर्णय गर्नुपर्ने बताए।
पौडेलले १४ औं महाधिवेशनम सभापतिमा दाबी गरिरहेका छन्। तर, संस्थापन इतरले देउवाविरुद्ध लड्न साझा उम्मेदवार छनोट गर्न सकेको छैन। प्रकाशमान सिंह र शेखर कोइरालाले पनि सभापतिमा दाबी गर्दा पौडेल सकसमा छन्। उनले सहमतिमा नआउने भए आफू कांग्रेसबाट बाहिरिने बताएका थिए।