PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

उद्घाटन सम्बोधनमा देउवाको प्रस्तुति दमदार हुँदा पौडेलको किन फितलो? शशांकले धर्मको कुरा गर्दा गच्छदारको गुनासै-गुनासा



नेत्र तामाङ

उद्घाटन सम्बोधनमा देउवाको प्रस्तुति दमदार हुँदा पौडेलको किन फितलो? शशांकले धर्मको कुरा गर्दा गच्छदारको गुनासै-गुनासा

काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेसका सबै पदाधिकारीले भनाई राख्ने मौका पाए। सबै अतिथिले शुभकामना राखिसकेपछि प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादवबाट सम्बोधन सुरु भयो।

कोषाध्यक्ष यादवले आफूले यो महाधिवेशनमा कुनै पदमा उम्मेद्वारी नदिने घोषणा गरिन्। यादवको यो त्याग सुनेर उनको पक्षमा धेरैले हुटिङ गरेका थिए।

त्यसपछि सहमहामन्त्री सुनिल थापा र डा प्रकाशशरण महतले आफ्नो धारणा राखे। थापाले आफू कांग्रेसमा आउनुको कारण खुलाए भने महतले पार्टीलाई बलियो बनाउने कुरा राखे।

त्यसपछि महामन्त्री पूर्णबहादुर खड्काले भनाई राखे। खड्काले आफू पदमा बस्दा केही कमीकमजोरी भएको भए माफी दिन आग्रह गरे। उनी धेरै बोलेपछि पार्टी सभापति शेरबहादुर देउवाले घडी हेर्दै प्रवक्ता शर्मातिर इंगित गरे।

त्यसपछि बोले महामन्त्री डा शशांक कोइराला। उनले पार्टीको महाधिवेशन गर्नुपर्ने कारण बुझाए।

त्यसपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले धारणा राखे। उनले आफूलाई संकटमा साथ नदिनेलाई सबक सिकाउने चेतावनी आफ्नो भनाईमार्फत् राखे।

लगत्तै उपसभापति विजय गच्छदारको पालो आयो। गच्छदारले आफ्नो दुःख, कांग्रेस छाड्नुको कारण र आउनुको कारण सुनाए। साढे पाँच बजेतिर बोल्न थालेका गच्छदारले झन्डै आधा घण्टा लगातार दुःख-सुखका कुरा सुनाए।

त्यसपछि उपसभापति विमलेन्द्र निधिले पार्टीको नीति र कांग्रेसको नेतृत्वबारे धारणा राखे। कांग्रेसकै कारण संविधान आएको र अहिले देश विकासको बाटोमा लागेको उनको भनाई थियो।

लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले धारणा राखे। पौडेलले हडबडमा महाधिवेशन गरेर विधि प्रक्रिया मिच्ने काम नेतृत्वले गरेको आरोप लगाए। उनले कांग्रेस नेतृत्वको सरकार गतिहीन बनेको आरोप लगाए। कांग्रेस अझै बलियो नभएको पौडेलको भनाई थियो।

त्यसपछि पालो आयो सभापति देउवाको। देउवा उठ्नसाथ उनको पक्षमा हुटिङ भयो - शेरबहादुर देउवा जिन्दावादको नारा लाग्यो।

देउवाले आफू सत्तामा आएपछि त्रासको वातावरण हटेको दाबी गरे। त्यसैगरी देउवाले एमाले अध्यक्ष केपी ओलीको पालाको शासन सम्झाउँदै त्यस्तो शासन अन्त्य गर्न फेरि आफ्नो आवश्यकता कांग्रेसमा रहेको तर्क गरे। आफू नेतृत्वमा आए कांग्रेसलाई वडादेखि संसदसम्मै जिताउने दाबी पेस गरे।

देउवाको प्रस्तुति दमदार पौडेलको फितलो?

महाधिवेशनको उम्मेद्वार मनोनयन नजिकिइसकेको छ। तर संस्थापन इतरले अझै साझा उम्मेद्वार छान्न सकेन। वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, डा शशांक कोइराला र डा शेखर कोइराला आ-आफ्नै अडानमा छन्। एकले अर्कोलाई टेरपुच्छर नलगाएका यी नेताको प्रस्तुति उद्घाटनका बेला गरेको भाषणबाट झल्किन्थ्यो।

सभापतिका दुई दाबेदार रामचन्द्र र शशांकले भनाई राख्न पाए। तर दुबैले खुलेर मत माग्न सकेनन् महाधिवेशन प्रतिनिधि सामू। तर देउवाले आफू फेरि दोहोरिनुपर्ने भन्दै दमदार प्रस्तुति राखे।

देउवाले त पौडेललाई व्यङ्ग्यसमेत प्रहार गरे। आफ्नो उम्मेद्वारीबारे पौडेलले केही भनाई राख्न नसकेपछि देउवाले भने - रामचन्द्रजीले चिसोका कारले धेरै बोल्न पनि सक्नुभएन।

हुटिङको साथ पाएका देउवाले, 'आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो। मेरो सरकार गठन भएलगत्तै जनताले ओलीको शासनबाट मुक्ति पाए। पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ। आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मा भयो।'

यसो भनिरहँदा उनको पक्षमा हुटिङ चलिरहेकै थियो। देउवाले बिन्ती गर्दै भने - प्लिज भयो भयो।

यो बचाउने कि नबचाउने? प्रश्न गर्दै देउवाले सभापतिमा फेरि आफूलाई फेरि जिताउन आग्रह गरे। आफू सभापतिमा आए स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसकै हुने दाबी गरे।

'कांग्रेस सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुन्छ। राष्ट्रिय सरकार पनि कांग्रेसको हुन्छ। त्यसका लागि मलाई यो पल्ट जिताइदिनुस्, यही हो साथी हो' देउवाले भने, 'म कुनै पनि हालतमा डरत्रासबाट मुक्त शासन ल्याइन्छ। यो ओलीजस्ता शासनबाट मुक्ति पाउन नेपाली कांग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु। बनाइन्छ बनाइन्छ बनाइन्छ। तपाईंहरु मलाई साथ दिनुस् धन्यवाद। जय नेपाल,' देउवाले भने।

सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेल भने कमजोर देखिए। देउवाविरुद्ध लड्ने उद्घोष गरेका पौडेल संस्थापन इतरलाई अगुवा गर्दै आएका नेता हुन्। तर संस्थापन इतरमा मेल हुन नसक्दाको चोट पौडेलको सम्बोधमा झल्किन्थ्यो।

हुन त पौडेलले देउवाको विरोधमा केही भनाई राखेका थिए - तर उनको पक्षमा मासमा माहोल देखिन्नथ्यो। महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस कम्युनिस्टभन्दा पछि पर्नुको कारण पत्ता लागेर समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।

'अहिले हाम्रो गति रोकिएको छ। त्यो अवस्थाबाट अघि बढाउन पर्छ। आत्मसमीक्षा र आत्ममूल्यांकन गर्न महाधिवेन हो,' उनले भने।

महाधिवेशनबाट कांग्रेस नयाँ युगमा प्रस्थान गर्ने अठोटका साथ अघि बढ्नुपर्ने भन्दै उनले महाधिवेशन हतारमा गरिएको टिप्पणी गरे।

'यहाँ देशको परिस्थिति, नीतिबारे छलफल गर्नुपर्ने थियो। तर, समयमा अधिवेशन गरेनौँ। छलफल गरेनौँ। व्यवस्थित अधिवेशनको कार्यतालिका बनाएनौँ। हडबडमा भयो,' पौडेलले भने।

सभापति एवम् पार्टी सभापति देउवाकै अघिल्तिर उनले सरकार अस्तव्यस्त भएको आरोप पनि लगाए। 

'संसद चलेको छैन। सर्वोच्च अस्तव्यस्त छ। सरकार अस्तव्यस्त छ। सरकार गतिहीन अवस्थामा छ। पार्टीको गति रोकिएको छ। अब कांग्रेसलाई सही गतिमा ल्याउनुपर्छ। कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ।'

कांग्रेसको भविष्य निर्धारण गर्नुपर्ने भएकाले उनले प्रतिपक्षसँग सामना गर्न सक्ने कांग्रेस बनाउने गरी निर्णय गर्नुपर्ने बताए।

शशांकले उचाले धार्मिक स्वतन्त्रताको कुरा

महामन्त्री शशांक कोइरालाले बेलाबेला हिन्दु धर्मको पक्षमा धारणा राखेको समाचारहरु आउँछन्। विवादमा आएपछि शशांकले त्यस्को खण्डन गर्छन्। यही विषयमा इंगित गर्दै शशांकले महाधिवेशन उद्घाटन सम्बोधनमा आफ्नो भनाई राखे। उनले संविधानमा राखिएको धर्म निरपक्षेताको विरोध गरे। र धार्मिक स्वतन्त्रताको कुरा राखे।

उनले भने, ‘धर्म निरपेक्षता शब्द ठिक होइन, धर्म निरपेक्ष हुँदैन, धर्म सापेक्ष पनि हुँदैन। धर्म स्वतन्त्र हुन्छ।’ यस विषयमा यतिभन्दा धेर आफूले नबोल्ने उनको भनाई थियो

उनले संविधानमा भएको विषय परिवर्तन हुँदै जाने पनि बताए। महाधिवेशन नेतृत्व चुन्ने कुरामा मात्रै केन्द्रित भएको भन्दै उनले नीतिको बारेमा पनि चर्चा हुन आवश्यक रहेको बताए। त्यसैगरी उनले कृषिमा जोड दिनुपर्ने धारणा राखे।

गच्छदारको गुनासै गुनासो

पार्टी उपसभापति गच्छदारले मेरो भन्नुपर्ने धेरै कुरा छ भन्दै गुनासै-गुनासा सुनाए। ९औं महाधिवेशनमा देउवा र पौडेल आफ्नो समकक्षी रहेको गच्छदारको भनाई थियो। रेल्वलगढीमा भएको महाधिवेशनमा पूर्वाञ्चल विकास क्षेत्रबाट आफू सभापतिमा चुनिएको उल्लेख गर्दै त्यतिबेला पौडेल गण्डकीबाट र देउवा सुदूरपश्चिमबाट विकास क्षेत्र सभापतिमा चुनिएको गच्छदारले बताए।

कांग्रेसलाई सुदृढ बनाउने लोकतान्त्रिक फोरम नै ल्याएको बताउने गच्छदारले आफूले देउवा र पौडेलको हात मिलाइदिएको विषयसमेत स्मरण गराए। मिल्दै मिल्दै बलियो भएको कांग्रेसमा अहिले नेताहरु प्रतिशोधात्मक प्रतिस्पर्धामा उत्रिएको उनको भनाई थियो। यसले कांग्रेसलाई क्षति गर्ने उनको दाबी थियो। गच्छदारले झन्डै आधा घण्टा लगातार बोल्दा उनको पोडियममा पटक-पटक सम्बोधन छोट्याउन भन्दै विश्वप्रकाश शर्माले चिट लगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell