PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

महाधिवेशन प्रतिनिधिलाई देउवाको आग्रह : सभापतिमा हारे भने प्रधानमन्त्रीमा बस्न मिल्दैन



पहिलोपोस्ट

महाधिवेशन प्रतिनिधिलाई देउवाको आग्रह : सभापतिमा हारे भने प्रधानमन्त्रीमा बस्न मिल्दैन

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार टिकाउनका लागि पनि पार्टीको सभापतिमा आफूलाई निर्वाचित गराउन प्रतिनिधिहरुसँग आग्रह गरेका छन्।

उनले १४ औं महाधिवेशनमा आफू निर्वाचित भएमात्र अहिलेको सरकार टिक्ने आफू पराजित भए फेरि केपी ओली सत्तामा आउने बताएका हुन्।

आइतवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन्।

‘तपाईँहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ। त्यसैले अहिलेको बेला यो कांग्रेस पार्टी जित्नु जरुरी छ। कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्नसक्छ। त्यसका लागि यो महाधिवेशन अत्याधिक महत्वपूर्ण छ,’ उनले भने, ‘अर्को कुरा म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ - राष्ट्रिय चुनावसम्मका लागि। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ।‘

उनले महाधिवेशनमा आफूलाई जिताए प्रतिनिधिहरुका सबै माग पूरा गर्ने प्रतिवद्धता जनाए। साथै पार्टी सभापतिमा हारेकाले देश के चलाउँछ भनेर प्रश्न आउने भन्दै उनले जसरी पनि जिताउन आग्रह गरे।

‘पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छन्, के प्रधानमन्त्री बन्नसक्छ भन्छ? त्यसैले अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो विरोध होइन। तर, मेरो यो अन्तिम बेला हो,’ उनले भने, ‘म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु। यदि म जितेको खण्डमा मात्रै यस पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सरकार बनाउन सक्नेछु। त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ। नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्। प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ? अघिल्लो पटक के भएको थियो हालत? त्यसकारण प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु आवश्यक छ। मैले हुन आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell