
काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको हलमा शुक्रबार राति करिब ९ बजेदेखि सुरु भएको छ। बन्दसत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेस हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बन्दसत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, बाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेस गरिएको छ।
पेस गरिएको प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ। यसअघि आज भृकुटीमण्डपको प्राङ्गणमा महाधिवेशनको उद्घाटन भएको थियो।
महाधिवेशनमा देशभरबाट चार हजार ७४३ प्रतिनिधि सहभागी छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन्।
निर्वाचन समितिका अनुसार शुक्रबार नै महाधिवेशन प्रतिनिधिको नामावली पनि प्रकाशन भएको छ। उम्मेद्वार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेद्वारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने छ।
उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२१५ बजे तोकिएको छ। मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।