PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'



नेत्र तामाङ

आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'

काठमाडौँ: यतिबेला महाधिवेशनमय बनेको छ काठमाडौं। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार बिहान ८ बजेबाट मतदान हुँदैछ। उम्मेद्वारहरुलाई ठाउँ-ठाउँ पुग्न भ्याइ नभ्याई छ। महाधिवेशन प्रतिनिधिसम्म पुगेर मत माग्दै आफूलाई जिताउन अनुरोध गर्ने चटारो छ उनीहरुलाई।

सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई झन् फूर्सद् हुने कुरै भएन। देउवा विभिन्न कार्यक्रममा आफूलाई मत माग्दै दिउँसो पौने ४ बजे भृकुटीमण्डपस्थित पर्यटन बोर्ड आइपुगे।

पर्यटन बोर्डमा नेपाल महिला संघले महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा सभापतिका उम्मेद्वार देउवा प्रमुख अतिथिका रुपमा पर्यटन बोर्डको हलमा आइपुगे। देउवासँगै उनकी पत्नी आरजु देउवा पनि आइपुगिन्।

उपसभापतिका उम्मेद्वार विजय गच्छदार, महामन्त्रीका उम्मेद्वार डा प्रकाशशरण महत पनि आइपुगे। त्यसपछि कार्यक्रम सुरु भयो। कार्यक्रम सञ्चालकले सुरुमै आरजु राणा देउवाको नाम लिएर मञ्चमा बोलाइन्। मञ्चमा देउवासँगै थिए महिला संघकी अध्यक्ष एवं महिला तथा बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मी। रेग्मीपछि आरजुको आसन थियो।

आरजुले आफ्नो नाम आउने बित्तिकै देउवातिर हात तेर्स्याइन्। उनको इशारा थियो देउवालाई पहिले बोल्न दिनु। यता देउवाले पनि सञ्चालकतिर हात तेर्स्याए। देउवाको हातको इशारा थियो, सुरुमा आफूलाई बोल्न दिनु। त्यसपछि देउवालाई मन्तव्यका लागि मञ्च दिइयो।

महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ' कांग्रेसको सरकार केन्द्रमा मात्रै होइन, प्रदेशमा र स्थानीयमा बनाउनु छ। मेरो लक्ष्य यही हो। सबैले मत दिनुहोला। सरकार बनाउनुपर्छ अब। त्यसैले मलाई जिताउनुहोला।'

मन्तव्यकै क्रममा देउवाले महिलालाई हक दिनमा नेपाल विश्वकै उत्कृष्ट देश रहेको दाबी गरे। त्यसै गरी कांग्रेस पार्टीमा पनि देउवाले महिलाको लागि प्रशस्त ठाउँ रहेको तर्क गरे। अरु पार्टीमा त्यस्तो नरहेको उनको भनाई थियो।

आरजुलाई बोल्न नदिएको कारण खुलाए, हलमा हाँसोको फोहोरा छुट्यो

आफ्नो भनाई टुंग्याउँदै देउवाले आरजुलाई सुरुमा बोल्न नदिनुको कारण खुलाए। आरजु अहिले देउवा टिमबाटै केन्द्रीय सदस्यमा महिला खुलातर्फ उम्मेद्वार छिन्।

मन्तव्य छोट्याउँदै देउवाले सबैलाई छोटो छोटो बोल्नसमेत सुझाव दिए। उनको भनाई धेरै बोलेर केही नहुनेतर्फ इंगित थियो। थोरै समयमा धेरै कुरा राख्ने बानी बसाल्नुपर्ने देउवाको निर्देशन थियो। आफू पनि छोटो बोल्ने देउवाले समयतिर जोड्दै सबैलाई छोटो बोल्न सुझाए।

'छोटो छोटो बोल्नुहोला। महिलाहरु कसरी छोटो बोल्नुहुन्छ होला,' आरजुतिर हेर्दै देउवाले भने,' आरजु राणाले बोल्ने बेला बोल्याबोल्यै गर्छिन्।'

देउवाको यो भनाई सुनेर हलमा हाँसोको फोहोरा छुट्यो। महाधिवेशन प्रतिनिधिहरुले ताली ठोक्न थाले।

त्यसपछि हलमा शेरबहादुर दाई जिन्दावादको नारा लाग्यो।

दुई मिनेट समय, आरजुले बोलिन् आठ मिनेट

देउवा निस्केपछि महामन्त्रीका उम्मेद्वार डा प्रकाशशरण महतले आफ्नो भनाई राखे। महतले आफूलाई जिताउन आग्रह गर्दै कुनै दोष लाग्ने खालका काम नगर्ने दाबी प्रस्तुत गरे। वक्ताहरुलाई सञ्चालकले दुई मिनेटको समय दिएकी थिइन्।

छोटो बोलेर प्रकाशशरण कुदिहाले।

त्यसपछि पालो आयो आरजुको। आरजुले देउवाले भने झै लामो समय नै आफ्नो धारणा राखिन्। 'दुई मिनेट समय छ। तर नेता पनि भएको र ट्रेनर पनि भएकोले धेरै बोल्न मन लाग्छ,' सुरुमै आरजुले इक्स्क्युज मागिन्। त्यसपछि दुई दशकअघि देउवासँग न्यूयोर्क पुगेको घटना सुनाइन्। त्यतिबेला सिएनएनले नेपालजस्तो सानो देशको श्रीमतीको खोजी गरेकोमा आफू अचम्ममा परेको उनको भनाई थियो।

'तपाईंको श्रीमान् नेपालको प्रधानमन्त्री हुनुहुन्छ। उहाँले इन्क्लुसिभ पोलिसी लिनुभएको रहेछ भन्दै मलाई छलफलका लागि बोलाएको रहेछ,' आरजुले भनिन्, 'त्यो इन्टरभ्यू राजा वीरेन्द्रले पनि हेरिबक्सेछ।'

महिला अधिकारका लागि एमाले, माओवादीले नगरेको काम देउवाले गरेको आरजुको दाबी थियो। संविधान लेखनका क्रममा महिलाका लागि सबभन्दा ठूलो आवाज उठाउने देउवा नै भएको उनले बताइन्।

'महिलाको लागि सबभन्दा ठूलो आवाज उठाउने शेरबहादुर देउवा हुनुहुन्छ,' आरजुले भनिन्, 'प्रजनन स्वास्थ्यको अधिकारको प्रत्याभूत पनि देउवाकै कारण पाएको हो।'

देउवा बुढा भएका छैनन्

आरजुले आफ्नो मन्तव्यका क्रममा देउवा बुढो नभएको बताइन्। 'मान्छेले बुढो भयो बुढो भयो भन्छन्। विचार बुढो हुनुपर्छ। जब मान्छेको ह्दय खुला हुन्छ। उ कहिले पनि बुढो हुँदैन। मेरो श्रीमान् ७० प्लस। तैपनि ओपन माइन्डेड,' आरजुले भनिन्।

उमेरले नेतृत्वमा कुनै फरक नपर्ने उनको भनाई थियो। कस्तो मान्छेलाई हामीले अगाडि सार्ने त नेतृत्वमा। 'एज भनेको केही होइन। एज भनेको जोस जाँगर हो। म दुई महिनामा ६० पुग्दैछु। कति जना होला म भन्दा उमेर बढी भएकाहरु। अहिले जोस जाँगर कम छ? यहाँ हेर्नुस् विजय गच्छदारजी। उहाँ बुढा हुनुभयो? अहिले हामी काम नलाग्ने भइसक्यौ?' आरजुले भनिन्, 'हामी तछाड कि मछाड गरेर कोसँग भिड्ने र लड्ने भनेर उत्रिएका छौँ। जेनेरेसन भनेको सबैलाई समेटेर लानुपर्छ। सबै यो पार्टीमा अटाउन सक्छौं। हाम्रो टिममा भर्खरका प्रदीप पौडेललाई पनि समेटेका छौँ। सम्मिश्रित छ नि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell