
काठमाडौं: बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा अहिले अदालतमा बयान चलिरहेको छ। एक सातादेखि अदालतमा प्रतिवादीको बयान भइरहेकोमा पूर्व अध्यक्ष तामाङको बयान लिइसकिएको छ। मिसिल अध्ययनपछि अदालतमा बयान लिने काम भइरहेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
'अहिले पनि प्रतिवादीको बयान लिने काम भइहरेको छ। अब तीन जनाको बाँकी छ,' सूचना अधिकारी दाहालले भने।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो। प्रतिवादीको बयानपछि थुनछेक बहस सुरु हुने छ। त्यसपछि अदालतबाट तामाङ लगायत अन्यलाई पुर्पक्षको लागि थुनामा पठाउने, धरौटी वा साधारण तारिकमा रिहा गर्ने आदेश हुनेछ।
तामाङ लगायत ४२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो। अदालतमा दर्ता भएको अभियोगपत्रमा तामाङ विरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ। त्यस्तै सङ्गठित अपराध गरेको पुष्टी भएमा ५० प्रतिशत थप कैद र जरिवाना हुनेछ। त्यस्तै सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत माग गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। जसमा १२ जना पक्राउ छन्। अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। तामाङ सञ्चालक रहेको सिभिल सहकारीबाट करौडौं रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ। तामाङ, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरूमा सहकारीका कर्मचारी समेत रहेका छन्। प्रहरीले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगित श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।