PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस महाधिवेशन: आज मतदान, कस्तो छ व्यवस्थापन?



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन: आज मतदान, कस्तो छ व्यवस्थापन?

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ।

मतदाताको संख्या बढी भएपछि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको महाधिवेशन निर्वाचन समितिले जनाएको छ। महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। राष्ट्रिय सभागृहमा दुई तिर मतदान बुथ स्थापना गरिएको छ।

त्यसैगरी, भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग-अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमवार बिहान ८ देखि ५ बजेसम्म हुनेछ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ। अन्तिम नामावली अनुसार १३४ पदका लागि ४८६ जनाको उम्मेद्वारी परेको छ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ। पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell