PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

'वाक ओभर' नै दिनुपर्ने अवस्थामा कसरी पुगे रामचन्द्र पौडेल? कसरी चुँडियो उनको 'चेन'?



नेत्र तामाङ

'वाक ओभर' नै दिनुपर्ने अवस्थामा कसरी पुगे रामचन्द्र पौडेल? कसरी चुँडियो उनको 'चेन'?

काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित हुनुअघि शेरबहादुर देउवा कांग्रेसका वरिष्ठ नेता थिए। उनै देउवाले रामचन्द्र पौडेललाई ५ सयभन्दा धेरै मतान्तरले पराजित गर्दै सभापतिको कुर्सी ४ वर्षका लागि सुरक्षित गरे। अनि पौडेल बने वरिष्ठ नेता।

त्यतिबेला देउवालाई सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले साथ दिएका थिए।

चार वर्षका लागि जितेका देउवाले कांग्रेसलाई गतिशील त बनाउन सकेनन् नै, स्थानीयदेखि आम निर्वाचनसम्म कांग्रेस नराम्ररी पराजित बन्यो। कम्युनिस्ट शक्ति एकत्रित हुँदा कांग्रेस निरिह बन्यो, नेतृत्व मुकदर्शक।

कांग्रेसको यस्तै कमजोरीविरुद्ध आवाज बुलन्द बनाइरहने रामचन्द्र पौडेल भने अहिले महाधिवेशनको प्रक्रियाबाट अलग भइसकेका छन्।

कांग्रेस किन कमजोर भयो भनेर जागरुक गराउन पौडेलले बेलाबेला जिल्ला सभापतिहरुको भेला गराइरहे। उनकै जोडबलमा हेटौंडामा जिल्ला सभापतिहरुको भेला पनि भयो।

त्यसैको प्रभाव हो नेतृत्वबाट रुष्ट भएका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्न देउवा वाध्य भए। देउवाले उनीहरुलाई फकाउनुपर्ने अवस्था ल्याउन पौडेलको 'मुभ' नै प्रमुख कारण बन्यो। पौडेलको अडानले मैमत्त शैलीमा ब्रेक लगायो, थोरै नै भए पनि लचकता देखाउन वाध्य भए पार्टी सभापति देउवा। त्यसैले जिल्ला सभापतिहरु बेलाबेलामा आन्दोलित हुन्थे, पौडेलको साथ रहन्थ्यो त्यसमा। देउवा उनीहरुको कुरा सुन्न बाध्य हुन्थे।

रामचन्द्रलाई भाग बढी मागेको आरोप !

कांग्रेसमा १३ औं महाधिवेशनपछि देखिएको बलियो समूह हो - देउवा र पौडेल। देउवाले संस्थापन पक्षको अगुवाइ गर्दा पौडेलले संस्थापनइतरको अगुवाइ गरे। तेस्रो समूहमा सिटौला छँदै थिए। जब महाधिवेशन सकियो, सह महामन्त्री चयनको समय आयो। देउवाले पौडेल पक्षलाई सह महामन्त्रीमा उनी पक्षका नेताको नाम दिन आग्रह गरे। तर, पौडेलले सह महामन्त्री जस्तो 'कमजोर पदाधिकारी'मा नाम नदिने अड्डी कसे।

त्यसो त पौडेलकै टिमबाट महामन्त्रीमा शशांक कोइराला निर्वाचित भएका थिए। यता, कोषाध्यक्ष सीतादेवी यादव पनि पौडेलतिरकै थिइन्।

मनोनित हुने एक महामन्त्रीमा देउवाले पूर्णबहादुर खड्कालाई रोजेपछि पौडेल खेमाले निहूँ खोज्यो र सह महामन्त्री पदमा कसैको नाम सिफारिस गरेन। त्यसपछि मौका पाए डा प्रकाशशरण महतले। पौडेल पक्षका एक नेताले पदाधिकारीमा पद गुमाए।

तोकिएका पदहरु रिक्त रहनु नेपाली कांग्रेसको संस्थगत 'रोग' हो। त्यही रोग देउवा नेतृत्वमा पनि जारी रह्यो। पार्टीमा लामो समय विभागहरु गठन हुन सकेन। यसको विरोधमा पटकपटक पौडेलले आवाज उठाएका थिए। ढिलै नै सही, देउवाले ती विभागहरु गठन गरे, विस्तार गरे। गठन र विस्तार दुवैमा पौडेल समूहसँग देउवाले नाम पनि मागे। यता, देउवाले आफ्नो खेमाका नेताहरुलाई धमाधम विभागका संयोजक तोक्न थाले। तर, पौडेलले आफ्नो समूहका कसैलाई पनि जिम्मेवारी दिएर विभागहरुमा पठाएनन्। यसमा पौडेलको भनाई थियो - विधान र प्रक्रिया विपरीत गठन गरिएका विभाग खारेज हुनुपर्छ।

बिस्तारै कांग्रेसमा पौडेलको आवाज सुनिन छाड्यो। आकांक्षी नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा पौडेलसँग उनकै समूहका नेताहरु विस्तारै रुष्ट हुँदै गए। विभिन्न छलफलका क्रममा पौडेल समूहका नेताहरुले आफ्नै अगुवाको कुरा काट्नेक्रम बढ्न थाल्यो। महाधिवेशन नजिकिँदा त्यो क्रम झन् झाँगियो। सभापतिमा पाँच-पाँच जनाको आकंक्षा देखियो। प्रकाशमान सिंह, डा शशांक कोइराला, डा शेखर कोइराला, सुजाता कोइराला र स्वयं पौडेल संस्थापनइतरबाट सभापतिमा भिड्ने तयारीका साथ आ आफ्नै हिसाबले उत्रिए।

सुजाता कोइराला मन्त्री बन्न नपाएको झोकमा उनको समूह रुष्ट थियो। प्रकाशमान आफूले सिफारिस गरेको नेताको नाम मन्त्रिमण्डलमा नपरेपछि तिलमिलाइरहेका थिए। शशांक र शेखर लचक बने पनि सर्वसम्मत अघि बढ्ने अवस्था नदेखेपछि पौडेलले निकै लामो मेहनत गरे। सबैका नौनाडी छामे। आफू अघि बढ्न नसक्ने देखेपछि उम्मेद्वार मनोनयनका दिन पौडेलले 'वाक ओभर' दिए।

आफ्ना समूहका नेतालाई समय अनुसार व्यवस्थापन गर्न नसक्दा पौडेल बिस्तारै कमजोर बन्दै गएको उनी पक्षका नेताहरुको विश्लेषण छ। अहिले पौडेलले डा शेखर कोइरालाको टिमलाई समर्थन गरेका छन्। यद्यपि, पौडेल भोट माग्न र भोट हाल्न भने महाधिवेशन स्थलमा नआउने बताइएको छ।

महामन्त्री र कोषाध्यक्ष पनि कमजोर !

केन्द्रीय समितिमा रहेका आफ्ना समूहका पदाधिकारीको प्रस्तुति कमजोर हुँदा पनि पौडेललाई घाटामाथि घाटा लागिरह्यो। महामन्त्री डा शशांक कोइराला पार्टी सभापति देउवाको प्रतिरक्षामा उत्रिरहे सकेसम्म। तीनै तहको निर्वाचनमा लज्जास्तपद पराजय हुँदा पनि त्यसको जिम्मेवारी लिन देउवाले रुचाएनन्। उनीसँगै शशांकले पनि साथ दिए - हारको जिम्मा सिंगो कांग्रेसले लिनुपर्ने भन्दै। यता, कोषाध्यक्ष रहेकी सीतादेवी यादवको पर्फमेन्स फितलो रह्यो। यसले गर्दा देउवाले महामन्त्रीमा नियुक्त गरेका पूर्णबहादुर खड्कासामु अवसरहरु बढे र उनले त्यसलाई निभाए पनि।

खड्काले देउवालाई राजनीतिक देखि रणनीतिकसम्मका सल्लाह दिन्थे। यता, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार पनि देउवा अनुकुल नै थिए। यसपछि त देउवाले कार्यसमितिमा आफ्नै डाडुपन्यु चलाउँदै गए - एकलौटी रुपमा। पदाधिकारी बैठक होस् या केन्द्रीय समिति, आफ्नै आँगनमा राखेर सबै नेतालाई बुढानीलकण्ठ धाउन बाध्य बनाए।

बदलियो परिस्थिति

देउवाको नेतृत्वमा सबै निर्वाचनमा कांग्रेसले पराजय भोगिरहँदा जसरी पौडेलले चर्को विरोध गरेका थिए, अहिले परिस्थिति ठीक बदलिएको छ। देउवा पुन: सत्तामा छन् भने कम्युनिस्ट पार्टी चोइटिएको छ। चुनावमा एक भएका कम्युनिस्ट पार्टीहरु अहिले फेरि तीन टुक्रामा विभाजित छन्। देउवाले उल्लेख्य काम नगर्दा नगर्दै पनि परिस्थितिले सबैभन्दा शक्तिशाली उनी नै बन्दै गए। यतिखेर देउवाको पोजिसन सबैभन्दा बलियो बन्यो।

यस्तै अवस्थामा देउवालाई सिटौलाले काँध थापेका छन्। आफ्नो समूहबाट देउवाको टिममा महामन्त्रीमा प्रदीप पौडेल र सह महामन्त्रीमा उमाकान्त चौधरीलाई ठाउँ बनाउन सिटौला सफल रहे। केन्द्रीय समितिको कुनै पनि पदमा सिटौलाले उम्मेद्वारी दिएका छैनन्। यसले पनि सभापति पदका लागि देउवा बलियो हुँदै गएको कांग्रेस नेताहरुको बुझाई छ।

त्यसो त, उद्घाटनसत्रमै देउवाले आफ्नो वक्तव्यमार्फत् चित्रण गरे - बलियो छु भनेर। देउवाले आफूलाई सभापतिमा पुन जिताउन मत माग्दै भने : मलाई जिताए स्थानीय सरकार कांग्रेसको बन्छ, राष्ट्रिय सरकार पनि कांग्रेसको बन्छ। उनको आत्मविश्वास सहितको उद्‍घोषका अघिल्तिर पौडेलको प्रस्तुती फितलो सुनियो।

शेखरको नियति यस्तो नहोस्

पौडेल पक्षको नेताको गम्भीर आरोप छ आफ्नै समूहका नेताहरुमाथि। देउवा टिमका नेताले चेन अफ कमान्ड माने तर पौडेल पक्षका नेताहरु नेतृत्वलाई नै विद्रोह गर्न तम्सिए। अर्थात्, प्रकाशमानले टेरेनन्। कोइराला समूहले पनि पौडेललाई साथ दिएन।

यसपटकको उम्मेद्वारीले त्यस्तै देखायो पनि। देउवा टिमबाट महामन्त्रीका बलिया दाबेदार मानिएका बालकृष्ण खाण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की चुप बसे। केन्द्रीय सदस्यमै उम्मेद्वारी दिएर उनीहरु देउवालाई जिताउन लागिपरेका छन्। परराष्ट्र मन्त्री रहेका डा नारायण खड्काले त अझ केन्द्रीय सदस्यमा पनि उम्मेद्वारी दिएनन्।

यता, पौडेल पक्षमा त्यस्तो हुन सकेन। अनि अन्तिममा केही चल्छ कि भनेर पौडेलले नेताहरुलाई धम्कीपूर्ण शैलीमा सुनाए - 'कसैले नमाने राजनीतिबाट सन्यास लिन्छु। मलाई बिदा दिनुस्।' पौडेलको धम्की अहिले आएर वास्तविकतामा परिणत भएको छ। छताछुल्ल उम्मेद्वारीले पौडेल समूहतर्फ 'चेन अफ कमान्ड' बिग्रिएको महाधिवेशन प्रतिनिधिहरु नै बताउँछन्। अहिलेको अवस्थाले भोलि देउवालाई पनि मुस्किल पर्ने उनीहरुको बुझाई छ। पौडेल पक्षका ती नेताको भनाई थियो, 'अहिले पौडेलले जे नियति भोगिरहेका छन्, भोलि शेखरलाई त्यस्तो नहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell