
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रले दुई ठूला पार्टी भन्दा ठूलो भेला र सम्मेलन गर्नसक्ने बताएका छन्। उनले एमालेको महाधिवेशनलाई पञ्चर्याली भन्दा केही नभएको भन्दै उनले त्यो भन्दा ठूलो भेला गर्नसक्ने दाबी गरे।
'आठ लाख पार्टी सदस्य भएको पार्टी भएका छौँ। चार लाखलाई उर्दी जारी गर्यौँ भने त जुन सुकै दलको महाधिवेशन भन्दा ठूलो मेला त लगाउन सक्छौँ। कतिले त भन्नुभयो ठूलै गर्यौँ। तर त्यो पनि गरौँला अहिले हामीले पार्टीलाई क्रान्तिकारी बनाउनु छ। विचारलाई विकास गर्नु छ,' प्रचण्डले भने।
पार्टीको सात भौगोलिक र दुई गैर भौगोलिक प्रदेश सम्मेलन काठमाडौंबाट उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
'केही समयअघि तपाईँले देख्नु भयो नि एमालेको महाधिवेशनलाई म पञ्च र्याली भन्दा केही देख्दिन। तपाईँले देख्नु भयो त्यहाँ न विचारको बहस भयो। न त देश बनाउने बहस भयो। खाली त्यहाँ व्यक्ति पूजा गरियो। सिद्धान्त हिनताको प्रदर्शन गरियो। मार्क्सवादको म पनि उच्चारण भएन्। समाजवादको स पनि उच्चारण भएन,' उनले भने।
उनले जारी कांग्रेसको महाधिवेशनमा पनि देश बनाउने विषयमा छलफल नभएको बताए।
'मैले हिजो भनेको थिए। समीक्षा गरौँ। तर हिजो उद्घाटन आज मनोनयन भोलि निर्वाचन हुँदैछ। न देश बनाउने छलफल भयो खाली पदको मात्र कुरा चल्दै छ,' उनले भने, 'त्यहाँ राष्ट्र कस्तो बनाउने। इतिहासको समीक्षा छैन। हाम्रा कमजोरी कहाँ भयो समीक्षा छैन।'
प्रचण्डले पार्टीलाई रुपान्तरण गर्दै थप क्रान्तिकारी बनाउँदै लैजाने बेला भएको र पार्टीलाई क्रान्तिकारी बनाइसकेपछि ठूला भेला गर्न सकिने उनले बताए।
उनले आफूहरु मिसन भड्किएका यात्री जस्ता भएको बताए।
'हामी कहीँ न कहीँ उद्देश्यबाट विचलित हुन थालेका हौँ कि? जनयुद्धका बेला जनताका माझमा गरेको प्रतिवद्धता गरेका थियौँ। हामीले जे भनेका थियौँ, त्यही बाटो हिँडिरहेका छौँ त? या हामीले जनतालाई विस्तारै विस्तारै उनीहरुका सपना शहीदहरुका सपना वेपत्ताका त्याग तपस्या पूरा गर्ने तर्फ हामी अगाडि बढेका छौँ त?,' उनले भने, 'या हामी पनि विस्तारै विस्तारै बुर्जुवा पार्टीको जस्तै भित्र भित्रै गुट बनाउँदै जान थालेका छौँ त। हामी कहीँ न कहीँ समस्या देखिएको छ। कहीँ न कहीँ हामी बाटो बिराए जस्तो भएका छौँ। हामी कहीँ न कहीँ हाम्रो मिसनमा भड्किएका यात्री जस्ता भएका छौँ।'
उनले संसदीय राजनीतिमा जाँदा कहीँ न कहीँ धुलो मैलो लागेको स्वीकार गरे।
'हामी केही न केही विचारमा अस्पस्ट त भएका छौँ। हामीभित्र अराजकता बढ्दै गएको छ,' उनले भने, 'तर आजको राष्ट्रिय सन्दर्भ हेर्दा हाम्रो पार्टी नै त्यस्तो पार्टी हो जसले फेरि राष्ट्रिय एकतालाई अगाडि बढाउन सक्छ। यो महान आन्दोलनको नेतृत्व गर्ने पार्टी नै हाम्रो हो। हामीले पार्टीलाई रुपान्तरण गरेर क्रान्तिकारी पार्टीको रुपमा समाजवादी आन्दोलनलाई विकास गरेर विश्वलाई समाजवादी अभियान दिनुपर्छ। अरु कुनै पनि पार्टीले गर्न सक्दैन।'