PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

कांग्रेस नेतृत्वमा दाबी गर्ने को हुन् युवराज? देउवामाथि आरोप : शेरबहादुरजी 'बुख्याँचा उम्मेद्वार'



प्रकाश भण्डारी

कांग्रेस नेतृत्वमा दाबी गर्ने को हुन् युवराज? देउवामाथि आरोप : शेरबहादुरजी 'बुख्याँचा उम्मेद्वार'
फोटो : चर्चित ढुङेल

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। शनिवार ५ बजेसम्म तोकिएको मनोनयनको अवधिमा ६ जनाले उम्मेद्वारी दर्ता गरेका हुन्। शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिका लागि उम्मेद्वारी दिएका छन्। ६ जना मध्येका सबैभन्दा कान्छा सभापतिका आकांक्षी हुन् गोरखाका युवराज न्यौपाने।  

एक्लै उम्मेद्वारी, छैन सम्पर्क कार्यालय

अरु उम्मेद्वारभन्दा न्यौपाने केही भिन्न छन्। तामझामका साथ अरुले मनोनयन दर्ता गर्दा न्यौपानेले भने एक्लैले दर्ता गराए। अर्थात उनको महाधिवेशनमा प्यानल छैन्। उनी अरु उम्मेद्वार भन्दा भिन्न हुनुको अर्को कारण हो-उमेर। ४० वर्षका न्यौपाने ६ जनामध्ये कान्छो हुन्।

शनिवार सवा २ बजे उम्मेद्वारी दिएका न्यौपानेले घोषणा भने २ हप्ता अगाडि नै गरिसकेका थिए। प्राय कांग्रेस महाधिवेशनका उम्मेद्वारले सम्पर्क कार्यालय खोलेर कार्यकर्तासँगको भेटघाटलाई तीब्र बनाइरहेको भए पनि उनको भने कार्यालय छैन। '२ हप्ता अगाडि घोषणा गरेको थिए। सम्पर्क कार्यालय केही छैन,' उनले भने।

जित्ने आधार के?

गोर्खा आरुघाट गाउँपालिका वडा नम्बर ८ घर भएका न्यौपाने उमेरले कान्छो भए पनि पार्टीमा क्रियाशिलताका हिसाबले भने आफू पाको भएको दाबी गर्छन्। उनीसँग प्रवासमा बसेर काम गरेको उनुभव छ। 'पार्टीमा म २० वर्ष क्रियाशील भएर बसे। कलेजमा पढुन्जेलमात्रै नेविसंघमा बसे। मेरो त्रिचन्द्र र ल कलेजमा पढाइ थियो। ल बाट एलएलबी गरे। बिचमा व्यापारका लागि चाइना बसियो। नेपाली कांग्रेसमा प्रवासी जनसंगठनको संस्थापक महामन्त्रीका रुपमा काम गरें,' उनले भने।

उनको मुख्य मुद्दा कांग्रेसको अहिलेको संगठन निर्माण प्रक्रियामा छ। नेपाली कांग्रेसको सांगठनिक ढाँचामा वैज्ञानिक रुपमा परिवर्तन गर्नुपर्ने मत राख्छन् उनी। आफ्नो जितका लागि २८ मुद्दा बनाएको र तिनै आधारमा सभापतिमा विजयी हुने उनको दाबी छ।

'मैली केही मुद्दाहरु बनाएको छु। २८ वटा छन् ती। आर्थिक सामाजिक कुराहरु छन्। तिनै हुन मेरा जित्ने आधार,' उनले भने।

'फिर्ता लिन्नँ'

अरु उम्मेद्वारको दाँजोमा उनी नाम सुनिएका नेता होइनन्। त्यसैले उनलाई नेता कार्यकर्ताले चर्चामा आउनका लागि उम्मेद्वारी दिएको र बार्गेनिङ गर्ने आरोप लगाउँछन्। न्‍यौपानेले भने आफूले उम्मेद्वारी फिर्ता नलिने बताए। यद्यपि सभापतिका उम्मद्वार डा.शेखर कोइरालासँग पछिल्लो समय कुराकानी भइरहेको उनले बताए। 'केही चमत्कारी भएन भने मेरो उम्मेद्वारी फिर्ता हुन्न। अरु साथीहरुले केही इच्छाशक्तिहरु देखाउनु भएको छ। त्यो पनि ठीकै छ। उहाँहरु भन्दा अब्बल रुपमा मैले आफ्ना मुद्दाहरु अगाडि बढाएको छु,' उनले सुनाए।

उनले कोइरालाले आफ्ना मुद्दाको ओनरसिप लिने प्रतिवद्धता जनाएको बताए। 'शेखर कोइरालाले तपाइको मुद्दाको ओनरसिप लिन्छु भन्नुभएको छ,' उनले भने। आफ्नो टार्गेटमा युवा पुस्ता मात्रै नभएको उनको भनाई थियो। न्यौपानेले भने, 'मेरो टार्गेट युवामात्रै होइन एजेण्डाले सबै वर्गलाई समेटेको छ। अभिभावकीय पार्टीका रुपमा स्थापित भएकाले सबै खालका उमेर समूहका  मान्छेलाई समेट्नुपर्छ भन्ने छ।'

देउवा 'बुख्याँचा' उम्मेद्वार

देउवाको उम्मेद्वारलाई न्यौपानेले 'बुख्याँचा'को संज्ञा दिएका छन्। देउवासँग कुनै विषयबस्तु नभएको र फेरी अवसर प्राप्त गर्नका लागि मात्रै उम्मेद्वार बनेको उनको आरोप छ।

'शेरबहादुरजी भनेको बुख्याँचा उम्मेद्वार हो। उहाँहरुसँग कुनै मुद्दा छैन्। राजनीतिमा पटकपटक लाभ लिएका कारण अझै लाभ लिनका लागि उम्मेद्वार हुनु भएको हो। म नेपाली कांग्रेसको संगठनलाई सुधार गर्दै नेपाल राज्य सत्तामा पुगेदेखि देशलाई समृद्धिको मार्गमा पुर्‍याउने दृष्टिकोणसहित आएको उम्मेद्वार हो,' उनले भने।

टिकट वितरणमा अमेरिकी राष्ट्रपतीय मोडल

उनको समर्थकमा कल्पना मल्ल ठकुरी र प्रस्तावकमा लक्ष्मी सिलवाल छन्। आफूले जितेमा कांग्रेसलाई मास बेस पार्टी बनाउने उनले बताए। अहिले कांग्रेसमा दुई खालको सदस्यता रहेको र त्यसलाई एउटै बनाउनुपर्ने उनको भनाइ छ। उनको प्रतिबद्धतामा टिकट वितरणमा अमेरिकी राष्ट्रपतीय प्रणाली अपनाइने र अधिकार कार्यकर्ताले दिने उल्लेख छ।

'मास बेस पार्टी बनाउन पर्छ। सदस्यता २ खालको छ त्यसलाई एक खालको बनाउनुपर्छ। पार्टीको टिकट दिने सिस्टममा अमेरिकी प्रेसिडेण्ट मोडलबाट अगाडि बढाउनु पर्छ। अधिकार कार्यकर्ता जनतालाई दिनुपर्छ संसदीय बोर्डलाई मात्रै अधिकार दिनुहुन्न भन्ने छ,' न्यौपानेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell