PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

मतदान सकिएपछि कांग्रेस प्रतिनिधिलाई रामचन्द्र पौडेलको चिया, भोलि बिहानलाई गरे निम्तो



पहिलोपोस्ट

मतदान सकिएपछि कांग्रेस प्रतिनिधिलाई रामचन्द्र पौडेलको चिया, भोलि बिहानलाई गरे निम्तो
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनकै बिच मैदान छाडेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने भएका छन्।

महाधिवेशनमा मत जाहेर गर्न समेत बहिस्कार गरेका पौडेलले मतदान सकिएपछि महाधिवेशन प्रतिनिधिलाई डाकेर आफ्नो धारणा राख्न लागेका हुन्।

भोलि बिहान ९ बजे उनले प्रतिनिधिहरुलाई लैनचौर ब्यान्केटमा निम्त्याएका हुन्। पार्टी सभापतिको आकांक्षी रहँदा रहँदै संस्थापन इतर समूहबाट एकल प्रतिस्पर्धामा आउन सक्ने स्थिति नभएपछि उनले निर्वाचनमा समेत सहभागिता नजनाउने निर्णय गरेका थिए। उनले आफू प्रतिस्पर्धाबाट अलग रहे पनि प्रतिनिधिहरुलाई आफ्नो विवेक प्रयोग गर्न भनेका थिए। उनले लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन समेत आग्रह गरेका थिए।

पौडेलले भोलि चियापानका लागि निम्तो दिएको उनका सहयोगी खिला कार्कीले जानकारी दिएका छन्। 

पौडेलले निर्वाचन प्रकृयाबाट आफूलाई अलग राखेपछि सभापति पदमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबिच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन आधामात्र पूरा भएको कांग्रेस महाधिवेशनको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन्। मध्यरातसम्म निर्वाचन जारी हुने बताइएको छ।

संस्थापन इतर समूहले एकजनामात्र सभापतिमा उम्मेदवार तय गर्ने घोषणा गरेका थिए। धेरै अघिदेखिको उक्त घोषणा व्यवहारमा उतार्न नसकेपछि संस्थापन इतरबाट दुई उम्मेदवार प्रतिस्पर्धामा उत्रिए - कोइराला र सिंह। त्यसैले पौडेलले आफूलाई चुनावी प्रकृयाबाट अलग राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell