PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुई महामन्त्रीका लागि भिड्दैछन् पाँच जना, कसको पोजिसन के?



नेत्र तामाङ

दुई महामन्त्रीका लागि भिड्दैछन् पाँच जना, कसको पोजिसन के?

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। विधानअनुसार २ महामन्त्री निर्वाचित हुनेमा यस पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ।

दोस्रोपटक सभापतिका लागि उम्मेद्वारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा टिमबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार हुन्।

डा शेखर कोइराला नेतृत्वको टिमबाट रक्षामन्त्री डा मीनेन्द्र रिजाल र गगन थापा महामन्त्रीमा भिड्दैछन्। यसैगरी, प्रकाशमान सिंह टिमबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा टक्कर दिँदैछन्।

विश्वप्रकाशलाई प्रकाशमानको भर

१३औँ अधिवेशनबाट चर्चामा आएका थिए नेता विश्वप्रकाश शर्मा। झापाका शर्माले चुनावमा कांग्रेस हारेपछि पूर्व-पश्चिम अभियान थाल्ने तयारी गरेका थिए। कांग्रेसलाई सुदृढ पार्ने योजना लिएर आफू अभियानमा लाग्ने बताएका उनी देउवाको नजरमा परे। देउवाको कार्यसमितिमा प्रवक्तामा बढुवा भए। त्यसपछि उनी विस्तारै देउवाका विश्वासपात्र बने। पार्टीमा पोजिसन बन्दै गएपछि उनले १४औँ महाधिवेशनमा देउवा टिमबाटै महामन्त्रीमा दाबी पेश गरे। तर, विभिन्न स्रोतका अनुसार देउवाले उनलाई पटकपटक सहमहामन्त्री बस्न भनेका थिए।

देउवाको पहिलो कार्यकालको अन्तिम केन्द्रीय समितिमा खुलातर्फ सहमहामन्त्री पद सिर्जना भएको भए सायद विश्वप्रकाशले यही पद रोज्थे। तर, उक्त पद सिर्जना भएन र महामन्त्रीको उम्मेद्वारीबाट उनी पछि हटेनन्। त्यसपछि उम्मेद्वारी मनोनयनका बेला विश्वप्रकाश प्रकाशमानको छहरी खोज्न पुगे। विश्वप्रकाश अहिले प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका छन्। टिम फेर्दै प्रकाशमानको टिममा पुगेका विश्वप्रकाशलाई महामन्त्री पदमा विजयी हुन निकै मुश्किल हुने महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ।

प्रकाशशरण र प्रदीप कति बलियो?

देउवा टिमबाट महामन्त्रीमा दाबी गर्ने विश्वप्रकाशसहित दर्जन थिए। बालकृष्ण खाण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र डा प्रकाशशरण महत पनि यो लाइनमा थिए। अन्तिममा बाजी मारे महतले। महत देउवा प्यानलबाट बलिया उम्मेद्वार हुन् महामन्त्रीका। संस्थापनइतरको भागमा परेको सहमहामन्त्री पद पाएका महत देउवालाई साथ दिँदै बलिया बने। यद्यपि, उनीमाथि पनि असन्तुष्टिका भारीहरु धेरै रहेको महाधिवेशन प्रतिनिधिहरुकै आरोप छ। यद्यपि, देउवाको प्यानलबाट भोट क्रस नभए उनको जित सुनिश्चित हुने बताइन्छ।

देउवाले महामन्त्रीको एक पद संस्थापनइतरको लागि खाली राखेका थिए। त्यसमा अटाए कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेल। सिटौलाले आफूलाई साथ दिनेलाई अघि बढाउने उद्घोष उद्घाटन मञ्चमै गरे। पूर्व महामन्त्री तीन जना मञ्चमा हुँदा उद्घाटनमा सिटौलालाई मात्र बोल्न दिइएको थियो। प्रकाशमान र तारानाथ रानाभाटलाई बोल्न दिइएन। यही मौकामा सिटौलाले गगन थापामाथि प्रहार गर्न भ्याएका थिए। सिटौला टिमबाट महामन्त्रीको टिकट पाएका पौडेललाई धेरैले जुनियर नेता भएको तर्क गर्छन्।

‘गगन थापालाई बच्चा भन्नेहरुले प्रदीपलाई उठाए’, महाधिवेशनस्थलमा प्रतिनिधिहरुको कुरा सुन्थे, ‘कस्तो अस्तव्यस्त टिम बनाएछ।’

देउवा टिममा भोटिङ क्रस नभए पौडेलको जित्ने सम्भावना भने उत्तिकै बलियो भएको नेताहरु बताउँछन्। तर, सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ को भोटलाई प्रदीपले अड्याउन सक्नुपर्ने विष्लेशन प्रतिनिधिहरुको छ।

मिनेन्द्र र गगन कति बलिया?

कोइराला टिमबाट महामन्त्रीको चुनावी मैदानमा छन् मिनेन्द्र र गगन। यो टिममा रहेकामध्ये गगन त्यस्ता उम्मेद्वार हुन् जसमाथि युवाहरुको क्रेज कायम छ र वृद्धहरुको पनि उस्तै भरोसा। गगनले सिटौला टिम छाडेर संस्थापनइतरबाट महामन्त्रीमा उम्मेद्वारी तयारी गरेको धेरै दिन भइसक्यो। महाधिवेशनस्थलमा पनि गगनले सशक्त तरिकाले मत मागिरहेका छन्। संस्थापन पक्षले प्रदीप पौडेल उम्मेद्वार बनाएकाले गगनको सम्भावना निकै बलियो हुँदै गएको बताइन्छ। यद्यपि, यसका लागि गगनले थप मेहेनत गर्नुपर्ने देखिन्छ।

रक्षामन्त्री मीनेन्द्र पनि महामन्त्रीको दौडमा छन्। डा शेखरको टिममा रहेका उनलाई पनि महामन्त्रीका बलिया दाबेदारका रुपमा हेरिएको छ। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका निवर्तमान महामन्त्री डा शशांक कोइरालाको बलियो साथ रिजाललाई रहेको छ। देउवा टिममा चुलिएको असन्तुष्टि मिनेन्द्रतिर पोखिए उनको पनि महामन्त्रीको यात्रा पूरा हुने महाधिवेशन प्रतिनिधिहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell