काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज बिहानै देखि निर्वाचन जारी छ। मतपत्र अपुग भएपछि बेलुकी रोकिएको मतदान केहीसमय अघि देखि फेरि सुरु भएको छ।
बिहान मतपत्र नआउँदा कारण साढे तीन घण्टा ढिला गरी सुरु भएको मतदान बेलुकी पनि मतपत्र नहुँदा रोकिएको थियो। बेलुकी भने करिब ३ घण्टा मतदान प्रक्रिया रोकिएको थियो।
थप मतपत्र आइसकेपछि मतपत्र रुजु गरेर हस्ताक्षर गरी निर्वाचनको प्रक्रिया पुन: सुरु भएको हो।
मतदानकै बिचमा बेलुकी ५:४५ पछि मतपत्र सकिएपछि निर्वाचन रोकिएको थियो। त्यति बेलासम्म २ हजार ८०९ प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
निर्वाचनमा १३२ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनमा प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ। अझै करिब दुई हजार मतदाताले मतदान गर्न बांकी रहेको छ।
आज बिहान ७ बजेदेखि नै प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसेका थिए। तर ३-४ घण्टा लाइनमा राखेर पनि मतदानमा ढिलाइ भएको भन्दै बिहानै प्रतिनिधिहरुले सभागृहमा आक्रोश पोखेका थिए।