PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बुधवार राति शशांकको दूत बालुवाटारमा, देउवाले के गरे प्रस्ताव?



पहिलोपोस्ट

बुधवार राति शशांकको दूत बालुवाटारमा, देउवाले के गरे प्रस्ताव?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब निर्वाचनतर्फ अघि बढेको छ। कांग्रेस नेतृत्वमा को आउँछ? सबैको चासोको विषय हो यो।

शनिवार बिहानसम्म सभापतिमा हालका सभापति शेरबहादुर देउवासँग टक्कर दिने उम्मेद्वारको तय भएको छैन। सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका गोपालमान श्रेष्ठ ब्याक भइसकेका छन्। उनले देउवालाई नै साथ दिने वचन दिइसकेका छन्।

यता उपसभापति विमलेन्द्र निधिले संस्थापनबाटै देउवालाई चुनौती दिएका थिए। तर उद्घाटनसत्रमा उनले मत माग्न सकेनन्। बरु उनले उद्घाटनकै दिन देउवाले मानेमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने प्रस्ताव राखे।

पौडेललाई आफैले अगुवाई गरिरहेको समूहबाट साथ मिलिरहेको छैन। प्रकाशमान सिंह, डा. शेखर कोइरालको अडान आफ्नै छ। यसमा लचक देखिएका दाबेदार महामन्त्री डा शशांक कोइरालामात्र हुन्। उनले पौडेलका लागि भए आफू दाबी छाड्ने बताइरहेका छन्।

यद्यपि शनिवार बिहानसम्म कुनै नेताबीच सहमति जुट्न सकेको छैन। केहीबेर पछि उम्मेद्वार मनोनयन हुँदैछ।

यसबीचमा नेताहरुबीच बिहानदेखि मध्यरातसम्म उम्मेद्वार छिनोफानोका लागि रस्साकस्सी चलिरहेको छ।

देउवाको प्लान - दोस्रो राउन्डमा चुनाव जान नदिने

शुक्रवार भृकुटीमण्डपमा आफूलाई दोस्रो कार्यकालका लागि मत मागेका देउवाले पहिलो राउन्डमै आफू जित्ने गरी तयारी थालेको बालुवाटार स्रोतको दाबी छ। यसका लागि देउवाले कृष्णप्रसाद सिटौलासँग मिलेमतो गरेर अघि बढ्ने बताइएको छ। सिटौलालाई उपसभापति दिएर एक सहमहामन्त्री पद पनि दिने सहमति भएको बताइन्छ। यद्यपि सिटौला समूहले भने गगन थापा र रामचन्द्र पौडेललाई देखाउन महामन्त्री पद बार्गेनिङ अस्त्र बनाइरहेको छ। सहमहामन्त्रीमा तनहुँकै गोविन्द भट्टराईलाई व्यवस्थापन गर्न देउवालाई मुश्किल परिरहेको छ।

यसैगरी देउवाले महामन्त्री शशांक कोइरालासँग पनि छलफल र प्रस्तावहरु अघि बढाउने क्रम जारी राखेको बताइन्छ। यससम्बन्धी छलफलका लागि बुधवार मध्यरातमा शशांकको दूत बालुवाटार आइपुगेको देउवा निकट एक नेताले बताए। बालुवाटारमा आइपुगेका शशांकको दूतको नाम भने उनले नखुलाउन आग्रह गरे।

शशांकलाई मनाएमा आफूले सजिलै पहिलो राउन्डमै निर्वाचन जित्नेमा देउवा विश्वस्त रहेको ती नेताले बताए। देउवाको पहिलो कार्यकालमा शशांकले साथ दिएका कारण देउवाले जसरी पनि शशांकलाई पनि साथ दिने ती नेताको दाबी रह्यो। भेटमा देउवाले शशांकलाई उपसभापति या महामन्त्रीमध्ये एक पद सुरक्षित रहनेगरी प्रस्ताव राखेको बालुवाटार स्रोतले दाबी गर्‍यो।

संस्थापनइतरमा पनि शशांकको माग!

यता संस्थापनइतरले पनि शशांकलाई कसैगरी फुत्काउन नहुने तयारी गरिरहेको छ। चाक्सीबारी भेलामा रामचन्द्रप्रति लचक बनेपछि शशांकप्रति सहानुभूति बढ्न थालेको बताइन्छ। पौडेल निकट स्रोतले त्यस्तै परे शशांकलाई साझा उम्मेद्वार बनाएर देउवाविरुद्ध लड्ने वातावरण बनाउनेसमेत जनायो। शशांकलाई साझा उम्मेद्वार बनाएमा सिटौलाको साख खस्कने पौडेल पक्षको दाबी छ। शशांकलाई साथमा राखेर संस्थापनइतर एक भएर लडेमा देउवालाई पहिलो राउन्डमै हराउने संस्थापनइतरको दाबी छ। शुक्रवार रक्षामन्त्री एवं महामन्त्रीका दाबेदार डा मीनेन्द्र रिजालले भने - सभापतिका लागि मतदान दोस्रो राउन्डमा जाँदैन होला। पहिलो राउन्डमै वारपार गराउने हाम्रो रणनीति छ। रिजाल संस्थापनइतरबाट महामन्त्रीमा उम्मेद्वारी दिँदैछन्।

प्रकाशमान र शेखरको आफ्नै दाबी

जिल्ला सभापतिहरुसँग भेटपछि डा शेखर कोइराला देउवाविरुद्ध लड्न हौसिएका छन्। बसुन्धरास्थित दियालो रेस्टुरेन्टमा शेखरले जिल्ला सभापतिहरुसँग छलफल गरेका थिए। कांग्रेस सुधार्न भन्दै देश दौडाहमा निस्केका कारण पनि शेखरको छबि बेग्लै भएको बताइन्छ। त्यसैले पनि संस्थापनइतरको बैठकमा शेखरले आफ्नो दाबी छाडिसकेका छैनन्। शुक्रवार राति अनुपम फुडल्यान्डबाट निस्कँदै गर्दा डा शेखरमा सभापतिमा उम्मेद्वारी दाबी नछाड्ने अडान कायमै थियो

यता प्रकाशमान सिंहले आफ्नो तयारी अगाडि बढाइसकेका छन्। देउवासँग संसदीय दलमा लडेका प्रकाशमान आफू प्राकृतिक रुपमा सशक्त उम्मेद्वार भएको दाबी गर्छन्। मन्त्रिमण्डल विस्तारमा पौडेल समूहले आफू निकट नेतालाई सिफारिस नगरेपछि प्रकाशमान रुष्ट बनेका हुन्। त्यसबेलादेखि रुष्ट बनेका प्रकाशमान पौडेलको कुरा मान्न तयार देखिन्न्। 'सधै कोइराला कोइराला, पौडेल पौडेल भनेर कति कुद्ने? कति छाड्ने,' प्रकाशमान निकट एक नेताले भने, 'यसपटक एक्लै भए पनि प्रकाशमान सभापतिमा भिड्नुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell