काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए।
आज उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिने समय तोकिएको थियो। निर्वाचन समितिका अनुसार शनिवार उम्मेदवारी दिएका ५६ जनाले मनोनयनपत्र फिर्ता लिएका छन्। यसरी मनोनयन फिर्ता लिनेमा दुई जना पदाधिकारी र ५४ जना खुल्लातर्फका केन्द्रीय सदस्य छन्।
पदाधिकरीतर्फ युवराज न्यौपानेले सभापति पदका लागि उम्मेदवारी दिएका थिए। शेरबहादुर देउवालाई 'बुख्याँचा उम्मेद्वार' भन्दै उम्मेदवारी दिएका उनले आज मनोनयन फिर्ता लिएका हुन्। सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालालाई समर्थन जनाउँदै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
यस्तै, सह महामन्त्रीमा मनोनयन दिएका सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवार फिर्ता लिनेको संख्या बढेकाले उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। अब केही बेरमा अन्तिम नामावली आउने बताइएको छ।