PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एट्लेटिको मड्रिडमाथि रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो



पहिलोपोस्ट

एट्लेटिको मड्रिडमाथि रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि सहज जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो।

भिनिसियस जुनिसको पासमा खेलको १६ औं मिनेटमै करिम बेन्जेमाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि दोस्रो गोल मार्को एसेन्सियोले गरे। उनले खेलको ५७ औं मिनेटमा भिनिसियस जुनियरकै पासमा गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा बार्सिलोना र ओसासुना बराबरीमा रोकिए। एल सदर स्टेडियममा सम्पन्न खेलमा दुई पटक अग्रता बनाएर पनि बार्सिलोना घरेलु टोलीसँग अंक बाँड्न पुग्यो।

खेलको १२ औं मिनेटमा निको गोञ्जालेजको पासमा बार्सिलोनाले अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै घरेलु टोलीका डेभिड गार्सयाले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा फेरि बार्सिलोनाले अग्रता बनायो। यसपटक खेलको ४९ औं मिनेटमा एबडे एज्जालजोलीले गोल गरेका थिए। तर, घरेलु टोली फेरि खेलमा फर्कन सफल भयो। इजेक्वेएल एभिल्लाले ८६ औं मिनेटमा गोल फर्काउँदा खेल २-२ को बराबरीमा रोकियो।

योसँगै रियल मड्रिडले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको थियो। रियलले १७ खेलबाट ४२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सेभियाको १६ खेलबाट ३४ अंक छ। त्यस्तै तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक र पछिल्ला दुई खेलमा हार ब्यहोरेको एट्लेटिको मड्रिड २९ अंकसहित चौथो स्थानमा छ। त्यस्तै बार्सिलोना २४ अंक जोडेर ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell