काठमाडौं : नयाँ कार्यसमिति चयनका लागि भएको नेपाली कांग्रेसको मतदान मध्ये सभापति पदको मत गणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा केही बेर अघि तिनवटै बुथका ड्रम जम्मा भएपछि मत गणनाको प्रकृया अगाडि बढेको थियो।
सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रारम्भिक लिड लिइरहेका छन्। २ सय ५० मत गनिसक्दा देउवाले १३२, शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत ल्याएका छन्।
कूल प्रतिनिधि ४ हजार ७ सय ४३ रहेकोमा ४ हजार ६ सय ७९ मत खसेको छ। सभापति पद बाहेकको मत ट्याङ्कीलाई सिलबन्दी गरेर पार्टी कार्यालय सानेपा लगिएको छ भने सभापति पदमा मतदान भएका ट्याङ्कीमात्र यहाँ छ।
पटक पटक मतपत्र सकिँदा निर्वाचन रोकिएको थियो। जसले गर्दा तोकिएकोभन्दा धेरै समय मतदानले नै लियो।
कांग्रेस सभापति पदमा पाँच जना प्रतिस्पर्धामा छन्।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ।
कूल १३४ पदका लागि कांग्रेसमा ४८६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।