PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

१४औँ महाधिवेशनका १४ फरक दृश्य



प्रकाश भण्डारी

१४औँ महाधिवेशनका १४ फरक दृश्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन्छन् कि हुदैनन्? शुक्रबार बिहान सम्म पनि संशय पनि थियो।

तर, ओलीले एमालेको वाग्मती प्रदेश कमिटीको कार्यक्रममा 'कांग्रेसलाई सुझाव दिन हिडेँ' भनेपछि उनी आउने पक्का भयो। किनभने ओली बिहीबार बिरामी भएको भन्दै पार्टी निकटका पत्रकार भेटघाट कार्यक्रममा अनुपस्थित थिए।

ओली सहभागी भएपछि संयोग यस्तो बन्यो कि पार्टी विभाजनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र ओलीले पहिलोपटक मञ्च सेयर गरे।

ओली, प्रचण्ड र नेपालको कटुताका कारण एकै पञ्चमा यसअघि देखिएका थिएनन्। एमालेको चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा सहभागी हुन प्रचण्डले अस्वीकार गरेका थिए भने ओलीले नेपाललाई निम्ता नै दिएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा अरु नेता सहभागी भए पनि ओली अनुपस्थित रहे।

मञ्च सेयर गर्ने यी तीन ठूला कम्युनिस्ट नेताहरु तयार भए पनि कटुता भने अझै चुलिँदो छ। जुन कांग्रेसको महाधिवेशनको मञ्चमा पनि जारी रह्यो। जसलाई कांग्रेसका प्रतिनिधिहरुले चाखपूर्वक हेरिरहेका थिए।

१. ओलीको 'इन्ट्री'मा प्रचण्ड-नेपाल डम्म

कांग्रेस महाधिवेशनमा ओली सबैभन्दा पछि उपस्थित भए। पूर्व प्रधानमन्त्रीलाई कांग्रेसले अगाडि एउटै लहरमा राखेको थियो। बीचमा सभापति देउवालाई राखेर दायाँ बायाँ ओली प्रचण्डको आसन थियो। ओली सभामा इन्ट्री गर्दा उनलाई नमस्कार गरेर देउवाले स्वागत गरेका थिए। तर, प्रचण्ड नेपाल भने डम्म बसिरहे।

ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उठेर नमस्कार गर्दै स्वागत गरे। ओली नेपाल र प्रचण्डको अगाडिबाटै देउवातिर अघि बढेका थिए। ओलीले दुई नेतालाई वास्ता गरेनन् भने नेपाल र प्रचण्ड दुवैले हात बाँधेर बसे। ओली मञ्चमा पुगेपछि आफू बसिरहेको कुर्सी छाडेर कांग्रेस नेता रामचन्द्र पौडेल नेकपा (माले) का नेता सीपी मैनाली नजिकैको खाली कुर्सीतिर लागे। देउवा नजिकैको कुर्सीमा ओली बसे।

२. ओलीकै पालामा माइकमा गडबडी

ओलीले महाधिवेशनमा सम्बोधन गर्दा प्रविधिले साथ दिएन। किनभने सम्बोधन सकेर ओलीले नेताहरुलाई जब घोचपेच गर्ने थालेका थिए माइक काटियो। उनी केहीबेर पर्खिए माइकमा सुधार आएन। माइकमा राम्ररी सुधार नआएपछि उनले बाँकी देउवालाई छोडेर सिटमा बसे। उनी बसेपछि भने माइकमा सुधार भएको थियो।

कार्यक्रमका प्रस्तोता विश्वप्रकाश शर्माले फेरि पनि ओलीलाई आफ्नो भनाइ राख्न आग्रह गरे। तर, ओलीले भाषण गर्ने मुड बनाएनन्। आफ्नो भनाइलाई बिट मारे। अरु नेताको बेलामा भने माइकमा कुनै गडबडी आएको देखिएन।

३. नामै नलिएर घोचपेच

महाधिवेशनमा अनौठो त के देखियो भने लामो समयपछि एउटै मञ्चमा देखिएका तीन कम्युनिस्ट नेताले एक सम्बोधनका क्रममा एक अर्काको नाम नै लिन चाहेनन्। एक अर्काप्रति घोचपेच गरे पनि उनीहरुले नाम भने लिएनन्। तीन नेतामध्ये सबैभन्दा पहिला बोलका थिए नेपाल। उनले सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री र कांग्रेसका नेताहरु मात्रै भनेर सम्बोधन गरे। नेपालले पूर्व राजालाई कि पार्टी खोल्न नभए व्यापार गर्न सुझाव दिएका थिए।

'राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ। नभए एउटा व्यापार गरे हुन्छ। राष्ट्रियताको रक्षा हामी आफैँले गर्न सक्छौँ। विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्छ,'नेपालले भने।

४. ओलीले सोधे -मिलेर जाउँ भनेको के हो?

प्रचण्डले सम्बोधन गर्दा पनि बारम्बार देउवा र कांग्रेसका पुराना र हालका शीर्ष नेताको नाम लिएका थिए। उनले पनि ओलीको नाम लिन चाहेनन्। प्रचण्डको भाषण ओलीको आलोचनामा भन्दा कांग्रेससँगको सहकार्य जारी राख्न देउवालाई याचना गर्नमा केन्द्रित थियो। उनले कांग्रेसलाई दम्भ नदेखाउन सचेत गराए।

लगतै ओली भाषण गर्न आउँदा नेपाल भने कार्यक्रमस्थबाट हिँडिसकेका थिए। प्रचण्डले पनि ओलीको पूरै भाषण सुनेनन्। ओलीले कांग्रेसलाई अरु दलसँग सहकार्य गर्नु आवश्यक नभएको बताए। प्रचण्ड नेपालले मिलेर जाने भनेको भन्दै आफू पनि कांग्रेससँगै भएको बताए।

'हामी एक भएर हिँड्नुपर्छ भन्ने मात्र सुनेका छौँ,' उनले भने, 'एक भएर जाउँ भनेको के हो? सरकारमा सँगै जाउँ भनेको हो? केही केहीलाई सरकारबाट बाहिरिनुपर्छ भन्ने चिन्ता लाग्यो कि!'

५. देउवाले कोट्याएर लगाए नमस्ते गर्न

महाधिवेशनमा अनौठो त के देखियो भने ओली प्रचण्डको बीचमा बसेका देउवाको भूमिका मञ्चमै दुई नेताबीच मध्यस्थता गरेको देखियो। ओलीलाई प्रचण्ड नेपालले सद्भाव देखाएका थिएनन् न त ओलीले नै सद्भाव देखाउन चाहेका थिए। ओलीको भाषण माइक गडबडीका कारण रोकिएको थियो। उनले देउवालाई छोडेको भनेर सिटमा बसेका ओलीलाई प्रस्तोता शर्माले फेरि बोल्न आग्रह गरेपछि भने ओली मञ्चमा जानेबेला देउवाले ओलीलाई नमस्कार गर्न लगाए र दुबै नेताले एक अर्कालाई नमस्कार गरे। प्रचण्ड ओलीको भाषण पूरै नसुनी निस्किए।

६. राजेन्द्र लिङ्देनले भने नेतालाई चोर

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनअघि मात्रै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनी सार्वाजनिक रुपमा पहिलोपटक ठूलो मञ्चमा सहभागी भएका थिए। लामो समय भाषण नगरेका लिङ्देनले गाउँमा गएपछि नेताहरुलाई नामले नबोलाउने भन्दै चोर भनेपछि भने सभाको माहोल केही बदलियो। जसलाई पछि ओली, प्रचण्ड र नेपाल तीनै जनाले निसाना लगाएर आलोचना गरेका थिए।

ओलीले त लिङ्देनलाई भर्खरको बाच्छोको संज्ञा दिए। 'भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला। केही भर्खरभर्खरको बाच्छो कुद्न जाँन्दैन, छिटो कुद्छ। अली समयमा ठिक आउला भन्ने मलाई लाग्छ,' ओलीले भनेका थिए।

७. शौचालयमा कार्यकर्ताको लाइन

केही समय अघिदेखि नै महाधिवेशनलाई भव्य बनाउने भन्दै नेपाली कांग्रेसले व्यवस्थापनका विभिन्न काम सुरु गरेको थियो। चार हजार ४०० प्रतिनिधि सहभागी हुने भएकाले कांग्रेसलाई व्यवस्थापन गर्न चुनौती पनि थियो। जनप्रदर्शन र र्‍याली भने कांग्रेसले निकालेन। तर, देशभरबाट कार्यकर्ता र प्रतिनिधि सहभागी भएपछि भृकुटीमण्डप सानो भइसकेको थियो। बगैँचातिर खानपिनका लागि छुट्याइएको थियो भने कार्यकर्ता तथा नेतालाई भाषण सुन्न/हेर्नका लागि प्रदर्शनीमार्गमा डिस्प्ले बोर्ड र माइकको व्यवस्था गरिएको थियो। जसरी हेर्नका लागि कांग्रेसले सहजता गराएको थियो शौच गर्न भने कार्यकर्ताका लागि त्यती व्यवस्थित गरेको देखिएन। हुनत बगैँचामा, राष्ट्रिय सभागृहमा र भृकुटीमण्डपभित्रै पनि शौचालय थिए। कार्यक्रम स्थल अगाडि एउटा अस्थायी शौचालय राखिएको थियो। जहाँ कार्यकर्ता ठेलमठेल गरेर शौच गर्न गइरहेका थिए। 

८. अगाडि नेताको भाषण पछाडि नाच

कार्यक्रमको अर्को अनौठो दृश्य त के पनि थियो भने अगाडि नेताहरुको चर्को भाषण चलिरहँदा पछाडि भने नाचगान चलिरहेको थियो। नाचगान गरेर नेताहरुलाई भोट मागिरहका थिए कलाकार। कांग्रेसको निर्वाचन आचारसंहिताले सभास्थलको ५ सय मिटर वरपर प्रचार-प्रसार गर्न नपाइने आचारसंहिता बनाएको थियो। जसलाई वास्ता गरेनन् कार्यकर्ताले। अझ प्रचारको अर्को अनौठो शैली त के पनि थियो भने ठूला पोस्टर बनाउँदा थाहा हुने भएकाले साना भिजिटिङ कार्डमार्फत कार्यकर्ताले आफू निकटका नेतालाई भोट मागिरहेका थिए।

९. गगन र उदयको पक्षमा नारा

नाराको शैली कार्यकर्ताले अनेक अपनाइरहेका थिए। मुख्यगरी गगन थापा र उदयशमशेर राणाको पक्षमा नाराबाजी गरेको देखियो। 'नेपाली कांग्रेस के भन्छ-गगन थापा ले भन्छ' भन्ने नारा लगाएर भोट मागिरहेका थिए थापा निकटका नेता कार्यकर्ता।

अर्का नेता उद्यशमशेर राणाको पक्षमा पनि महाधिवेशनमा माहोल देखियो। प्रचार गर्न आचारसंहिताले बन्देज गरेको भए पनि उनको पक्षमा नारा लगाएर उनी निकटका नेता/कार्यकर्ताले भोट मागिरहेका थिए।

१०. कण्डेलको भोट माग्ने ट्रिक

पूर्व राज्यमन्त्रीसमेत रहेका नवलपरासी पश्चिमका सांसद देवेन्द्रराज कण्डेलले आफ्नो संस्मरण 'बोनसको यो जीवन' पुस्तक महाधिवेशन प्रतिनिधिहरुलाई बाँड्दै मत मागिरहेको दृश्य पनि रोचक देखियो।

लुम्बिनी प्रदेशको प्रदेश सभापतिमा आकांक्षा राखेका कण्डेलले त्यहाँ भरत शाहलाई समर्थन गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।

कांग्रेस महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डपको प्रवेशद्वारको आडैमा पुस्तक लिएर कण्डेलका समर्थकहरु पुस्तक बाँडिरहेका थिए।

'तपाईँलाई उपहार यो पुस्तक। एक भोट देवेन्द्रराज कण्डेललाई केन्द्रीय सदस्यमा दिनुहोला -लुम्विनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार,' पुस्तक बाँडिरहेका उनका समर्थकले मत माग्दै भनिरहेका थिए।

११. महन्थको ओलीलाई धन्यवाद, देउवालाई चेतावनी

लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर महाधिवेशनको उद्घाटन सत्रमा सहभागी थिए। सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरेकाले उनी पनि छुटने कुरा भएन। उनले आफ्नो राजनीतिक लाइन भने क्लिएर बनाए। किनभने उनले भाषणका क्रममै ओलीलाई आन्दोलनका क्रममा जेलमा परेका कार्यकर्तालाई छुटाएकोमा धन्यवाद दिँदा प्रधानमन्त्री देउवालाई भने चेतावनी दिन भ्याए।

भने, 'सरकारसँग भएको सहमति पूरा भएको छैन। रेशम चौधरी जेलमा छन्। हाम्रो अरु धेरै साथी जेलमा छन्, तारेखमा छन्। उनीहरुलाई रिहा गरिनुपर्छ। हामीसँग भएको सहमति र प्रतिवद्धता पूरा नभए हामी फेरि सडकमा उत्रनेछौँ।'

१२. डिस्प्ले बोर्डमा हेर्नेको भीड

कांग्रेसको कार्यक्रम आयोजना गरिएको सभास्थल भृकुटीमण्डप नेता कार्यकर्ताले खचाखच भरिएपछि ठाउँ सानो भएको थियो। प्रदर्शनीमार्ग र जुत्ता मेला लाग्ने ठाउँमा राखिएका तीन वटा डिस्प्लेमा चासोपूर्वक नेता कार्यकर्ताले भाषण हेरिरहेका/सुनिरहेका थिए। सभास्थलको अगाडि कुर्सीमा बस्ने व्यवस्था गरिएको भए पनि सहभागीलाई कुर्सि पुगेनन्। धेरै जसोले बोर्डमै नेताहरुको भाषण सुनेर फर्किएका थिए।

१३. तिमीले मलाई बिर्सेऊ

अरु कार्यकर्ता मञ्चतिर एकोहोरिएका बेलामा एक जना वीपीको फोटो अनुहारमा टाँसेर आएपछि धेरैको ध्यान खिचियो। उनले गलामा लगाएको मालामा 'तिमीले मलाई बिर्सेऊ' लेखेका थिए। उनी कार्यक्रमस्थलतर्फ अघि बढेपछि कार्यकर्ताले निकै चाख मानेर हेरिरहेका थिए। उनलाई अर्का एक जनाले डोर्‍याइरहेका थिए। कार्यक्रमस्थल वरिपरि उनले फन्को लगाए। मञ्चमा कांग्रेसका पुराना नेताहरुको योगदान बारेमा चर्चा भइरहँदा वीपीको फोटो अनुहारमा टालेर हिँडेको दृश्य कांग्रेस महाधिवेशनका लागि अनौठो बन्न पुग्यो।

१४. दुई घण्टा भनिएको कार्यक्रम रातिसम्मै

कांग्रेसले भनेको थियो कार्यक्रमा दुई घण्टा मात्रै चल्छ। अर्थात् १ बजे सुरु भएर उद्घाटनसत्र ३ बजे सकिन्छ। यो उद्घोष भने कांग्रेसले बिर्सियो। किनभने १ घण्टा ढिलो गरी मात्रै कार्यक्रम सुरु भएको थियो भने राति परिसक्दा समेत कार्यक्रम जारी नै रह्यो। विदेशी पाहुना र अरु दलका शीर्ष नेताहरुले भने कांग्रेसका नेताहरुको भाषण सुन्न पर्खेनन्। अन्तिममा सम्बोधन गर्न देउवा आउँदा साढे ६ बजिसकेको थियो। जतिबेला अँध्यारो भइसकेको थियो। कार्यक्रमस्थल वरपर बत्तीले उज्यालो बनाएर कांग्रेसले कार्यक्रम गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell