PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

रामचन्द्र पौडेलको समर्थन शेखरलाई, तर मत माग्न र भोट हाल्न नआउने



पहिलोपोस्ट

रामचन्द्र पौडेलको समर्थन शेखरलाई, तर मत माग्न र भोट हाल्न नआउने

काठमाडौँ: लामो प्रयासमा पनि आफूले अगुवाइ गरेको समूह मनाउन नसक्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिए। महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई मनाएर आफू साझा उम्मेद्वार बन्ने धोको थियो वरिष्ठ नेता पौडेलको।

तर लामो समयको प्रयासमा पनि उनी सफल हुन सकेनन्। त्यसपछि चाक्सीबारी भेलामा उनले धम्क्याएको कुरातिरै अगाडि बढेका छन् पौडेल। मंसिर २२ गते प्रकाशमान निवास चाक्सीबारीमा बसेको बैठकमा पौडेलले संस्थापन इतरका नेताहरुलाई सहमति नभए आफूलाई पार्टीबाट बिदा दिन भनेका थिए।

१४औं महाधिवेशन चल्दै गर्दा सिन लगभग त्यस्तै देखियो। पौडेलले १३औं महाधिवेशनबाट चुनिएको कार्यसमितिको अन्तिम बैठकमा गएनन्। त्यसपछि उनी शुक्रबार महाधिवेशन उद्घाटनमा पनि नआउने मनस्थितिमा पुगेका थिए। नेताहरुको दबाबका कारण उनी उद्घाटनस्थल आइपुगेको बोहोराटार स्रोतले जनायो।

प्रकाशमानसँग रोष

नेता पौडेलले सर्वसम्मत उम्मेद्वार बनाउन निकै प्रयास गरेका थिए। त्यसमा डा शशांक र डा शेखर केही लचक पनि भएका थिए। तर प्रकाशमानले भने पौडेललाई यसअघि नै अवसर छाडिसकेकाले यसपटक छाड्न नसकिने अडान दोहोर्‍याए। तेहेर्‍याए। नमिली गए शेरबहादुर देउवालाई हराउन सकिन्न भन्ने यो समूहको स्पष्ट आकलन थियो। त्यसैले प्रकाशमानसँग कुरा नमिलेपछि पछि हटे पौडेल। शनिबार उम्मेद्वार मनोनयन चल्दै गर्दा पौडेलले एक विज्ञप्ति जारी गरेर महाधिवेशन युद्धमा हात उचाले।

'प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धा को मैदान छोड्नपर्ने अवस्थामा म पुगेँ,' पौडेलले प्रेस विज्ञप्तिमा भनेका छन्।

पौडेलको चित्त दुखाई प्रकाशमानसँगमात्र भएको निकट एक नेता बताउँछन्। अब पौडेलको समर्थन शेखरलाई हुने ती नेताले बताए। 'उहाँले वाकओभर दिइसक्नुभयो। अब डा. शेखरलाई उहाँको साथ रहन्छ,' ती नेताले भने, 'उपसभापति, महामन्त्रीदेखि सहमहामन्त्रीका उम्मेद्वार पौडेल निकट नेताहरु नै भएकोले यो देखाउँछ।'

भोट हाल्न नजाने

डा शेखरको टिमलाई सघाए पनि पौडेल महाधिवेशन प्रक्रियामा अब सहभागी नहुने बोहोराटार स्रोतले जनाएको छ।

'उहाँ महाधिवेशन प्रक्रियामा सहभागी हुन जानुहुन्न। त्यो भनेको भोट हाल्न नजाने भनेको हो,' स्रोतले भन्यो।

महाधिवेशनस्थलमै नजाने भएकोले मत माग्ने कुरा पनि नभएको पौडेलको सचिवालयको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell