
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
'एक व्यक्ति एक जिम्मेवारी : एक पटकको लागि मेरो उम्मेदवारी' नाराका साथ उनले ७ महत्वपूर्ण संकल्पसहित प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।
शेखरले संविधान कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै वैचारिक स्पष्टता, सुदृढ संगठन र विधानको पूर्ण पालना गर्ने संकल्प पत्रमा उल्लेख गरेका छन्। यस्तै, क्रियाशील र जिम्मेवार भातृ एवम् शुभेच्छक संगठन निर्माण गरेर अनुभव र उर्जा सहितको सशक्त कांग्रेस निर्माण गर्ने संकल्प समेत उनले लिएका छन्।
बीपी कोइरालाको समाजवादको विचारलाई आत्मसमाथ गर्दै पार्टीमा जनचासोकको विषयलाई सम्बोधन गर्न 'पब्लिक फोरम' निर्माण गर्ने समेत उनले उल्लेख गरेका छन्। यस्तै, सभापतिमा निर्वाचित भए पार्टीका सबै विभागको गठन ६ महिना भित्र गर्ने र त्यसमा व्यक्तिको क्षमता, अनुभव र उर्जा हेर्ने उनले बताएका छन्। उनले कांग्रेसमा धनबली, बाहुबली र चाकडी चाप्लुसीको आधारमा पाउँदै गरेको अवसरलाई अन्त्य गर्दै पार्टीमा योगदान पुर्याएकाहरुलाई अगाडि बनाउने संकल्पपत्रमा उल्लेख गरेका छन्।
शेखरले पार्टीमा जवाफदेही नेतृत्वको स्थापना गरेर पारदर्शी निर्णय गर्दै सहभागितामूलक लोकतान्त्रिक अभ्यासको विकास गर्ने समेत दाबी गरेका छन्।
पार्टीमा स्थानीय तहलाई बलियो बनाउने उनले संकल्प लिएका छन्। तल्लो तहदेखि गुट उपगुट पलाएको भन्दै शेखरले त्यस्तो परम्परालाई अन्त्य गर्दै भागवण्डालाई पनि अन्त्य गर्ने बताएका छन्। केन्द्रबाट हुने हस्तक्षेपलाई रोक्दै तल्लो तहको निकायलाई निर्णय लिन सक्षम र शक्तिशाली बनाउने उनले उल्लेख गरेका छन्। महाधिवेशनको समयमा सधैं क्रियाशील सदस्यको विवाद आउने गरेकोले आफू सभापति भए महाधिवेशनको एक वर्षअघि नै क्रियाशील सदस्यता सम्बन्धी काम बन्द गर्ने संकल्पपत्रमार्फत् शेखरले बताएका छन्।
राजनीतीको मूल्य पद्धतिमा सांस्कृति विचलन आएको उनको ठहर छ। त्यसैले कांग्रेसमा नयाँ संस्कृति निर्माण अभियान संचालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
शेखरले राजनीतिक दल र नेताप्रति नागरिकहरुको वितृष्णा बढेको बताएका छन्। त्यसैले राजनीतिलाई सम्मानित सेवाभावबाट अघि बढाउन आफूले प्रयास गर्ने शेखरको संकल्प छ। उनले देशमा कम्युनिष्ट प्रभावबाट निरंकुशताको खतरा सधैं रहने भन्दै नेपाली समाजको लोकतान्त्रिकरणका लागि कांग्रेसको इमान्दार रुपान्तरण जरुरी रहेको औंलाएका छन्।
'कांग्रेस र कम्युनिष्टको सम्बन्धबारे पार्टी भित्र व्यापक बहसलाई खुला गरिनेछ,' उनले उल्लेख गरेका छन्।
संसद र न्यायालयको अवस्था कमजोर रहेको शेखरले बताएका छन्। दुवैलाई निष्पक्ष र प्रभाकारी बनाउन कांग्रेस नेतृत्वले अघि सार्ने उनले बताएका छन्। संकल्पपत्रमार्फत् उनले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न, स्वास्थ्य चुनौती सामना गर्न, शिक्षा, रोजगार, कृषि लगायतका क्षेत्रमा गर्नुपर्ने कामहरुका बारेमा पनि अवधारणाहरु प्रस्तुत गरेका छन्।
संस्थापन इतर समूहका कोइरालले शनिवार गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउँदै शनिवार प्यानल घोषणा गरेका थिए।